कांग्रेसमा तत्कालका लागि विवाद सकियो

फाइल फोटो।

काठमाडौँ– केही समयदेखि उत्कर्षमा पुगेको प्रमुख प्रतिपक्षी दल कांग्रेसभित्रकाे विवाद समाधान भएको छ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल लगायतका शीर्ष नेताहरुको लगातारको बैठकपछि पार्टीभित्रको विवाद तत्कालका लागि समाधान हुने भएको हो।

शुक्रबार सभापति देउवा निवास बुढानीलकण्डमा बसेको शीर्ष नेताहरुको बैठकले पार्टीको १४औं महाधिवेशन २०७७ फागुन ७ देखि १० सम्मै गरे पनि तल्ला तहका अधिवेशनको कार्यतालिका हेरफेर गर्ने, निलम्बन गरिएको विधानका धारा फुकुवा गर्ने सहमति जुटेको हो।

त्यस्तै क्रियाशील सदस्यता छानबिन गर्न समिति बनाउने, नेविसंघमा महाधिवेशन आयोजक समिति गठन गर्ने र ३२ वर्षे उमेर हद लागू गर्ने सहमति गरेको थियो।

बैठकपछि सहमहामन्त्री प्रकाशशरण महतले नेताहरु आपसी सहमतिमा अघि बढ्न र यसअघि बहुमतका आधारमा केन्द्रीय कार्यसमितिले गरेको निर्णय हेरफेर गर्न तयार भएको जानकारी दिए।

उनले देश सञ्चारसँग भने, ‘पार्टीभित्र विवाद समाधान गरेर अघि बढ्न नेताहरु सहमत हुनुभएको छ। केन्द्रीय महाधिवेशनको मिति नसरेपछि स्थानीय तहका पार्टीका अधिवेशनको कार्यतालिका हेरफेर हुन्छ।’

उनका अनुसार अब माघ १३ गते दिउँसो १ बजे बस्ने बैठकमा दुवै पक्ष सहभागी हुने र त्यसले भएका सहमतिलाई अनुमोदन गर्नेछ।

गत पुस ११ गते बसेको केन्द्रीय कार्य समितिमा वरिष्ठ नेता पौडेल पक्ष अनुपस्थित भए पनि देउवाले बहुमतका आधारमा महाधिवेशनको मिति तोक्ने, विभागको संख्या २८ बाट बढाएर ४७ बनाउने, कांग्रेसको सबै तहका पदाधिकारी तथा सदस्यको पदावधि एक वर्ष थप गर्ने, महाधिवेशन २०७७ साल फागुन ७ देखि १० गतेसम्म काठमाडौँमा गर्ने निर्णय गरेको थियो।

त्यस दिन क्रियाशिल सदस्य हुन एक वर्ष साधरण सदस्य भएको हुनुपर्ने र महाधिवेशन प्रतिनिधिको उम्मेद्वार हुन एक वर्ष क्रियाशिल सदस्य भएको हुनुपर्ने प्रावधानलाई निलम्बन गर्ने, तरुण दलको पदावधि ६ महिना थप गर्ने निर्णय गरेको थियो।

सहमतिमै महाधिवेशन मिति र अरु निर्णय हुनुपर्ने माग राख्दै आएको पौडेल पक्ष बहुमतका आधारमा निर्णय भएपछि थप बिच्किएको थियो। त्यसैको झोकमा पौडेल पक्षले पुस २१ गतेदेखि तीन दिनसम्म बहुमत जिल्ला सभापतिहरुको भेला पार्टी कार्यालय सानेपामै गरेर संस्थापन पक्षलाई दबाब दिएको थियो।

संस्थापन इतरले बहुमत जिल्ला सभापतिकाे छुट्टै भेला गरेपछि देउवा सहमितका साथ अघि बढ्न तयार भएका हुन्।

माघ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्