इरानले गरेको आक्रमणमा ३४ अमेरिकी सैनिकको मष्तिस्कमा आघात

इरानले इराकमा रहेका अमेरिकी सैनिकको बेसक्याम्पमा गरेको मिसाइल आक्रमणका कारण ३४ अमेरिकी सैनिकको मष्तिस्कमा आघात परेको छ ।

जनवरी ८ मा इरानले गरेको मिसाइल आक्रमणका कारण ३४ सैनिकमा ट्रम्याटिक ब्रेन इन्जुरिज् (टिबिआई) को समस्या देखिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ । १७ सैनिक अझै पनि स्वास्थ्यकर्मीको निगरानीमा रहेको पेन्टागनका प्रवक्ताले बताएका छन् ।

इरानी विशिष्ठ सैन्य दस्ता कुड्स फोर्सका मेजर जनरल कासिम सुलेमानीको अमेरिकाले गरेको हवाई आक्रमणमा इराकको बग्दादमा मृत्यु भएपछि त्यसको जवाफ स्वरुप इरानले अमेरिकी सैनिकको बेसक्याम्पमा आक्रमण गरेको थियो ।

आक्रमणपछिको औपचारिक प्रक्रियाको क्रममा अमेरिकी राष्ट्रपति ट्रम्पले कुनै पनि अमेरिकी सैनिकमाथि चोट नलागेको बताएका थिए । तर पेन्टागनले अहिले आएर सो आक्रमणका कारण ३४ सैनिकको मष्तिस्कमा चोट लागेको बताएको हो ।

गएको हप्ता पेन्टागनले ११ सैनिकमा कनकसन सिम्टम्स देखिएको बताएको थियो । अहिले ३४ जनामा मष्तिस्क चोट देखिएको जानकारी दिएको हो ।

माघ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्