सभामुख चयन प्रकरण

बाध्यताको बदला लिने दाउमा ओली, प्रचण्डविरुद्ध आफ्ना समर्थक परिचालन

काठमाडौँ– सभामुख छनौट प्रक्रियामा पार्टीको आन्तरिक रस्साकस्सीमा नराम्ररी पछारिएका प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले यो पराजयलाई सहजरुपमा लिएका छन् या यसको बदला लिने रणनीतिमा जुटेका छन् ? यो अहिले नेकपाभित्र अनुमानको विषय बन्न पुगेको छ।

यसअघि प्रतिकूल स्थितिमा घेरिँदा अन्तिम समयमा भए पनि प्राय: ओलीले आफ्नो रणनीतिक चतुर्‍याइँबाट प्रतिद्वन्द्वीलाई पराजित गर्दै आएका थिए। तर पार्टीका अर्का अध्यक्ष पुष्पकम दाहाल (प्रचण्ड)को संगठित दबाबमा परेपछि बाध्य बनेर सभामुखमा अग्नि सापकोटाको नाम अनुमोदन गरेका थिए उनले, यही माघ ५ गते।

बाग्मती प्रदेशको मुख्यमन्त्री बन्ने अवसरबाट नेकपा नेतृ अष्टलक्ष्मी शाक्यलाई बञ्चित गर्दा होस् या काठमाडौँ ७ बाट रामवीर मानन्धरलाई राजीनामा दिन लगाई बामदेव गौतमलाई संसदमा लैजान– प्रचण्डको रणनीति असफल बनाउन ओलीले आफ्नो चतुर्‍याइँ प्रस्तुत गरेका थिए।

यस्तै अन्तिम निर्णय आफ्नो सहभागितामा गर्ने गरी प्रचण्डलाई पार्टी सञ्चालनको कार्यकारी अधिकार प्रदान गरेर ‘सरकार र पार्टीको नेतृत्व आलोपालो गर्ने’ पूर्वसहमति खारेज गर्दै आफूमात्रै बाँकी तीन वर्ष प्रधानमन्त्री बन्ने रणनीतिमा पनि ओली सफल भए।

तर विगतमा अन्य मामिलामा जस्तो सभामुख छनौटमा प्रचण्ड ओलीसँग झुकेनन् र ‘हत्या आरोप’ मा मुछिए पनि आफ्ना बफादार अग्नि सापकोटलाई कृष्णबहादुर महरालाई दिलाएको कुर्सीमा पुर्‍याइछाडे।

सभामुखको मामिलामा पूर्व माओवादी खेमामा हालसम्मकै आलोकप्रिय र अस्वीकार्य बन्ने डरका कारण पनि प्रचण्ड ओलीसँग अन्तिम समयसम्म भिडिरहे।

ओलीका लागि प्रचण्डसँगको यो पराजय अभूतपूर्वखालको थियो, खासगरी पार्टी एकतापछि।

तर, ओली चुप लागेका छैनन् र उनको स्वभाव पनि त्यस्तो होइन।

ओलीले प्रत्यक्षरुपमा या बाहिर नदेखिए पनि केही समर्थकलाई प्रचण्ड र सापकोटा विरुद्ध परिचालन गरिसकेका केही संकेतहरु मिलेका छन्।

अग्नि सापकोटालाई सभामुखको उम्मेदवार बनाएको चार दिनपछि माघ १० गते ओलीका बफादार सुशील प्याकुरेलले राष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख सल्लाहकारबाट राजीनामा दिनु र राजीनामा पत्रमै सापकोटाको घुमाउरो विरोध गर्नुलाई पहिलो संकेतका रुपमा लिन सकिन्छ।

यस्तै ओलीका पूर्व प्रेस सल्लाहाकार डा. कुन्दन अर्यालले राष्ट्रिय दैनिक अन्नपूर्ण पोष्ट्मा सापकोटा सभामुखमा निर्वाचित भएका दिन आज आइतबार प्रचण्ड र सापकोटाका विरुद्धमा लेख छाप्नुलाई दोस्रो संकेतका रुपमा हेर्न सकिन्छ।

प्याकुरेल र अर्याल मामा-भान्जा मात्रै होइनन्, उनीहरु पूर्ववर्ती एमाले खेमामा आबद्ध हस्तीहरु हुन्। र, उनीहरुले पश्चिमा दातृ निकायसँग घनिष्ट सम्बन्ध राखेको विषय सार्वजनिकरुपमा आइसकेको छ।

त्यसकारण प्रचण्ड पक्षले सापकोटाविरुद्ध डलरबादी लागेको र भविष्यमा सापकोटासँगै प्रचण्डलाई ‘हेग’ पुर्‍याउने अभियानको सूत्रपात गरेको आरोप समेत लगाउन थालेका छन्।

आइतबार निर्विरोध निर्वाचित सापकोटाले पनि केही दिन अघि यस्तै आरोप लगाएका थिए आफ्नो विरोधमा उत्रिएकाहरुलाई।

प्याकुरेलको राजीनामा आएपछि सबैभन्दा पहिला पत्रकार एवं मानवअधिकारकर्मी कनकमणि दीक्षितले सरकार, नेकपा र नेपाली कांग्रेस मिलेर राज्य र जनतालाई भिरालो बाटो डोहोर्‍याइरहेका कारण प्याकुरेल राज्यको अंगबाट बाहिरिनु परेको अभिव्यक्ति ट्विटमार्फत सार्वजनिक गरेका थिए।

