वरुण र श्रद्धाको ‘स्ट्रिट डान्सर’ले कमायो पहिलो दिन १० करोड

एजेन्सी– वरुण धवन र श्रद्धा कपूरको मुख्य अभिनय रहेको बलिउड चलचित्र ‘स्ट्रिट डान्सर थ्रीडी’ले भारतीय बक्सअफिसमा राम्रो सुरुवात गरेको छ।

शुक्रबारबाट प्रदर्शनमा आएको चलचित्रले पहिलो दिन १० करोड २६ लाख भारतीय रुपैयाँ बराबरको व्यापार गरेको बलिउड व्यापार विश्लेषक तरण आदर्शले ट्वीट गरेर जानकारी दिएका छन्।

यद्यपि चलचित्रको ओपनिङ अपेक्षा गरिएभन्दा कम भएको बताइएको छ।

बलिउड व्यापार विश्लेषक आदर्शका अनुसार ‘स्ट्रिट डान्सर’ भारतमा ३ हजार ७ सय स्क्रिनमा रिलिज भएको छ। तर ३ हजार ८ सय ८० स्क्रिनमा रिजिल भएको अजय देवगनको चलचित्र ‘तान्हाजी’ले पहिलो दिन १५.१० करोडको व्यापार गरेको थियो।

‘तान्हाजी’को तुलनामा ‘स्ट्रिट डान्सर’को व्यापार कमजोर हो। पहिलो दिनको कमाई ‘तान्हाजी’को तुलनामा करिब पाँच करोड कम छ।

रेमो डिसूजाको निर्देशनमा बनेको चलचित्रमा वरुण र श्रद्धाका साथै प्रभूदेवा र नोरा फतेहीको पनि अभिनय रहेको छ।

माघ ११, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्