फेसबुकको कार्यालयमा ४० मिनेट लिफ्टमा अड्किँदा…

मलगायत न्युयोर्कमा रहेर पत्रकारिता गरिरहेका ३० जना विदेशी पत्रकारको समूह गत बुधबार फेसबुक कार्यालय म्यानह्याटनमा भेला भएका थियौँ। फेसबुक र इन्स्टाग्रामले ल्याएका नयाँ फिचरबारे जानकारी दिन हामीलाई औपचारिक आमन्त्रण गरिएको थियो।

अपराह्न ५ बजे भेला भएका हामी पत्रकारलाई फेसबुककी न्युज पार्टनर प्रमुख ड्यानिएल नोरिएगाले पालैपालो लग्ने भन्दै लिफ्टमा चढ्न आग्रह गरिन्। उनी अगाडि लागेर मलगायत ११ जना पत्रकार लिफ्टमा चढयौँ र उनले दसौँ तत्लाका लागि ‘प्रेस’ गरिन्।

तर, लिफ्ट बीचमै रोकियो। लिफ्ट रोकिएपछि उनले फेसबुकको बिल्डिङ कार्यालयलाई ‘इर्मन्जेसी प्रेस’ गरेर हामी अड्किएको जानकारी गराइन्। तर, पाँच मिनेटसम्म पनि बिल्डिङ सेक्युरिटी कार्यालयले सहयोगका लागि चासो देखाएन।

फेरि उनले ‘लिफ्टमा अति गर्मी भइरहेको छ, लिफ्टमा एसी चलाइदेऊ, केही शीतल हुन्छ कि’ भनिन् र ‘हामीलाई जे पनि हुन सक्छ, बाहिर निकाल’ भन्दै सेक्युरिटी कार्यालयलाई आग्रह गरिन्।

तर, बिल्डिङ सेक्युरिटी कार्यालयको फोन उठाउने मान्छेले ‘कोहीलाई मेडिकल हेल्प चाहिएको छ?’ भनेर सोध्यो, तर ड्यानिएललाई कतिखेर अग्नि नियन्त्रक आउ‍ँछन्, यकिनसाथ भन्न नसक्ने बतायो।

दुईपटक बिल्डिङ सेक्युरिटीको त्यस्तो जवाफ पाएपछि हामी १२ जना विदेशी पत्रकारले आफ्नो रिस रोक्न सकेनौँ। लिफ्टभित्र तातो आउनुका साथै अक्सिजन कम भएकाले हामीलाई अति गर्मी भइरहेको थियो। हामीमध्ये, दुई/तीनजना ६० वर्षभन्दा माथिका युरोपियन पत्रकार पनि थिए।

मैले ड्यानिएललाई भनेँ, ‘तिम्रो सहकर्मीलाई सहयोगका लागि फोन गर।’

मलाई लागेको थियो, ‘कम्तीमा फेसबुकको बिल्डिङमा काम गर्नेको मोबाइलमा जति पनि वाइफाइ होला।’ उनले सहयोगका लागि म्यासेन्जरवाट कल गरिन्। तर कतिखेर लिफ्ट खोल्न मान्छे आउँछन् भनेर उनकी सहकर्मीले पनि भन्न सकिनन्।

आफूसँगै यस्तो अवस्थामा अरु १२ जना पत्रकारहरु समस्या परेर पनि सहयोग गर्न नसकेर निरीह देखिएकी ड्यानियलले हामीलाई कयौँपटक अनुरोध गरिन्, ‘प्लिज, प्लिज यो समाचार नबनाइदेऊ।’

मलगायत भारत, चीन, टर्कीलगायत युरोपका पत्रकारहरु थियौँ। लिफ्टभित्र यति गर्मी भइरहेको थियो कि हामीले आफूले लगाएका ज्याकेट र कोट फुकाल्यौँ। तर पनि हामीमध्ये केहीलाई सास फेर्न गाह्रो भइरहेको थियो।

हामीमध्येको एक जनाले इमर्जेन्सी नम्वरमा डायल गरेर ‘यस्तो भइरहेको छ, हामीलाई उद्धार गर’ भन्यो। तर, उसले फेसबुकको ठेगाना थाहा नभएको भन्दै फोन राखिदियो।

चार वर्षदेखि फेसबुकमा आबद्ध ड्यानियल ‘अहिलेसम्म यस्तो त कहिले भएको थिएन’ भन्दै थिइन्।

एक जना टर्कीकी पत्रकारले सेक्युरिटीलाई प्रेस गरेर फेरि हेल्प मागिन्। तर फेरि सेक्युरिटीले ‘तिमीहरु को-को समस्या परेको छौँ, सबैको नाम देऊ’ भन्यो। त्यसपछि सबैले एकैस्वरमा ‘हाम्रो नाम हैन। हामीलाई जतिसक्दो चाडो बाहिर निकाल’ भन्यौँ।

उताबाट जवाफ आयो, ‘अग्नि नियन्त्रक आउँदैछ, धैर्य गर।’

हामीमध्येको एक युरोपियन पत्रकारले भन्दै थिए, ‘म पनि यस्तै लिफ्टमा अड्केको थिएँ, मेरो ९ महिनाको गर्भवतीपत्नी सहित। त्यो अति पिडादायक थियो मेरो जीवनको। तर, फेसबुकको बिल्डिङमा ‘यस्तो अत्यावश्यक सुरक्षाको अभाव होला’ भन्ने लागेको थिएन।

