‘ट्रम्प र सी सत्तामा नभएको भए मानव जातिको हित हुने थियो’

अमेरिकाका अर्बपति समाजसेवी जर्ज सोरोसले अमेरिका तथा चीनका राष्ट्रपतिको गम्भीर आलोचना गरेका छन् । अमेरिकाको राष्ट्रपतिमा डोनाल्ड ट्रम्प तथा चीनको सत्ताको केन्द्रमा सी जिनपिङ नरहेको भए विश्व मानवका लागि अति राम्रो ठाउँ हुने उनले बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्प आत्मरतिमा रमाउने, सत्य ढाकछोप गरी भ्रमलाई सत्यको रुपमा प्रस्तुत गर्ने तथा अरुप्रति समभाव नरहेको व्यक्ति रहेको सोरोसले बताएका छन् । ट्रम्पले अमेरिकी संविधानका सबै सीमाहरु तोडेको उनको भनाई छ ।
यस्तै चीनका राष्ट्रपति सीले आफ्ना नागरिकको जीवनमा नियन्त्रण कायम गर्नका लागि प्रविधिको प्रयोग गरेको आरोप उनले लगाएका छन् ।
वर्ल्ड इकोनोमिक फोरमको डाभोसमा भएको सम्मेलनमा सम्बोधन गर्दै सोरोसले भने, ‘ शक्तिमा यी दुई नेता हुँदैन थिए त विश्व राम्रो हुने थियो मानवजातीका लागि ।’ बहुलवाद र जलवायु परिवर्तन विश्वका लागि सबैभन्दा जोखिमका कुरा रहेको उनले बताए ।
खुला समाजका लागि हालको अमेरिकी र चिनियाँ सत्ता खतरा रहेको सोरोसको भनाई छ । उनी डेमोक्र्याटिक पार्टीका प्रमुख दाता हुन् । उनले सन् २०१६ को चुनावमा हिलारी क्लिन्टनको चुनावी अभियानका लागि दशौँ लाख अमेरिकी डलर सहयोग गरेका थिए ।