अग्नि विवादको भुंग्रोमा बालुवाटार र शितल निवास

प्याकुरेलको राजीनामाले सभामुखका उम्मेदवार सापकोटालाई के असर गर्छ?

तस्बिर: सुशील प्याकुरेलकाे फेसबुकबाट।

काठमाडौँ– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अग्नि सापकोटालाई सभामुख पदको उम्मेदवार बनाएसँगै त्यसको विरोधको भुंग्रोमा बालुवाटार र शितल निवास दुवै परेका छन्।

नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल लगायत नेताहरुको चर्को दबाबमा ‘हत्या आरोपित’ सापकोटालाई सभामुख पदको उम्मेदवार बनाएसँगै ओलीको घुमाउरो विरोध गर्दै उनकै बफादार राष्ट्रपतिका प्रमुख सल्लाहाकार सुशील प्याकुरेलले पदबाट राजीनामा दिएका छन्।

मानवअधिकारवादी समूहको नेतृत्व गर्दै आएका प्याकुरेलले राजीनामा दिएपछि अग्नि सापकाेटा विवादको भुंग्रोमा बालुवाटार र शितल निवास दुवै परेका हुन्।

प्याकुरेलले राजीनामा पत्रमा भनेका छन्,‘कुनै पनि औपचारिक जिम्मेवारीमा आसिन हुन आवश्यक पर्ने सबैभन्दा ठूलो योग्यता उच्च नैतिक चरित्र तथा देश र नागरिकप्रतिको उत्तरदायित्व हो।’

प्याकुरेलले यो अभिव्यक्ति घुमाउरो रुपमा सभामुख पदका लागि अघि सारिएका सापकोटालाई लक्षित गरेको भन्ने बुझ्न कठिन छैन।

विज्ञप्तीमा थप भनिएको छ,‘हामीले ठूलो संघर्षद्वारा स्थापित गरेको यस राजनीतिक प्रणालीभित्र मानवअधिकार र सामाजिक न्यायको निःशर्त र पूर्ण सम्मान गर्ने राष्ट्रका रुपमा स्थापित गर्दै अन्तर्राष्ट्रिय जगतमा समेत नेपालले आफ्नो छवि अझ उज्यालो बनाउनु पर्दछ। यसका लागि सबैभन्दा बढी योगदान सरकारको नेतृत्व गरिरहेको नेकपाले गर्न सक्दछ।’

राजीनामापछि ‘तपाईले अग्नि सापकोटाको विरोध गर्दै राजीनामा दिनु भएको हो?’ भन्ने देशसञ्चारको प्रश्नमा प्याकुरेलले त्यो आफ्नो विज्ञप्तीबाट स्पष्ट हुने र थप एक दुई दिनमै थाहा हुने जवाफ दिएका छन्।

उनले भने,‘कसको विरोध गरेको हो या होइन त्यो मैले जारी गरेको विज्ञप्ती पढेपछि थाहा पाउनुहुन्छ। थप कुरा एक दुई दिनमै थाहा पाउनु हुनेछ।’ उनले सापकाेटाका विरुद्ध आन्दाेलनमा जाने संकेत गरेका हुन्।

उनकाे राजीनामालाई लिएर विभिन्नखाले टिप्पणीसमेत आउन थालेका बेला पत्रकार एवं कनकमणि दीक्षितले सरकार, नेकपा र नेपाली कांग्रेस मिलेर राज्य र जनतालाई भिरालाे बाटाे डाेर्‍याइरहेकाे र त्यसलाई राेक्न प्याकुरेलले राजीनामा दिएकाे बताएका छन्।

उनले शुक्रबार ट्वीटरम लेखेका छन्, ‘सरकार, नेकपा र नेका मिलेर राज्य र जनतालाई भिरालो बाटो डोर्‍याइरहेको कारण सुशील प्याकुरेलजीले राज्य-अंगबाट बाहिरिएर लोकतन्त्र, मानव अधिकार र संक्रमणकालीन न्यायको लडाईँमा होमिने अवस्था आयो। राष्ट्रपतिको सल्लाहकारबाट उहाँको राजीनामा आजको जोखिमको संकेत हो।’

