गर्भपतन विरोधी र्‍यालीमा सहभागी भए अमेरिकी राष्ट्रपति ट्रम्प

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प गर्भपतन विरोधी र्‍यालीमा सहभागी भएका छन् । वार्षिक रुपमा हुँदै आएको गर्भपतन विरोधी ठूलो र्‍यालीमा सहभागी हुने ट्रम्प अमेरिकाको इतिहासमा पहिलो राष्ट्रपति हुन् ।

राजधानी वासिङटन नजिक भएको ‘मार्च फर लाइफ’ र्‍यालीमा सहभागी भएका हुन् । सिनेटमा महाअभियोगमाथि बहस भइरहेका बेला ट्रम्प भने गर्भपतन विरोधी र्‍यालीमा सहभागी भएका हुन् ।

र्‍यालीलाई सम्बोधन गर्दै ट्रम्पले भने, ‘हामी सबै यहाँ एउटा साधारण कारणले भेला भएका छौँः हरेक जन्मिएका र नजन्मिएका बच्चा अरुको अधिकार रक्षा र भगवानले उनीहरुलाई दिएको सम्भावना पूरा गर्नका लागि।’

सन् १९७४ देखि हरेक वर्ष गर्भपतन विरोधी र्‍याली हुँदै आएको छ । अमेरिकी सर्वोच्च अदालतले सन् १९७४ मा गर्भपतनलाई कानूनी मान्यता दिएको थियो । त्यसको भोलिपल्ट विरोध र्‍याली भएको थियो । त्यसयता हरेक वर्ष सो र्‍याली हुँदै आएको छ ।

रहेक वर्ष यो र्‍याली राष्ट्रपति कार्यालयको केही पर हुने गर्छ । यसअघिका रिपब्लिकन राष्ट्रपतिहरु जर्ज डब्लु बुस तथा रोनाल्ड रेगनले परैबाट र्‍यालीलाई सम्बोधन गरेका थिए ।

ट्रम्प भने आफै र्‍यालीमा सहभागी भएर सम्बोधन गरेका हुन् । सन् २०१७ मा माइक पेन्स यो र्‍यालीमा सहभागी भएका थिए । उनी यस्तो गर्ने पहिलो बहालवाला उपराष्ट्रपति हुन् ।

यो वर्ष हुने राष्ट्रपति चुनावमा गर्भपतन विरोधीहरुको मत आफ्नो पक्षमा पार्नका लागि ट्रम्प सहभागी भएका हुन् । शुक्रबार वासिङ्गटनमा भएको मार्चमा ‘अझै चार वर्ष’ र ‘हामी तिमीलाई माया गर्छौँ’ भन्ने नारा लगाइएको थियो । तर मार्चमा ट्रम्पको सहभागितालाई लिएर विरोध भइरहेको छ।

माघ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्