तेस्रो चरणबाटै बाहिरिइन् सेरेना, चीनकी वाङसँग स्तब्ध

सातपटककी विजेता सेरेना विलियम्स अस्ट्रेलियन ओपन टेनिसको तेस्रो चरणबाटै बाहिरिएकी छन् । चीनकी वाङ्ग किआङसँग पराजित भएर सेरेना बाहिरिएकी हुन् ।

शुक्रबार बिहान भएको खेलमा वाङले सेरेनालाई ६–४, ६–७ (२–७) र ७–५ को सेटमा पराजित गरेकी हुन् । हारसँगै ३८ वर्षकी सेरेनाको एकल तर्फ २४ औँ ग्राण्डसलाम उपाधि जित्ने सपना फेरि एकपटक टुट्यो ।

सन् २००६ यता सेरेना अस्ट्रेलियन ओपन टेनिसको सुरुवाति चरणबाटै बाहिरिएको यो पहिलो पटक हो । सन् २००६ मा पनि उनी तेस्रो चरणबाटै बाहिरिएकी थिइन् । सेरेनाले सन् २०१७ यता ग्राण्डसलामको उपाधि जितेकी छैनन् ।

उनले सन् २०१७ मा ८ महिनाको गर्भवती हुँदा प्रतिस्पर्धा गरेर अस्ट्रेलियन ओपन टेनिसको उपाधि जितेकी थिइन् । गएको सेप्टेम्बरमा भएको युएस ओपन टेनिसमा सेरेनाले २८ वर्षकी वाङलाई ६–१ र ६–० ले पराजित गरेकी थिइन् ।

माघ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्