बहुदरमाइ नगरपालिकाका पदाधिकारीले विद्यार्थीलार्ई कुटेको राजपाको आरोप

पर्सा- शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई पर्साको बहुदरमाइ नगरपालिकाका पदाधिकारीहरुले नै कुटपिट गर्न लगाएको राष्ट्रिय जनता पार्टी नेपाल राजपाले आरोप लगाएको छ।

गएको शुक्रबार शान्तिपूर्ण प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुलाई नगरपालिकाका पदाधिकारीहरुको निर्देशनमा कर्मचारीहरुले कुटपिट गरेको राजपा नेपाल बहुदरमाई नगर अध्यक्ष कृष्णा यादवले आरोप लगाएका हुन।

उनले आईतबार एक प्रेस बिज्ञप्ति जारी गर्दै प्रदर्शनमा उत्रिएका विद्यार्थीहरुमाथि नगरपालिकाका कर्मचारीले गरेको कुटपिटको घोर भर्त्सना समेत गरेका छन।घटनाको उचित छानबनि गरि दोषी माथि कारवाही र पिडीतलाई क्षतिपूर्ति तथा बिधालयमा उत्पन्न समस्याको अबिलम्ब सामाधान गर्नुपर्ने माँग बिज्ञप्तिमार्फत गरिएको छ।

समस्याको सामाधान अबिल्म्ब नगरिए विद्यार्थीहरुको हकहितको लागि राजपा नगर कार्यसमिति संघर्षका कार्यक्रम गर्न बाध्य हुने चेतावनी समेत विज्ञप्तिमार्फत दिईएको छ।यस्तै राजपा नगरसमितिको आईतबार नै बसेको बैठकले नगरप्रमुखकै निर्देशनमा विद्यार्थीहरुमाथि कुटपिट भएको ठहर गरेको छ।

त्यसैगरी प्रदर्शनको क्रममा गरिएको आगजनीको नाममा नगरपालिका भित्र भएको भ्रष्टाचारका प्रतिलिपी सखाप पार्ने खेल भईरहेको आरोप समेत राजपा नेपालले लगाएको छ। गत शुक्रबार नगरपालिकाको वडा नम्बर ३ नगरदाहामा रहेको श्री महावीर साह माध्यमिक विद्यालययका विद्यार्थीहरु बिधालयमा शिक्षकको कमिले नियमित पठनपाठन नभएको भन्दै बिरोध प्रदर्शनमा उत्रिएका थिए।

उनीहरु प्रदर्शन गर्दै वडा नम्बर ४ बहुअरीमा रहेको नगरपालिकाको कार्यालय पुगेपछि विद्यार्थी र नगरपालिकाका कर्मचारीहरु बिच झडप भएको थियो। झडपको क्रममा कक्षा ९ मा अध्यनरत सन्जय कुमार तुरहा ,अजय साह तुरहा, कक्षा ७ मा अध्यनरत सुनिता कुमारी पटेल र शेषनाग प्रसाद यादव लगायत ४ जना विद्यार्थीहरु घाईते भएका थिए।

घाइतेमध्ये सुनिताको अहिले पनि नारायणी अस्पतालमा उपचार भइरहेको छ।उनको ढाडमा चोट लागेको छ। आक्रोशित विद्याथीहरुले नगरपालिकाको मोटरसाइकल, फर्निचर, कम्युटरका पार्टपुर्जा लगायतमा आगो लगाएका थिए।

माघ १२, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्