बक्सअफिसमा ‘पंगा’को कमजोर सुरुवात

एजेन्सी– शुक्रबारदेखि प्रदर्शनमा आएको कंगना रनौटको चलचित्र ‘पंगा’ले बक्सअफिसमा कमजोर सुरुवात गरेको छ।

‘पंगा’ले पहिलो दिन शुक्रबार २ करोड ७० लाख रुपैयाँको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्। उनले चलचित्रको कथावस्तु राम्रो भएकाे हुँदा ‘वर्ड अफ माउथ’ का कारण आगामी दिनमा व्यापार केही बढ्न सक्ने बताएका छन्।

अश्विनी अय्यर तिवारीको निर्देशनमा बनेको ‘पंगा’मा कंगनाका साथै जस्सी गिल, ऋचा चड्डा, नीना गुप्ता लगायतको अभिनय छ। ‘पंगा’मा कंगना एक कबड्डी खेलाडीको रुपमा देखिएकी छन्। जसमा आमा बनिसकेपछि आफ्नो करियर अघि बढाउन संघर्षरत महिलाको कथा छ।

‘पंगा’को कथावस्तुका साथै कलाकारको अभिनय राम्रो हुँदाहुँदै पनि शुक्रबार बाटै रिलिज भएको वरुण धवन र श्रद्धा कपूर अभिनित चलचित्र ‘स्ट्रिट डान्सर’ र जनवरी १० बाट प्रशर्दनमा आएको अजय देवगनको चलचित्र ‘तान्हाजी’ को चेपुवामा परेको विश्लेषकहरुको भनाई छ।

भारतीय वक्सअफिसमा २०० करोडको व्यापार पूरा गरिसकेको ‘तान्हाजी’को उत्कृष्ट प्रदर्शन अझै जारी छ। तान्हाजीले १५ औँ दिन शुक्रबार ५ करोड ३८ लाखको व्यापार गरेको छ।

यस्तै ‘पंगा’ संगसँगै रिलिज भएको रेमो डेसूजाको निर्देशनमा बनको चलचित्र ‘स्ट्रिट डान्सर’ले पहिलो दिन शुक्रबार १० करोड २६ लाखको व्यापार गरेको छ।

माघ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्