प्रदेश १ मा केही दिनयता बम ‘आतंक’

मोरङ – पछिल्लो केही दिनयता प्रदेश १ का विभिन्न स्थानमा बम बिस्फोटको घटना भएको छ।

माघ यता मोरङको मिक्लाजुङ गाउँपालिकामा रोकिराखेको स्काभेटरमा, केराबारी गाँउपालिकाको कार्यालय र सिंहेदेवीमा रहेको एनसेलको टावरमा, संखुवासभामा निर्माण भइरहेको अरुण तेश्रो जलविद्युत आयोजनाको पावरहाउस क्षेत्रमा बम बिस्फोट भएका छन्।

घटनाका सन्दर्भमा प्रदेश १ प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक ठाकुरप्रसाद ज्ञवालीले सुरक्षाका लागि संवेदनशील भएर काम गरिरहेको जानकारी दिए।

प्रहरी नायब महानिरीक्षक ज्ञवालीले जनतामा सुरक्षा प्रत्याभूत गराउन प्रहरी परिचालन गर्दै घटनामा संलग्न हुनेहरुलाई नियन्त्रणमा लिन प्रहरीले सक्रियता बढाएको जानकारी दिए। बम बिस्फोटमा संलग्नलाई पक्रने बताएका प्रहरी प्रमुख ज्ञवालीले हालसम्म कोही पक्राउ नपरेको जानकारी दिए।

अर्कोतर्फ, मोरङको केराबारी गाउँपालिका–२ सिंहदेवीको ढ्याङ्ग्रे डाँडामा रहेको एनसेल टावरमा अज्ञात समूहले आइतबार साँझ बम बिस्फोट गराएकै ठाउँमा बम जस्तै अर्को वस्तु फेला परेको मोरङ प्रहरीले जनाएको छ। बिस्फोटपछि आगजनी भएको आगजनीमा टावरको जेनेरेटर, पावर प्लान्ट, एलटी पेनल र केवल वायरमा क्षति पुगेको छ ।

गाउँपालिका अध्यक्ष कार्कीका अनुसार शंकास्पद फेला परेको बस्तु निश्क्रिय बनाउन सोमबार बिहान टोली सिंहदेवीतर्फ गएको छ। तारले घेराबारा गरेर बनाइएको टावरको मुख्य गेटमा पहेँलो झोलामा झुन्ड्याएको अवस्थामा अज्ञात वस्तु भेटिएपछि त्यस स्थानलाई नेपाल र सशस्त्र प्रहरीले निगरानीमा राखेका छन्। बाहिरबाट ‘बम छ’ भन्ने लेखेर झुन्ड्याइएको झोलाबाट प्वाल पारेर तार बाहिर निकाल्दै गेटमा झुन्ड्याएको अवस्थामा बम जस्तै वस्तु भेटिएको र उक्त वस्तु सुतली बम भएको हुनसक्ने आशंका मोरङ प्रहरीले गरेको छ। यसअघि गत शुक्रबार सोही गाँउपालिका कार्यालयमा बम बिस्फोट भएको थियो। गाँउपालिका अध्यक्ष कार्कीले बम बिस्फोटका कारण जनजीवनमा असर परिरहेको बताँउछन्।

टावरमा तीन पटकसम्म बिस्फोटको आवाज आएको र १०–१२ जनाको संख्यामा रहेको समूह घटनापछि त्यहाँबाट भागेको जानकारी स्थानीयले प्रहरीलाई दिएकाछन्। प्रहरीका अनुसार सुगम जिल्ला मोरङको दुर्गम र विकट क्षेत्र भनेर चिनिने सिंहदेवी केराबारी गाउँपालिका केन्द्रबाट लगभग ३५ किलोमिटर उत्तरमा पर्छ ।

त्यसैगरी, मिक्लाजुङ गाँउपालिकामा माघ ५ गते आइतबार तीनवटा स्काभेटरमा बम बिस्फोट भएको गाउँपालिका अध्यक्ष देवीप्रसाद आचार्यले बताए। अध्यक्ष आचार्यका अनुसार हालसम्म सो बिस्फोटमा संलग्नहरु पक्राउ नपरेको र रमिते क्षेत्रमा निर्माण भइरहेको १८.५ किलोमिटर सडकको कार्य समेत रोकिएको छ। ‘तीनवटा स्काभेटरमा क्षतिपुगेको छ र हाल काम पनि ठप्प रहेको छ’ अध्यक्ष आचार्यले भने ।

उत्तरी मोरङमा बम बिस्फोटका घटना हुन थालेपछि त्यसमा संलग्नको खोजी र पहिचानका लागि जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी नायब उपरीक्षक मानबहादुर राईको नेतृत्वमा केही दिनदेखि विशेष टोली परिचालित छ ।

संखुवासभाको चिचिला गाँउपालिकास्थित दिदिङ निर्माण भइरहेको अरुण तेश्रो जलविद्युत आयोजनाको पावरहाउस क्षेत्रमा बम बिस्फोट हुदाँ क्षति पुगेको बताइएको छ।

माघ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्