पारस एकदिवशीय टोलीमा पनि, विश्वकप लिग दुईका लागि नेपाली टोली घोषणा

काठमाडौँ :  विश्वकप  क्रिकेट लिग २ को खेलका लागि नेपाली टोलीको घोषणा गरिएको छ। नेपाल क्रिकेट संघ-क्यानले शुक्रबार घोषणा गरेको १४ सदस्यीय राष्ट्रिय टोलीमा पूर्व राष्ट्रिय कप्तान पारस खड्का पनि समावेश छन्।

ज्ञानेन्द्र मल्लको कप्तानी रहेको टोलीमा उपकप्तानको जिम्मेवारी दीपेन्द्रसिंह एेरीलाई दिइएको छ।

टोलीमा सन्दीप लामिछाने, करन केसी, आरिफ शेख, विनोद भण्डारी, अविनाश कर्ण, कुसल मल्ल, कमलसिंह एेरी, शरद भेषावकर, सुसन भारी, रोहित पौडेल र ललित नारायण राजबंशी रहेका छन्।

टोलीको मुख्य प्रशिक्षकमा उमेश पटवाल र प्रशिक्षकमा जगत टमटा छन्। सहायक प्रशिक्षकको जिम्मेवारी बसन्त शाहीलाई दिइएको छ।

नेपालमा हुने त्रिकोणात्मक एकदिवशीय शृंखलामा नेपाल, ओमान र अमेरिका रहेका छन्। हरेक टोलीले प्रत्येकसँग दुई दुई खेल खेल्नेछन्। तीनवटै टोली एकदिवशीय अन्तर्राष्ट्रिय मान्यताप्राप्त भएकाले सबै खेलले एकदिवशीय अन्तर्राष्ट्रियको मान्यता पाउनेछन्।

केही समयअघि राष्ट्रिय टोलीको कप्तानबाट राजिनामा दिएका पारसले त्यतिबेला अन्तर्राष्ट्रिय क्रिकेटलाई निरन्तरता दिनेबारे अन्योलता रहेको बताएका थिए। तर १३ औँ दक्षिण एसियाली खेलकुदको क्रिकेटमा उनी नेपाली टोलीमा समावेश थिए। त्यस प्रतियोगिता टीट्वेन्टी स्वरुपको थियो।

त्रिकोणात्मक शृंखलाको पहिलो खेल फेब्रुअरी ५ तारिखमा नेपाल र ओमानबीच हुने छ। प्रतियोगिता फेब्रुअरी १२ तारिखमा सकिने छ।

माघ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्