शिक्षक नहुँदा कम्प्युटर दराजमा, किताब मात्र पढेर जाँच दिन्छन् विद्य‌ार्थी

वीरगञ्ज– १३ वर्षीया अञ्जलीकुमारी शाह वीरगञ्ज महानगरपालिका वडा नम्बर ३० लालपर्सा टोलमा रहेकाे नेपाल राष्ट्रिय आधारभूत विद्यालयमा कक्षा ८ मा पढ्छिन्।

विद्यालयमा कम्प्युटर बाहेक सबै विषयको पढाइ राम्ररी हुन्छ। ६ कक्षादेखि नै कम्प्युटर अनिवार्य छ। तर विद्यार्थीले कम्प्युटर भने छुन  पाउँदैनन्।

‘कम्प्युटर विषयको किताब पाएका छौँ तर पढाइ भने कहिलेकाहीँ मात्रै हुन्छ’, अञ्जलीले भनिन,‘कम्पयुटर विषय अरु सरहरुले परीक्षा आउने बेलामा जसोतसो पढाइ दिने गर्छन्।’

कम्प्युटर के हो? कसरी चलाउने हो? भन्ने बारे अहिलेसम्म आफूलाई केही थाहा नभएको उनको गुनासो छ। ‘कम्प्युटर सधैँ पढाइ पनि हुँदैन। केही जानेको पनि छैन’, अञ्जलीले भनिन्, ‘कम्प्युटरको किताब मात्र पाइन्छ, कम्प्युटर छुन पनि पाएका छैनौँ।’

सोही विद्यालयमा कक्षा ७ मा पढ्ने १२ वर्षीय ओम प्रकाश पटेलको गुनासो पनि अञ्जलीको जस्तै छ। ‘कम्प्युटर विषयको किताब पाएका छौँ।  अरु विषय पढाइ पनि हुन्छ’, पटेलले भने,‘तर कम्प्युटर भने सरहरुले पढाउँदैनन्।’ प्रधानाध्यापकले कम्प्युटर विषय पढाउने शिक्षक नभएको भन्ने जवाफ दिने गरेको विद्यार्थीहरुको भनाइ छ।

कक्षा आठमा पढ्ने १३ वर्षका दिनानाथ यादवलाई कम्प्युटर सिक्न मन छ। विद्यालयमा पढाइ नहुँदा उनको चाहना पूरा भएको छैन।

सरकारले २०७० सालदेखि नै सामुदायिक विद्यालयमा कक्षा ६ बाटै कम्प्युटर विषय लागु गरेको भएपनि दक्ष जनशक्ति नहुँदा व्यवहारमा लागू हुन सकेको छैन।

शिक्षक नहुँदा कम्प्युटर दराजमा


विषयगत शिक्षक नहुँदा विद्यालयले कम्प्युटर दराजमा थन्काएको छ। दक्ष जनशक्तिको अभावमा विद्यालयका पाँचवटा कम्प्युटर दराजमा थन्काइएको विद्यालयका निमित्त प्रधानाध्यापक विनोदप्रसाद यादवले बताए।

‘विद्यालयमा कम्पयुटर त छ तर प्रयोगशाला र पढाउने शिक्षक छैनन्’,यादवले भने,‘त्यसैले कम्पयुटरहरु दराजमै राखिएको छ।’

यादवले कम्प्युटर शिक्षातर्फ कसैले चासो नदिँदा जसोतसो कम्प्युटर विषय आफैले पढाउने गरेको र महानगरपालिकासँग कम्प्युटर विषयको शिक्षक माग गर्दा पनि कुनै सुनुवाई नभएको बताए। विद्यालयमा ३ सय विद्यार्थी रहेका छन्।

महानगर भन्छ: शिक्षक राख्ने अधिकार स्थानीय तहलाई छैन


वीरगञ्ज महानगररपालिकालका शिक्षा शाखाका प्रमुख अरबिन्द लाल कर्णले सरकारले कम्प्युटर विषय लागू गरेको भएपनि त्यस सम्बन्धी विषयगत शिक्षक राख्ने अधिकार स्थानीय तहलाई नभएको भन्दै यसमा सरकारले नै ध्यान दिनुपर्ने बताए।

उनले महानगरपालिकाको तर्फबाट माध्यमिक विद्यालयमा स्मार्ट कक्षा नै सञ्चालन गर्ने योजना रहेको बताउँदै त्यस समबन्धी कार्यहरु पनि अघि बढाइएको दावी गरे।

कर्णले नेपाल सरकारले नै कम्प्युटर विषय लागू गरेकोले कम्प्युटर शिक्षक र ल्याबको पनि व्यावस्था गरिदिनु पर्ने बताए।

‘सरकारले अहिले सामुदायिक विद्यालयमा कम्प्युटर शिक्षा लागु गरेको छ, तर शिक्षकको भने व्यवस्था गरेको छैन’, कर्णले भने, ‘सरकारले नै लागु गरेको विषय भएकोले विषयगत शिक्षकसहित प्रयोगशालाको पनि व्यवस्था गरिदिनु पर्छ।’

माघ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्