नेपालगञ्जमा ‘वडा कप’ क्रिकेट सुरु

नेपालगञ्ज – युनाइटेड ग्रुप दोस्रो अन्तर वडा स्तरीय क्रिकेट प्रतियोगिता सुरु भएको छ। पूर्वमन्त्री एवं प्रतिनिधि सभा सदस्य मोहम्मद इस्तियाक राई र प्रदेश सांसद सुरेन्द्र हमालले क्रिकेट खेलेर प्रतियोगिताको उद्घाटन गरे।

शुक्रबार आयोजक ग्रुप अफ सिस्टिन र नेपालगञ्ज उपमहानगरपालिकाका जनप्रतिनिधिबीचको मैत्रीपूर्ण खेलबाट प्रतियोगिताको शुभारम्भ गरिएको छ। मैत्रीपूर्ण खेलमा आयोजक ग्रुप अफ सिस्टिनले जनप्रतिनिधिको टिमलाई ५ विकेटले पराजित गरेको छ।

नेपालगञ्जको मंगल प्रसाद उच्च माविको खेल मैदानमा भएको खेलमा पहिला ब्याटिङ गरेको जनप्रतिनिधिको टिमले ७९ रन बनाएको थियो। त्यसमा सुरेन्द्र गुप्ताले ११ रन र दिपक बर्माले १० रन बनाए। आयोजक टोलीका बलर सन्तोष शाहले २ ओभरमा १६ रन दिएर २ विकेट लिए। तरुण बज्राचार्यले २ ओभरमा ८ रन खर्चेर १ विकेट र किरण श्रेष्ठले २ ओभर वलिङ गर्दै १ विकेट लिन सफल भए।

जवाफमा आयोजक ग्रुप अफ सिस्टिनको तर्फबाट तरुण बज्राचार्यले सर्वाधिक २७ रन र राम श्रेष्ठले १४ रनको योगदान गरेपछि टोलीले लक्ष्य भेटेकाे गरेको थियो। तरुणले २८ बलको सामना गर्दा ४ चौका र रामले ९ बलमा ३ चौका प्रहार गरेका थिए। जनप्रतिनिधिको तर्फबाट समीर प्रताप मल्लले २ ओभरमा १२ रन दिएर ३ विकेट लिए।

युनाइटेड ग्रुप अफ कम्पनीले मुख्य प्रायोजन गरेको प्रतियोगितामा नेपालगञ्जका २३ वडाले प्रतिस्पर्धा गरिरहेका छन्। प्रतियोगिताको विजेताले २ लाख र उपविजेता १ लाख पाउने छन्।

शुक्रबार १८ नम्बर वडा र १२ नम्बर वडाबीच प्रतिस्पर्धा हुने कार्यक्रम तय भएपनि प्राविधिक कारणले खेल हुन नसकेको प्रतियोगिता संयोजक तरुण बज्राचार्यले जानकारी दिए। प्रतियोगितामा अन्तर्गत शनिबारको पहिलो खेल ७ नम्बर वडा र ११ नम्बर वडा बिच हुनेछ। अर्को खेलमा ५ नम्बर र १० नम्बर वडाले प्रतिस्पर्धा गर्नेछन्। शुक्रबार स्थगित गरिएको खेल रिर्जभ डेमा गर्ने तयारी भएको आयोजकले बताएको छ।

प्रतियोगिताको उद्घाटनमा शुक्रबार मन्त्री राईसँगै, प्रदेश सांसद सुरेन्द्र हमाल, नेपाली कांग्रेस बाँके सभापति किरण कोइराला, बाँके जिल्ला क्रिकेट संघका अध्यक्ष दुर्गा थापा, प्रतियोगिताको मुख्य प्रायोजक युनाटेड ग्रुपका हिमांशु यादव, युनाइटेड ग्रुपका विजनेस हेड विजय चापागाई, जिल्ला प्रहरी कार्याल बाँकेका डीएसपी शिव सिंह, वडा प्रहरी कार्यालय नेपालगञ्जका प्रमुख हरि बस्नेत, प्रतियोगिता आयोजक ग्रुप अफ सिस्टिनका अध्यक्ष विष्णु अर्यालले लगायतको उपस्थित रहेको थियो। उद्घाटन कार्यक्रममा वडाध्यक्षहरु सहभागी भएका थिएनन्।

प्रतियोगितामा एजुकेशन पार्टनर एक्सपर्ट एजुकेशन एण्ड भिसा सर्भिस, वैकिङ पाटनर्रमा साईन रेसुङ्गा डेभलपमेन्ट, प्राविधिक सहयोग बाँके जिल्ला क्रिकेट संघले गरेको छ।

माघ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्