एनआईसी एशिया बैंकद्वारा एपीएफका खेलाडीलाई नगद पुरस्कार

काठमाडौँ— एनआईसी एशिया बैंक लिमिटेडले सशस्त्र प्रहरीको १९ औं स्थापना दिवसको उपलक्ष्यमा नेपाल एपीएफ क्लबका १३ औँ दक्षिण एशियाली खेलकुद (साग) प्रतियोगितामा पदक विजेता खेलाडीहरुलाई नगद पुरस्कार स्वरुप ९ लाख ९५ हजार बराबरको रकम प्रदान गरेको छ।

सहयोग स्वरुपको चेक एनआईसी एशिया बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले एपीएफ क्लबका अध्यक्ष सशस्त्र प्रहरी उपरीक्षक तुलसी राम दाहाललाई हस्तान्तरण गरे।

बैंकले मुलुकभर ३ सय १३ शाखा कार्यालयहरु, ४ सय ३० एटीएम, १ सय ४ वटा एक्सटेन्सन काउण्टर एवं ४७ वटा शाखारहित बैंकिङ्गमार्फत बैंकिङ्ग सेवा प्रदान गर्दै आएको छ। आफ्ना २१ लाखभन्दा बढी ग्राहक रहेको बैंकको भनाइ छ।

बैंकले मुगु, कालिकोट, बझाङ, रुकुम, जुम्ला, सल्यान लगायतका दुर्गम जिल्लाहरु तथा कुनै पनि बैंक तथा वित्तीय संस्थाहरु नपुगेका ३४ भन्दा बढी स्थानीय निकायहरुमा शाखा विस्तार गरेको छ।

‘बैंक पनि साथी पनि, राम्रो पनि हाम्रो पनि’ मूल नारासहित सहज, सबल, गतिशील, विश्वसनीय र उत्तरदायी बैंकिङको अभ्यास गर्दै आएको बैंकले जनाएको छ।

प्रत्यक्ष र अप्रत्यक्ष गरी गत आर्थिक वर्षमा करिब ३ अर्ब १५ करोड रुपैयाँभन्दा बढी राजश्व नेपाल सरकारलाई बुझाएको बैंकको दावी छ।

माघ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्