बोइङ ७७७ एक्सले गर्‍याे वि‍श्‍वको सबैभन्दा ठूलो जेटको सफल परीक्षण

Live

काठमाडौं-विमान निर्माता कम्पनी बोइङले दुईवटा इन्जिन भएको विश्वको सबैभन्दा ठूलो जेट ‘७७७ एक्स’ को पहिलो परीक्षण उडान सफलता पूर्वक सम्पन्न गरेको छ।

बोइङले आफ्नो छवि सुधार्ने प्रयासस्वरूप नयाँ विमानको परीक्षण गरेको बीबीसीले जनाएको छ। उक्त अमेरिकी कम्पनीले निर्माण गरेका दुईवटा विमान दुर्घटनामा परेपछि ७३७ म्याक्स मोडलका सबै विमानको उडानमा गत वर्ष संसारभरि रोक लगाइएको थियो। ती दुर्घटनामा ३४६ जनाको मृत्यु भएको थियो।

अमेरिकाको सियाटलनजिकै एउटा विमानस्थलबाट उडेको ७७७ एक्स विमानले चार घण्टापछि अवतरण गरेको थियो। तीव्र गतिमा हावा चलेकाले यसअघि दुईचोटि परीक्षण उडान स्थगित गरिएको थियो।

झन्डै २५२ फुट लामो यो विमान यही वर्ष प्रयोगमा ल्याइने योजना भए पनि केही प्राविधिक समस्याका कारण ढिलो हुन पुगेको हो।

यो मोडलको विमान बोइङको सफल ७७७ मिनी-जम्बो विमानको विशाल र परिष्कृत रूप हो। दोब्रिने विङ्टिप र संसारकै सबैभन्दा विशाल व्यावसायिक इन्जिन यो विमानका विशेषता हुन्।

बोइङका बजारनिर्देशक वेन्डी सौवर्सले भनेका छन्, ‘यो विमानले कम्पनीका रूपमा हामीले गर्न सक्ने भव्य कामको प्रतिनिधित्व गर्छ। हामीले नयाँ मोडलका ३०९ वटा विमान बेचिसकेका छौ।’ कम्पनीका अनुसार उक्त विमानको कुल मूल्य ४४.२ करोड अमेरिकी डलरभन्दा बढी हुन आउँछ।

यो विमानले अर्को कम्पनी एअरबसको ३६० यात्रु अट्ने ए ३५०-१००० विमानसँग प्रतिस्पर्धा गर्नेछ।

अक्टोबर २०१८ मा इन्डोनेशिया र गत वर्ष मार्चमा इथियोपियामा भएका भयानक विमान दुर्घटनापछि बोइङ कम्पनी सङ्कटमा परेको छ।

इथियोपियाको दुर्घटनामा एक नेपाली महिलासहित विभिन्न देशका नागरिकको मृत्यु भएकको थियो।

पाँच महिनाभित्र दुईवटा दुर्घटना भएपछि बोइङले ९३७ म्याक्स मोडलका विमानको उत्पादन पनि स्थगित गरेको थियो।

बोइङलाई उड्डयन सुरक्षाबारे हेलचेक्र्याइँ गरेको आरोप लागेको छ भने ती दुर्घटनापछि विभिन्न अनुसन्धानहरू भइरहेका छन्।

थन्काइएका ९३७ म्याक्स विमानलाई पुन: उडाउन बोइङले सम्बन्धित निकायहरूबाट स्वीकृति लिने प्रयास गरिरहेको छ।

उक्त मोडलका बोइङ अहिलेसम्मकै सर्वाधिक विक्री भएको विमान हो।

विमान त्यसरी थन्काउनुपर्दा बोइङलाई नौ अर्ब अमेरिकी डलरभन्दा बढी घाटा लागेको अनुमान गरिएको छ।

माघ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्