पूर्ववर्ती एमालेसँग आवद्ध मानवअधिकारवादी समूहले सत्तामा गएपछि मानवअधिकार उल्लंघनका मामिलामा दोहोरो मान्यता अपनाएको आरोपका बीच प्याकुरेलको राजीनामा आएको हो।

तत्कालिन माओवादी नेता बालकृष्ण ढुंगेललाई २०६६ सालमा उज्जनकुमार श्रेष्ठकाे हत्या स‌ंलग्न भएकाे ठहर गदै सर्वोच्च अदालतले सर्वस्वसहित जन्मकैद फैसला गरेकाे थियो।

सुरुमा ढुंगेलको गिरफ्तारीका लागि प्याकुरेल र उनको समूहले सडक तताएको थियो। तर प्याकुरेल राष्ट्रपति विद्यादेवी भण्डारीका मानवअधिकार सल्लाहाकार बनेपछि केही महिना मात्रै जेलमा रहेका ढुंगेललाई ओली मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले दुई वर्षअघि गणतन्त्र दिवसका अवसरमा माफी दिएकी थिइन्।

भण्डारी दोस्रो कार्यकालका लागि राष्ट्रपति भएपछि प्याकुरेल उनको प्रमुख सल्लाहाकार बनेका थिए।

उनको राजीनामासँगै सभामुख पदका निर्विरोध उम्मेदवार सापकोटाप्रतिको विरोध ‘संस्थागत ढंग’ले नै अघि बढ्ने देखिन्छ। नेकपाले सापकोटालाई सभामुखको उम्मेद्वार बनाएकै दिन सामेबार इन्सेकले निर्णय सच्याउन माग गरेको थियो।

सापकोटाविरुद्ध पीडित पक्षसमेत सडकमा उत्रिसकेका बेला शुक्रबार उनीविरुद्ध वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा उनलाई गिरफ्तार गरी अनुसन्धान गर्न मागसहित अर्को रिट दायर गरेका छन्।

आइतबार दिउँसो ३ बजे प्रतिनिधिसभाले सापकोटालाई निर्विरोध सभामुख भएको घोषणा गर्ने कार्यसूची तोकेको अवस्थामा त्रिपाठीले दायर गरेको रिटको पेशी पनि आइतबारकै लागि तोकिएको छ। यदि संसद बैठक बस्नुअघि नै सर्वोच्चले सापकोटाविरुद्ध आदेश दिएको खण्डमा सभामुख चयन प्रक्रियासमेत अवरुद्ध हुनेछ।

२०६२ वैशाख १६ गते काभ्रेको छत्रबाँझस्थित कृष्ण माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अर्जुन लामालाई तत्कालीन माओवादी कार्याकर्ताले अपहरण गरेर हत्या गरेको आरोप छ।

उक्त घटनामा संलग्न रहेको भन्दै नेता सापकोटा लगायत ६ जना विरुद्ध उनकी श्रीमति पूर्णिमाया सर्वोच्चमा हालेको रिट विचारधीन छ। तर पूर्व माओवादीबाट सभामुख बनेका कृष्णबहादुर महरालाई बलात्कार आरोप लागेपछि गत असोज १४ गते राजीनामा दिएका थिए।

रिक्त रहेको सभामुख पदको उम्मेदवार सापकोटलाई बनाइएको हो।उपसभामुख शिवमायाले सभामुखमा आफ्नो दाबेदारी प्रस्तुत गरिरहेका बेला नेकपाका अध्यक्ष दाहाल लगायतको नेताहरुको दबाबमा ओलीले सभामुख पदको उम्मेदवारमा सापकोटाको नाम अनुमोदन गरेका थिए।

माघ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू