नेइमारले गोलको सेलिब्रेसनको क्रममा दिए कोबी ब्रायन्टलाई ट्रिब्यूट

नेइमारले गोल सेलिब्रेसनको क्रममा हेलिकप्टर दुर्घटनामा निधन भएका बास्केटबल लेजेण्ड कोबी ब्रायन्टलाई ट्रिब्यूट दिएका छन् । फ्रेन्च लिग वान फुटबल अन्तर्गत आइतबार राति भएको खेलमा पेरिस सेन्ट–जर्मेन (पिएसजी) ले लिलेलाई २–० ले पराजित गरेको हो ।

पिएसजीका लागि दुवै गोल नेइमारले गरेका हुन् । नेइमारले २८ औँ मिनेटमा गोल गरेर टिमलाई सुरुवाति अग्रता दिलाए । ५२ औँ मिनेटमा पाएको पेनाल्टीमा नेइमाले व्यक्तिगत दोस्रो गोल गरे । खेल भइरहेकै बेला ब्रायन्टको हेलिकप्टर दुर्घटनामा निधन भएको पुष्टि भएको थियो ।

दोस्रो हाफमा पाएको पेनाल्टीमा गोल गरेपछि नेइमारले एक हातको दुई तथा अर्को हातका चार औँला उठाएर ब्रायन्टको लस एन्जलस ल्याकर्सको जर्सी नम्बर २४ बनाएर ट्रिब्यूट दिएका हुन् ।

यस्तै उनले एक हात माथि आकाश तर्फ गरेर पनि ट्रिब्यूट दिए । ब्राजिलियन नेइमार बास्केट बलका फ्यान हुन् । उनले ब्रायन्टसँग भेट पनि गरेका हुन् । खेलपछि नेइमारले ब्रायन्टका बारेमा लेखेर इन्स्टाग्राममा तस्बिर पनि पोस्ट गरेका छन् ।

माघ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्