तनहुँमा चितुवा आतंक, फेरि एक बालकको मृत्यु

फाइल तस्बिर

तनहुँ – तनहुँको बन्दिपुर गाउँपालिका–४ लोहीमा चितुवाको आक्रमणबाट एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही वडाका शुकबहादुर विकका छोरा ११ वर्षीय इशाक विक सुनार रहेको प्रहरीले जनाएको छ ।

सोमबार साँझ ६ बजेतिर गाउँमा भएको छेवरको भोज खाएर घर फर्कने क्रममा आमासँगै रहेका इशानलाई बाटैबाट चितुवाले झम्टेर लगेको हो । इशानलाई घटनास्थलबाट करिब ८० मिटर तल मृत अवस्थामा फेला पारिएको इलाका प्रहरी कार्यालय डुम्रेले जनाएको छ ।

केही समयअघि पनि आँबुखैरेनी गाउँपालिका–१ रानागाउँमा एक बालकको मृत्यु भएको थियो । तनहुँको भानु नगरपालिकामा, शुक्लागण्डकी नगरपालिका, ब्यास नगरपालिकाको उत्तरी क्षेत्र, आँबुखैरेनी गाउँपालिका र बन्दीपुर गाउँपालिकामा चितुवाले आतङ्क मच्चाएपछि स्थानीय बासिन्दामा त्रास छाएको छ ।

चितुवाको आक्रमणबाट तनहुँमा दुई वर्षको अवधिमा यस घटनासहित नौ बालबालिकाको मृत्यु भइसकेको डिभिजन वन कार्यालयका सहायक वन डिभिजन अधिकृत बाबुराम उप्रेतीले जानकारी दिए ।

माघ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू