उत्तर कोरियाका नेता किमकी फुपु ६ वर्षपछि सार्वजनिक कार्यक्रममा सँगै देखिइन्

बायाँबाट क्रमशः नेता किम, उनकी श्रीमती र फुपु

उत्तर कोरियाका नेता किम जोङ–उनकी फुपु सार्वजनिक कार्यक्रममा देखिएकी छन् । सन् २०१३ मा उनका पतिलाई फासी दिइएपछि पहिलोपटक किम कियोङ्ग–हुई सार्वजनिक कार्यक्रममा देखिएकी हुन् ।

उनी उत्तर कोरियाका संस्थापक किम इल–सुङ्गकी छोरी तथा हालका नेता किम जोङ–उनका पिता किम जोङ–इलकी बहिनी हुन् ।

सन् २०१३ मा नेता किमको निर्देशनमा राजद्रोहको अभियोगमा किम कियोङ्ग–हुईका पति चाङ्ग सोङग–थाएकलाई फासी दिइएको थियो ।

तर आइतबार उत्तर कोरियाको राष्ट्रिय सञ्चारमाध्यमले नयाँ वर्षका अवसरमा भएको कार्यक्रममा भतिज किम जोङ–उनसँगै उनी पनि उपस्थित भएको तस्बिर सार्वजनिक गरेको हो ।

समाचार संस्था केसिएनएले जारी गरेको तस्बिरमा उनी नेता किम र उनकी पत्नीको साथमा बसेको देखिन्छ।

माघ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्