भयावह बन्दै कोरोना भाइरस संक्रमण

नोवेल कोरोना भाइरसका कारण मृत्यु हुनेको संख्या ८० पुग्यो, ३०० जना गम्भीर बिरामी

चीनमा नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८० पुगेको छ । झण्डै तीन हजारजनामा संक्रमण पुष्टि भएको चीनका अधिकारीहरुले बताएका छन् ।

हुबेइ प्रान्तको वुहानसहितका शहरमा ज्यान गुमाउनेको संख्या ५६ बाट ७६ पुगेको र अरु चारजनाको देशका अरु क्षेत्रमा मृत्यु भएको चीनको स्वास्थ्य संगठनले सोमबार बताएको छ ।

चीनमा नोवेल कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २७ सय ४४ पुगेको संगठनले जनाएको छ । संक्रमित मध्ये ३०० जनाको अवस्था गम्भीर रहेको छ ।

हुबेइ प्रान्तमा नोवेल कोरोना भाइरसबाट संक्रमितको उपचार तथा संक्रमण रोक्ने प्रयासका लागि १० लाख भन्दा बढी स्वास्थ्यकर्मी खटिएका छन् ।

संक्रमण रोक्नका लागि विभिन्न शहरमा जानका लागि भ्रमण प्रतिबन्ध लगाइएको छ । सार्वजनिक यातायातमा यसअघि नै प्रतिबन्ध लागेको वुहानमा आइतबारदेखि निजी गाडीमा पनि प्रतिबन्ध लागेको छ ।

चीनले कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप त्यसको उपचारका लागि तत्काल नयाँ अस्पताल बनाइरहेको छ । १००० शैयाको अस्पताल निर्माण गएको शुक्रबारदेखि सुरु भएको हो । सो अस्पताल ६ दिनमा तयार पार्ने योजना छ ।

यस्तै १३०० शैयाको अर्को अस्पताल पनि बनाउन सुरु भएको चीनले जनाएको छ । सो अस्पताल १५ दिनभित्र पूरा गरी सञ्चालनमा ल्याउने योजना छ ।

संक्रमण फैलिएको हुबेइ प्रान्तमा विशेष सैन्य स्वास्थ्य टिम गएको छ ।

कोरोना भाइरसको संक्रमण चीनमा मात्रै सीमित भएको छैन । चीनबाट आएका एक नेपालीमा यसको संक्रमण पुष्टि भएको छ । यस्तै अरु दुईजनामा पनि संक्रमणको आशंका गरिएको छ । यस्तै अमेरिका, फ्रान्स, दक्षिण कोरिया, थाइल्याण्डसहितका देशमा पनि संक्रमण देखिएको छ ।

नयाँ कोरोना भाइरसको संक्रमणका कारण ज्वरो आउने, सुक्खा खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने गर्छ ।

माघ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्