नेपालको जस्तो कम्युनिष्ट शासन प्रणाली दुनियाको कुनै किताबमा फेला पर्दैनः प्रचण्ड

काठमाडौँ – नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नेपालको कम्युनिष्ट शासन प्रणाली दुनियाको कुनै किताबमा फेला नपर्ने खालको भएको बताएका छन् ।

पार्टी कार्यालय धुम्बाराहीमा शनिबार “जनताको जनवादका आधारहरु” विषयक पुस्तक लोकार्पण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष दाहालले नेपालको कम्युनिष्ट क्रान्ति पुरानो पूँजीवादी क्रान्ति र नवजनवादी क्रान्ति भन्दा भिन्न प्रकृतिको भएको बताएका हुन् ।

नेपालमा कम्युनिष्ट पार्टीको नेतृत्व मुख्य रुपमा स्थापित गर्दे पूँजीपतिलाई पनि साथ लिएर सामन्तवादमाथि बिजय हासिल गरेको हुनाले यसलाई समाजवाद उन्मुख जनताको जनवादको रुपमा समाजवादको आधार तयार पार्ने एउटा राजनीतिक प्रक्रियाको रुपमा लिनुपर्ने उनले उल्लेख गरे।

उनले भने, “हामीले नेपालमा जे अनुभव गर्यौँ । जे हासिल गर्यौँ र हामी अब जसरी समाजवादको निर्माणको दिशामा अगाडि बढ्दैछाँै । त्यो दुनियाको कुनै किताबमा भेटिने खालको छैन । हामीले आफैले आफ्नो जीवनमा संघर्ष गरेर बलिदान गरेर, मेहनत गरेर , त्याग गरेर हासिल गरेका छौ र विश्व भरिका अनुभवहरुको अध्ययन गरेर, हामीले नेपालमा जे प्रयोग गरेका छौ यही विषयलाई सबै कमरेडले गम्भीरता पुर्वक विचार गर्नुहोला । ”

पूँजीपतिलाई पनि सहयात्री बनाएर नेपालको क्रान्ति सपन्न भएकाले नवजनवादी वा पुरानो पूँजीवादी दुवै क्रान्ति जस्तो नभई नेपालको क्रान्ति ‘नेपाली जनवादी क्रान्ति’ भएको टिप्पणी उनले गरे ।

अध्यक्ष दाहालले पार्टीको इतिहास तयार पार्ने जनताको जनवादका आधारहरु पुस्तकले ऐतिहासिक एकतापछिको संक्रमणकालिन परिस्थिति र विचारको विकासको प्रक्रिया र श्रृंखलालाई बुझ्न मद्दत पुर्याउने विश्वास व्यक्त गरे ।

उनले भने “ नेपाली राजनीतिको आजको विन्दु के हो ? हामी जान खोजेको हाम्रो मिसन, हाम्रो टार्गेट के हो भन्ने कुरा बुझ्न यसले धेरै मद्द्त गर्छ । पार्टीको इतिहास तयार पार्ने क्रममा यो पुस्तकले पुर्वाधारको काम राम्रै संग गर्छ भन्ने मैले विश्वास लिएको छु ।”

गोपीरमण उपाध्याय र मनहरि तिमिल्सिनाद्धारा सम्पादित “जनताको जनवादका आधारहरु” पुस्तकमाथि युवराज ज्ञवालीले टिप्पणी गरेका थिए ।

पुस्तकमा जनताको जनवादका आधारहरु सम्पादनको आवश्यकता, नेकपाको एकीकृत अवस्था, एमालेका ऐतिहासिक दस्तावेजका अंशहरु, माओवादीका ऐतिहासिक दस्तावेजका अंशहरु र ऐतिहासिक एकताको अवस्था समावेश गरिएको छ ।

माघ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्