त्योसँगै दीक्षितले श्रृंखलावद्धरुपमा आफ्नो मिडियामा सापकोटाको विरोधमा छापिएका समाचार, लेख र सम्पादकीयलाई ट्विटरमा प्राथमिकता दिन थालेको देखिन्छ।

पूर्व माओवादीलाई सभामुख पार्न ओलीलाई ‘भोटिङमा’ जाने धम्की समेत दिने रणनीति सहित प्रचण्डको नेतृत्वमा बनेको वरिष्ठ झलनाथ खनाल, नेता माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठको गठबन्धन तोड्न यो बीचमा ओलीले त्यो बैठकमा सामेल नेताहरुसँग छुट्टाछुट्टै भेटेर छलफल समेत गर्न थालेका छन्।

यो बीचमा आफ्ना बफादार सुवास नेम्वाङलाई सभामुख बनाउनबाट बञ्चित ओलीले भैँसेपाटी बैठकबाट मजबुत बनेको प्रचण्डको गठबन्धन तोड्ने प्रयास समेत थालेका छन्।

पूर्व माओवादीलाई सभामुख पार्न ओलीलाई ‘भोटिङमा’ जाने धम्की समेत दिने रणनीति सहित प्रचण्डको नेतृत्वमा बनेको वरिष्ठ झलनाथ खनाल, नेता माधवकुमार नेपाल, बामदेव गौतम र नारायणकाजी श्रेष्ठको गठबन्धन तोड्न यो बीचमा ओलीले त्यो बैठकमा सामेल नेताहरुसँग छुट्टाछुट्टै भेटेर छलफल समेत गर्न थालेका छन्।

बैठककै भोलिपल्ट नेता श्रेष्ठलाई बालुवाटार बोलाएर उक्त बैठकमा भएको छलफलको विवरण माग गरेका ओलीले आफूविरुद्ध जाइलागे आफू पनि चुप नलाग्ने भन्दै आक्रोश व्यक्त गरेका थिए।

नेकपा केन्द्रीय सचिवालयका एक नेताका अनुसार यो बीचमा नेता झलनाथ खनाललाई बालुवाटार बोलाएर ओलीले आफ्नो विरोध गर्नु र आफूलाई एक्ल्याउन कोशिस गर्नुको कारण सोधेका छन्।

योसँगै खनालसँग उनले ‘आफ्ना विरुद्धमा उत्रिनेहरुलाई ठिक पार्न आफूले पनि जानेको’ चेतावनी समेत दिएको ती सदस्यको भनाइ छ।

ओलीले खनाललाई त्यस्तो चेतावनी दिइरहँदा प्रचण्डका विरुद्धमा एकपछि अर्का गतिविधिहरु हुनुलाई संयोग मात्रै मान्न सकिन्न।

डा. अर्यालले आफ्नो लेखमा भनेका छन्, ‘नेकपाभित्रको शक्ति सन्तुलनको नयाँ अवस्थाले अध्यक्ष प्रचण्डलाई अति उत्साहित बनाएको छ। हिजोअस्तिको जस्तो अध्यक्ष मात्रै होइन, आजका कार्यकारी अध्यक्ष प्रचण्ड प्रधानमन्त्री ओलीका दुई वर्ष उत्साहबर्द्धक नभएको सार्वजनिक घोषणा गर्दै हुनुहुन्छ। अब पार्टीले सत्ता सञ्चालन गर्ने घोषणा गर्दै उहाँ प्रधानमन्त्री ओलीलाई आउने दिनहरुको परिकल्पना गर्ने खुराक प्रदान गर्दै हुनुहुन्छ।’

यस्तै अर्यालले सापकोटा मुद्दा मामिलाले नराम्रोसँग बेरिएको नाम भएको भन्दै सोही व्यक्तिलाई सत्य निरुपण र मेलमिलापको प्रक्रिया अगावै सभामुख बनाएर संक्रमणकालीन न्यायको बाटो साँघुरो बनाइएको आरोप छन्।

उनले भनेका छन्, ‘यसरी अन्तर्राष्ट्रिय जगत्ले नेकपाको संक्रमणकालीन न्यायप्रतिको प्रतिबद्धतामा प्रश्न गर्ने बाटो खुल्नु खेदजनक विषय हो।’

सापकोटाको घुमाउरो विरोध गर्दै राजीनामा दिएका र आगामी दिनको गतिविधिबारे मौन बस्ने कोशिस गरिरहेका प्याकुरेलले के चाहेका छन् भन्ने समेत स्पष्ट पारिदिएका छन्, अर्यालले आफ्नो लेखबाट।

उनले भनेका छन्, ‘प्याकुरेलले यस्तो प्रवृत्तिप्रति असहमति जनाउँदै सुदृढ लोकतन्त्रका लागि कानुनका सामु सबैको समान हैसियत कायम गराउने आम नेपालको आकांक्षाको उल्लेख गर्नु भएको छ । उहाँले सभामुख जस्तो गरिमामय पदको प्रभावकारिता एवं सम्मानको चिन्ता पनि गर्नु भएको छ।’

अर्यालले पूर्व एमालेका कार्यकर्ता मारिएको विषयमा सोही खेमाका वरिष्ठ नेताहरु समेत असंवेदनशील देखिनु दुखद भएको बताएर सभामुख चयनका क्रममा प्रचण्डलाई साथ दिने वरिष्ठ नेता खनाल, नेपाल र गौतमलाई पनि तीर समेत हान्न भ्याएका छन्।

माघ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्