नोवेल कोरोना भाइरसका कारण हालसम्म ८२ जनाको मृत्यु, ४६१ जनाको अवस्था गम्भीर

चीनमा नोवेल कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या ८२ पुगेको छ । झण्डै तीन हजारजनामा संक्रमण पुष्टि भएको चीनका अधिकारीहरुले बताएका छन् ।

हुबेइ प्रान्तको वुहानसहितका शहरमा ज्यान गुमाउनेको संख्या ५६ बाट ७६ पुगेको र अरु ६ जनाको देशका अरु क्षेत्रमा मृत्यु भएको चीनको स्वास्थ्य संगठनले बताएको छ ।

चीन बाहिर जर्मनी, फ्रान्स, नेपाल, अमेरिका, अस्ट्रेलियासहितका देशमा गरी कम्तिमा ४४ जनामा संक्रमण पुष्टि भएको छ । अहिलेसम्म चीन बाहिर कसैको पनि नोवेल कोरोना भाइरसका कारण मृत्यु भएको छैन ।

सोमबार बेइजिङ्गमा एकजनाको मृत्यु भएको पुष्टि भएको हो । चीनको राजधानीमा कोरोना भाइरसका कारण मृत्यु हुने ५० वर्षका पुरुष पहिलो व्यक्ति हुन् ।

चीनमा नोवेल कोरोना भाइरसका कारण संक्रमित हुनेको संख्या २८ सय २७ पुगेको संगठनले जनाएको छ । संक्रमित मध्ये ४६१ जनाको अवस्था गम्भीर रहेको छ । ५१ जना निको भएर घर फर्किएका छन् ।

५७ सय ९४ जनामा संक्रमण रहेको आशंका छ, उनीहरुलाई निगरानीमा राखिएको चीनका अधिकारीले बताएका छन् ।

हुबेइ प्रान्तमा नोवेल कोरोना भाइरसबाट संक्रमितको उपचार तथा संक्रमण रोक्ने प्रयासका लागि १० लाख भन्दा बढी स्वास्थ्यकर्मी खटिएका छन् ।

संक्रमण रोक्नका लागि विभिन्न शहरमा जानका लागि भ्रमण प्रतिबन्ध लगाइएको छ । सार्वजनिक यातायातमा यसअघि नै प्रतिबन्ध लागेको वुहानमा आइतबारदेखि निजी गाडीमा पनि प्रतिबन्ध लागेको छ ।

चीनले कोरोना भाइरसको संक्रमण रोक्ने प्रयास स्वरुप त्यसको उपचारका लागि तत्काल नयाँ अस्पताल बनाइरहेको छ । १००० शैयाको अस्पताल निर्माण गएको शुक्रबारदेखि सुरु भएको हो ।

सो अस्पताल ६ दिनमा तयार पार्ने योजना छ । यस्तै १३०० शैयाको अर्को अस्पताल पनि बनाउन सुरु भएको चीनले जनाएको छ । सो अस्पताल १५ दिनभित्र पूरा गरी सञ्चालनमा ल्याउने योजना छ ।

संक्रमण फैलिएको हुबेइ प्रान्तमा विशेष सैन्य स्वास्थ्य टिम गएको छ।

नयाँ कोरोना भाइरसको संक्रमणका कारण ज्वरो आउने, सुक्खा खोकी लाग्ने, स्वास फेर्न गाह्रो हुने गर्छ ।

चीन बाहिर कुन देशमा कतिमा संक्रमण भएको छ?

थाइल्याण्डः ८ जना

अमेरिका, अस्ट्रेलिया र सिंगापुरः पाँच–पाँच जना

ताइवान, मलेसिया र दक्षिण कोरियाः चार–चार जना

फ्रान्स र जापानः तीन–तीन जना

भियतनामः दुईजना

नेपाल, क्यानडा, कम्बोडिया, श्रीलंका र जर्मनीः एक–एक जना

माघ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्