ट्रम्पलाई लागेको महाअभियोगमाथि सिनेटमा बहस

‘सिनेटर निदाए, गेम खेले र कागजको जहाज बनाए’

अमेरिकी संसदको माथिल्लो सदन सिनेटमा राष्ट्रपति डोनाल्ड ट्रम्पमाथिको महाअभियोगमा लगातार बहस भइरहेको छ । सिनेटमा महाअभियोगको सुनुवाई जारी रहेका बेला सिनेटरहरु निदाएको तथा गेम खेलेको आरोप छ ।

लामो समय लगातार चलेको बहसको क्रममा सिनेटरहरुले निदाउने तथा गेम खेल्नुका साथै अरु नियमहरु पनि तोडेको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन् ।

रिपब्लिकन सिनेटर जिम रिस्च र जिम इनहोफेसहितका सिनेटरहरु बहस जारी रहेकै बेला झकाएको बताइएको छ । यस्तै सिनेटरले क्रसवर्ड पजल, फिड्गेट स्पिनरसहितका गेम खेलेको उल्लेख छ । यसैगरी सिनेटबाट कम्तिमा एउटा कागजको जहाज भेटिएको छ । सो जहाज सिनेटरले बताएका हुन्।

अमेरिकाको इतिहासमा महाअभियोग लाग्ने ट्रम्प तेस्रो राष्ट्रपति हुन् । उनीमाथि शक्तिको दुरुपयोग र संसदको कार्यमा अवरोध गरेको आरोप छ । ट्रम्पले आफूमाथि लागेको आरोप अस्वीकार गर्दै आएका छन् ।

हाल सिनेटमा ट्रम्पमाथि लागेको शक्तिको दुरुपयोग अभियोगमाथि बहस भइरहेको छ । ट्रम्पले गरेको शक्तिको दुरुपयोगका कारण अमेरिकी प्रजातन्त्रमा जोखिम आएको आरोप छ ।

बहसको क्रममा सिनेटरहरुले जुरीको भूमिका निर्वाह गरिरहेका छन्, जसले लागेको आरोपमाथि फैसला गर्ने छन् । तर उनीहरु बहस जारी रहेकै बेला निदाएका हुन् । यस्तै उनीहरुको ध्यान अन्तै गएको हो । सिनेटरहरुले गम्भीर मुद्दामा सुनुवाई भइरहेका बेला स्कूले विद्यार्थी सरह व्यवहार गरेको आरोप अमेरिकी सञ्चारमाध्यमले लगाएका छन् ।

विपक्षी डेमोक्र्याटको बहुमत रहेको तल्लो सदन हाउस अफ रिप्रिजेनटेटिभले गएको डिसेम्बरमा ट्रम्ममाथि औपचारिक रुपमा महाअभियोग लगाएको थियो ।

ट्रम्पले आफ्नो व्यक्तिगत राजनीतिक स्वार्थका लागि अमेरिकाले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोकेको आरोप छ । ट्रम्पले युक्रेनका राष्ट्रपतिलाई अमेरिकी पूर्व उपराष्ट्रपति जो बाइडेन तथा उनका छोरा हन्टर बाइडेनमाथि भ्रष्टाचार अभियोगमा छानबिन सुरु गरेको औपचारिक घोषणा गर्न दबाब दिएको आरोप छ । ट्रम्पले भने आफूले कुनै पनि लगत काम नगरेको दाबी गर्दै आएका छन् ।

सिनेटमा हुने बहस आउँदो हप्ता समाप्त हुने अपेक्षा छ । सिनेटमा राष्ट्रपति ट्रम्पको पार्टी रिपब्लिकनको बहुमत छ । १०० सिटको सिनेटमा ५३ रिपब्लिकन सिनेटर छन् ।

महाभियोग माथिल्लो सदनबाट पास हुनका लागि दुई तिहाइ मत चाहिन्छ । महाअभियोग पास भएमा ट्रम्प बर्खास्त हुने छन् । तर त्यो सम्भावना देखिँदैन ।

माघ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्