गायिका आस्था राउत प्रहरी कार्यालयमा उपस्थित

तस्बिर: गायिका आस्था राउतकाे फेसबुकबाट

काठमाडौँ – प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोग लागेकी गायिका आस्था राउत परिवारका सदस्यसहित प्रहरी कार्यालयमा उपस्थित भएकी छन् ।  गायिका राउत परिवारका सदस्यसहित सोमबार बिहान महानगरीय प्रहरी परिषर काठमाडौँ, टेकुमा उपस्थित भएकी हुन् ।

उनीविरुद्धको अभियोगमाथिको छानबिन अब प्रक्रियागत रुपमा अघि बढ्ने प्रहरी परिषर काठमाडौँका डिएसपी होबिन्द्र बोगटीले जानकारी दिएका छन् । गायिका आस्था राउत आइतबार बेलुका भारतबाट नेपाल आएकी हुन् ।

अभद्र व्यवहार सम्बन्धी कसुरमा राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँले पक्राउ गर्न प्रहरीलाई यसअघि नै अनुमति दिएको थियो ।
ड्युटीमा रहेका बेला आफूलाई दुव्र्यवहार गरेको भन्दै त्रिभूवन विमानस्थलमा कार्यरत महिला प्रहरीले जाहेरी दिएकी थिइन् ।

विमानस्थलका प्रहरीले आफूलाई दुर्व्यवहार गरेको भन्दै दुई हप्ताअघि गायिका राउतले गरेको फेसबुक लाइभ भाइरल भएको थियो। लगत्तै प्रहरीले सुरक्षा जाँचका क्रममा दुव्र्यवहार गरिएको भनिएको अवस्थाको सिसिटिभी फुटेज बाहिर ल्याएको थियो।

राउतले ड्युटीमा खटिएका प्रहरीले आफूविरुद्ध अभद्र व्यवहार गरेको आरोप लगाएकी छन्। यता प्रहरीले भने राउतले प्रहरी संगठनकै बदनाम गरेको र ड्युटीमा खटिएका प्रहरीलाई दुव्र्यवहार गरेको दाबी गरेको छ।

माघ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्