क्वारेन्टाइन नगरी भारतबाट खसी भित्रिन थालेपछि कोहलपुरमा प्रहरीको सक्रियता

नेपालगञ्ज – केही दिन यता कोहलपुर प्रहरीले धमाधम खसी समातेको छ । बाँके, बर्दियालगायत पश्चिमका विभिन्न जिल्लाबाट काठमाडौँ पठाउन थालिएका खसी प्रहरीले नियन्त्रणमा लिएको हो । कागजपत्र नहुने र भए पनि नक्कली हुने भएकाले प्रहरीले खसी समात्दै भन्सार कार्यालयमा बुझाइरहेको हो ।

प्रहरीले सोमबार बिहान २९ वटा खसी समातेको छ । खसी बसमा राखेर लगिँदै थियो । कोहलपुर प्रहरीले आइतबार ८३ वटा खसी समातेको थियो । बोलेरो र बसमा राखेर खसी लैजान थालिएको थियो । पूर्वपश्चिम राजमार्गमा पर्ने सम्झनाचोक र चप्परगौडीबाट खसी नियन्त्रणमा लिइएको थियो । केही दिनअघि अगैया र कुसुमबाट २ सय ५७ वटा खसी समातिएको थियो ।

कोहलपुर प्रहरीले कागजपत्र बिना र नक्कली कागजपत्र बनाएर खसी ओसारपसार गर्न नदिने नीति लिएको छ । भारतबाट खसी भित्रिने र त्यसको नक्कली कागजात बनाएर वा कागजपत्र नै नबनाई काठमाडौँ पठाउने गरेको गुनासो आइरहेका छन्।

इलाका प्रहरी कार्यालय, कोहलपुरका प्रहरी निरीक्षक रणबहादुर विष्टले खसी ओसारपसारमा कागजपत्र हेर्ने गरिएको बताए ।

नेपाल सरकारले भारतबाट क्वारेन्टाइन गरेर मात्रै खसी भित्रिन दिने नीति लिएको छ । आन्तरिक ओसारपसारमा पनि कागजपत्र अनिवार्य रहेको छ । कैलालीको फर्म, बर्दियाबाट स्वास्थ्य जाँचको कागज र अन्यत्रबाट लोड गरेर खसी लैजान थालिएको भेटिएको छ ।

माघ १३, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू