असाममा जारी सिल्चर अन्तर्राष्ट्रिय भेट्रान फुटबलको उपाधि फाइनलमा नेपालको सिएमजी क्लब

 

मोरङ – विराटनगरको सिएमजी स्वास्थ्य भेट्रान फुटबल क्लब भारतको असाममा जारी दोश्रो सिल्चर अन्तर्राष्ट्रिय भेट्रान फुटबल प्रतियोगिताको उपाधि नजिक पुगेको छ।

असामको सिल्चरमा जारी प्रतियोगिता अन्तर्गत सोमबार बिहान भएको अन्तिम चारको खेलमा कोलकाताको क्लाईभ हाउस भेट्रान क्लबलाई पेनाल्टीमा ५–४ ले पराजित गर्दै फाइनलको यात्रा तय गरेको हो।

निर्धारित ९० मिनेटको खेलमा दुवै टोलीले गोल गर्न असफल भएपछि खेल पेनाल्टीतर्फ धकेलिएको थियो। पेनाल्टीका क्रममा नेपालका तर्फबाट सुमन केसी, रमेश बस्नेत, विजय भुजेल पन्टी, रामशरण चौधरी र गोलरक्षक आशाराम चौधरीले गोल गरेका थिए।

सिएमजीलाई फाइनलमा पुराउने क्रममा गोलरक्षक चौधरीले विपक्षी टोलीका ब्रान्तोष डे को प्रहार बचाव गरेका थिए। क्लाइभ हाउसका लागि कमन भूनियाँ, सुर्जविकास चक्रवर्ती, पर्थो दास र कल्लन लोथले गोल गरेका थिए।

तियोगिताको फाइनल प्रतिस्पर्धा सोमबार बेलुका नै हुने सिएमजीका अफिसियल संजीव चापागाईँले बताए। प्रतियोगिता उपाधि जित्ने टोलीले ५० हजार र उपविजेता टोलीले ३० हजार भारतीय रुपैयाँ हात पार्ने चापागाईँले जानकारी दिए।

त्यसैगरी नेपाली टोलीले सोमबार नै हुने मिजोरमको जी ९० क्लब र त्रिपुरा भेट्रान इलेभेनबिचको विजेतासँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

माघ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्