‘तेजस’मा वायु सेनाकाे पाइलट बन्दै कंगना

एजेन्सी– कंगना रनौटको चलचित्र ‘पंगा’ शुक्रबारबाट रिलिज भयो। दर्शक तथा चलचित्र विश्लेषकहरुले चलचित्रको कथावस्तु र कलाकारहरुको अभिनय उत्कृष्ट भएको प्रतिक्रिया दिएका छन्।

‘पंगा’मा कबड्डी खेलाडीको रुपमा देखिएकी कंगना अर्को एक चलचित्रमा वायु सेनाकाे पाइलटको भूमिकामा देखिने भएकी छन्।

सर्वेश मेवाडाको निर्देशनमा बन्ने चलचित्र ‘तेजस’मा कंगना वायुसेनाको पाइलटको भूमिकामा देखिने भएकी हुन्। कंगनाले दुईहप्ता अघि मात्रै ‘तेजस’का लागि सम्झौता गरेको बताइएको छ। चलचित्रको सुटिङ आगामी जुलाईबाट हुनेछ।

कंगनाले भनिन्, ‘म सधैँ चलचित्रमा एक सैनिकको भूमिकामा देखिन चाहन्थेँ। मलाई सानैदेखि फौजीप्रति आकर्षण थियो। मैले कहिल्यै पनि सैनिकहरुप्रतिको आफ्नो भावना लुकाएकी छैन। उनीहरुको बहादुरीप्रति मलाई जहिले पनि गर्व महशुस हुन्छ। उनीहरु हामीलाई सुरक्षित राख्छन्। यसकारण पनि यो चलचित्र गर्न पाउँदा मलाई एकदमै खुसी लागेको छ।’

चलचित्रको तयारीको सम्बन्धमा उनले भनिन्, ‘चलचित्रको सुटिङभन्दा अघि मैले कडा प्रशिक्षण गर्नु पर्नेछ। यसका लागि निर्देशकले व्यासायीक प्रशिक्षकको सहयोग लिने निर्णय गरेका छन्। ताकी म साँच्चीकै पाइलटले जस्तो महशुस गर्न सकुँ।’

हाल कंगना जयललिताको बायोपिक ‘थलाइवी’काे सुटिङमा व्यस्त छिन्। यसको सुटिङ सकिए लगत्तै ‘तेजस’को सुटिङ सुरु हुनेछ।

माघ १०, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू