न्यानो पार्न जाडोमा स्वीटर लाइन्छ। विभिन्न ब्राण्डका ज्याकेट, ओभरकोट, ट्राउजर, टोपी, गल्बन्धीहरुले जाडोमा हामीलाई न्यानो पार्छन्। चिसोबाट जोगाउँछन् ।

तर लगाउने लुगाहरुले न्यानो बनाएर मात्रै हुँदैन, राम्रो पनि देखिनु पर्छ। व्यक्ति अनुसार रोजाइ फरक हुन्छन्। बजारमा विकल्पहरु छन् । यही विकल्पहरुमा पर्छ हातले बुनिएका स्वीटर, ज्याकेट, टोपी, गल्बन्दीसहितका लुगाहरु।

तर समयक्रमसँगै धागोका डल्लालाई कुरुस तथा सुइरोले बुनेर विभिन्न आकृति दिइ स्वीटर तथा जाडोका अरु लुगाहरु बनाउने कम भएको छ।

पहिले विशेष गरी आमा–दिदीबहिनीहरुले फुर्सदको समयमा परिवारका सदस्यलाई चाहिने लुगाहरु बुन्थे । बुन्नेहरु देखिन्थे । धागोलाई उल्झनहरु जस्तै गाँठो पारेर जाडोको सुल्झन बनाउने सीप एकगरी अर्कोमा सर्थ्यो ।

व्यस्तताको बहानामा त्यो क्रम टुट्यो । यस्तै घरमा बुनिएका भन्दा तयारी कपडाहरु सस्तो पर्ने हुँदा अधिकांशको आकर्षण त्यतै गयो । र पनि बुनिएका स्वीटरसहितका लुगा खोज्नेहरु भने अझै छन्।

यस्तै घरबुना लुगा खोज्नेहरुलाई लक्षित गरेर राजेश महर्जनसहितका सीपालुहरु दिनभर धागो र कुरुस–सुइरोमा घोत्लिन्छन् । ललितपुरको पाटन सुन्धारामा रहेको एसएस वुलन ह्याण्डिक्राफ्ट इन्डस्ट्रिजमा राजेशसहित दैनिक १०–१२ जनाको टोली उनका लुगा बन्नु व्यस्त हुन्छन् ।

यो समूहका एक्ला पुरुष सीपालु हुन् राजेश, उनको साथमा रहेका अरु सबै महिला छन् । कति त पाको उमेरका आमा पनि छन् उनका साथी । विशेष गरी लुगा बुन्ने काम महिलाले गर्ने भन्ने गरिन्छ । तर राजेशले त्यो अवधारणा तोडेका छन् । उनले कुरुस र धागो जेलेरै परिवारलाई नजेलिने गरी चलाएका छन्।

हामीले राजेशसहित धागो र कुरुस–सुइरोको सीपमा बाँचेकाहरुको कथा यो भिडियो सामग्रीमा समेटेका छौँ।

माघ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्