एक जना भारतीय मूलका पत्रकारले भन्दै थिए, ‘मलाई सास फेर्न गाहो होला जस्तो छ।’

अर्की पत्रकारले भनिन्, ‘हामीमध्ये कोही वकिल छैन? यो रियलटर कम्पनीको लिफ्टमा भएको फोटो खिच्दै यसलाई ‘सु’ गर्दिऔँ।’

फेसबुक विश्वको सबैभन्दा ठूलो सञ्जाल भएको ‘सोसल मिडिया कम्पनी’ हो तर यसको अवस्था चाहिँ यस्तो रहेछ भन्दै अर्को अफ्रिकी मूलका पत्रकार उफ्रिए। यो कार्यालय फेसबुकले भाडामा लिएको रहेछ।

सबैजनाको भोगाइ सुनिरहँदा मलाई पनि अक्सिजन कम भएको  महसुस भइरहेको थियो। मेरो दिमागमा ‘ममी र परिवार’को तस्बिर झल्झल्ती घुमिरह्‍यो।

‘अहिले मलाई केही भयो भने मेरो ममी र परिवारमा के बित्छ होला, धन्य भगवान हिजो राति ममीको फोन उठाएर कुरा गरेछु। फोन साइलेन्टमा भएको भए ममीसँग अन्तिम कल पनि नहुने रहेछ।’

अझ अमेरिकामा नेपाली दुर्घटना वा केही भएर मरे भने लास नेपाल लग्न पनि ‘गोफन्ड’ बाट चन्दा उठाउनुपर्छ भन्नेसम्म सोच्न पुगेछु।

एक घण्टाअघिमात्र ज्याक्सन हाइट्समा मोमो खाँदा भेट भएको पत्रकार साथीलाई सम्झाउँदै थिएँ, ‘तिमी नेपालमा बिहे गरेर आएर पनि अर्की केटीसाथी लिएर हिँड्न खोज्दैछौ, भाउजू आएपछि मार्लिन्’ भन्दै उसको भविष्यको कुरा गर्दै थिएँ।

सबैजनाको भोगाइ सुनिरहँदा मलाई पनि अक्सिजन कम भएको  महसुस भइरहेको थियो। मेरो दिमागमा ‘ममी र परिवार’को तस्बिर झल्झल्ती घुमिरह्‍यो।

तर, एक घण्टापछि आफ्नो अवस्था सम्झेर सबै कुरा अनिश्चित छ भन्दै आफैँ विक्षिप्त भएँ।

झन्डै ३२ मिनेटपछि अग्नि नियन्त्रक गेटमा आएको बिल्डिङ वालाले बतायो। त्यसको ८ मिनेटपछि लिफ्टको ढोका खुल्यो।

बाहिर फेसबुकका कर्मचारी, अग्नि नियन्त्रकहरु र अरु पत्रकारले हामीलाई पानी र जुस दिँदै ‘कस्तो छ?’ भनेर सोधिरहे। अग्नि नियन्त्रकहरुको संख्या देख्दा लाग्यो-  ठूलो विपत्तिमा परेर पनि सकुशल बाँच्यौँ।

त्यसपछि हामी ‘माथि जाने/नजाने भन्दै एकछिन टोलायौँ’ र अर्को लिफ्टमार्फत ५/५  जना गरेर माथि गयौँ।

माथि रहेका पत्रकार साथीहरुले इन्स्टाग्रामको नयाँ फिचरको डिस्प्ले हेर्नुभन्दा हाम्रो अवस्थाबारे सोधिरहे।

विश्वको उत्कृष्ट कम्पनीमा पर्ने फेसबुकका कर्मचारीले हामीलाई अफिस टुर गराए। कार्यालय सुन्दर भए पनि हामी १२ जना भने एकअर्कासँग कुरा गर्दा ‘त्यही लिफ्ट अड्किएको सम्झेर मुखामुख गरिरह्यौँ।’

कार्यक्रम सकिएर फर्किने बेलासम्म न्युज प्रमुख ड्यानिएलले ‘सरी फर इन्सिडेन्ट’ भनिरहिन्। हामीलाई चाहिँ फेरि झर्ने बेला पनि लिफ्ट केही हुने हो कि भन्ने परिरह्यो।

हेडक्वार्टर सानफ्रान्सिस्कोपछिको ठूलो कार्यालय न्युयोर्ककै फेसबुकमा यस्तो घटना हुनु सुरक्षा व्यवस्थामा फेसबुक कतिसम्म लापरबाह हुँदोरहेछ भन्ने देखाएको छ।

कार्यक्रमपछि एकजना ‘टर्किस’ महिला पत्रकारले फेसबुकको आधिकारिक ट्विटर ह्यान्डलमा मेन्सन गर्दै लिफ्टमा ४० मिनेट अड्किएको बारे लेखिन्। मैले त्यसलाई कमेन्टसहित ‘रिट्विट’ गरेँ।

फेसबुकले भने अहिलेस्म केही प्रतिक्रिया दिएको छैन।

माघ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्