सन् २०१७ की मिस नेपाल वर्ल्ड निकिता चाण्डक। तस्बिरहरु : बर्षा शाह/देश सञ्चार
निकिता चण्डकसँग सामाजिक सञ्जाल र ट्रोल संवाद

‘यस्ता कारणले मानिसहरु आत्महत्याको अवस्थासम्म पुग्छन्’

सन् २०१७ की मिस नेपाल वर्ल्ड निकिता चण्डकले सामाजिक सञ्जालमा व्यक्तिको रुप रंगलाई लिएर गरिने टिप्पणीको बारेमा कुराकानी गरेकी छन्।

देश सञ्चारसँगको कुराकानीमा चण्डकले मिस नेपाल भईसकेपछि आफ्नो रुपरंगलाई लिएर गरिएका टिप्पणी, प्रतिक्रिया र मिम्सहरुले पार्ने प्रभावको बारेमा बताएकी छन्।

पूर्व मिस नेपाल चाण्डकलाई प्रतियोगिता सकिने बित्तिकै नेपाली अनुहारको मोहडा नभएको भन्दै आलोचना सुन्नु पर्‍यो, उनी माडबारी समुदायकी पहिलो मिस नेपाल थिइन्। यस्तै मिस नेपाल भएर ‘नेपाली बोल्न आउँदैन’ भनेर टिप्पणी सुरु भयो।

निकिताले आफ्नो पढाइ राजस्थानमा पूरा गरेकी हुन्। घर मोरङ भए पनि भारतमा शिक्षा लिएको कारणले प्रस्ट नेपाली बोल्न समस्या थियो तर उनी नेपाली बोल्न नजान्ने भने होइनन्।

‘नेपाली होइन भन्नु आधारहीन कुरा थियो, किनकी मिस नेपालको अडिसन दिन जाँदा पहिला नेपाली पासपोर्ट र नागरिकता लिएर जानुपर्छ,’ निकिताले भनिन्, ‘यो सँगै मेरो छालाको रंगलाई लिएर, शरीरको बनावट अलि फरक देखियो, माडवारी परिवारबाट आएको र नेपाली भएकोमा शंका गरिदिँदा मैले केही असहज र भय महसुस गरे।’

निकितालाई याद छ, धेरैले ‘अग्ली’ भने,

‘कुरुप’ भनेको सुन्न को चाहन्छ र! हुन त सुन्दरी भन्ने बित्तिकै हरेक व्यक्तिको दिमागमा एक किसिमको तह बनेको छ, हिरोइन वा मिस नेपाल भनेको यस्तो हुनुपर्छ। त्यसले निकितामा केही हदसम्म निराशा छायो र उनी आफै सोच्न बाध्य भइन्, ‘के म यो क्षेत्रको लागि सक्षम छु अथवा छैन?’

हुन त व्यक्तिको बाहिरी आवरणमात्र सबै कुरा होइन, उसका क्षमता नै सबैभन्दा ठूलो कुरा हो भनेर पनि भन्छन्। अरुभन्दा फरक हुनु व्यक्तिको सवल पक्ष पनि हुन सक्छ।

केही समय अगाडि निकिता, श्रृंखला खतिवडा अनि अनुष्का श्रेष्ठ, मिस नेपाल २०१९ लाई सँगै राखेर फोटो सार्वजनिक भएको थियो, जसमा लेखिएको थियो, ‘रियल मिस नेपाल इज श्रृखला, अदर आर फेक।’ त्यसपछि निकिताले लामो स्टेटस इन्स्टाग्राममा लेखेकी थिइन। मिस नेपाल भईसकेपछि अहिलेसम्म आफ्नो आवरणलाई लिएर गरिने कमेन्टले आफूलाई निरुत्साहित गर्ने बताइन्।

निकिताले समय समयमा यस्ता व्यवहारहरुको सामना गर्नु परेको छ, कमिडियन प्रनेश गौतमले चलचित्र ‘वीर विक्रम–२’ को समीक्षात्मक भिडियोमा निकिताको नाम लिएका थिए। भिडियो विवादास्पद हुँदा धेरै प्रतिक्रिया आयो, निकिता यो चलचित्रको हिस्सा पनि थिइनन्।

निकिताले यस विषयमा भनिन्, ‘मलाई थाहा छैन मेरो नाम किन लिइयो? मैले केही समय अगाडि इस्टाग्राममा स्टेटस राखेको थिए जहाँ मैले मलाई फेक भनिएको विषयमा लेखेको थिए। कसैलाई मन पराउनु, कोही अति प्रिय हुनु र एकमात्र राम्रो भएर अरुलाई नराम्रो भनिनु फरक विषय हुन्। मेरो इन्स्टाग्राम पोस्टपछि मैले कुरा सक्काए, त्यसपछि चलचित्रको समीक्षा अनि अरु-अरु भइराखे। मेरो मिम नेपालका एक प्रयोगकर्ताहरुसँग एकपल्ट भेट भएको हो। हेर्दा बदला लिएको जस्तो देखिन्छ तर किन मलाई थाहा छैन।’

‘समस्या समाधान गर्ने कानुनी पाटोहरु पनि छन्। तर मैले लेखे सक्काए, कानूनी रुपमा अगाडि बढ्नु मलाई परिपक्व निर्णय लागेन। तर यहाँ कसैलाई बुझ्नु नै छैन, केही व्यक्तिहरुको यस्तो समूह छ, जसले मात्र जवाफ फर्काउछन्। उनीहरुलाई जित्न सकिँदैन। उनीहरुलाई लाग्छ कमेन्ट गर्ने अधिकार हो, तर मेरो कमेन्टले अफ्ठेरो पारेको छ कि भनेर सोचिँदैन। म धेरैजसो कमेन्टमा प्रतिक्रिया दिँदिन।’

निकिता अगाडि भन्छिन्, ‘केही हदसम्म हामीले पनि सहनुपर्छ किनभने, हामी ‘पब्लिक फिगर’ हौँ। तर हामी पनि मान्छे हो, हाम्रो पनि भावना हुन्छ। यसले मानिसलाई निराशातर्फ धकेल्छ, सबैलाई ‘जसले जे भने पनि मलाई केही फरक पर्दैन’ भन्ने लाग्दैन। मलाई लाग्छ, यस्ता कारणले मानिसहरु आत्महत्याको अवस्थासम्म पुग्छन्।’

एक समयमा मैले सोचेँ ‘अब म सक्दिन।’ हामी सुनिराखेका छौँ, मानिसहरु ‘बुल्ली’ भएको कारण आत्महत्या गरिरहेका छन्। हामीलाई त धेरै कुरा हेर्नुपर्छ। कहिलेकाहिँ कमेन्टहरु व्यक्तिगत भइदिन्छन्। यसले साँच्चै नै अप्ठ्यारो पार्छ।’

निकिताले सामाजिक सञ्जालमा धेरै माया पाउनुलाई वास्तविकताभन्दा फरक भएको बताइन्। उनले यो कसैसँग जोडिने माध्यम हो, राम्रो पनि छ तर आफ्नो समस्या बुझ्ने र समस्या भन्न मिल्ने मानिसहरु औँलामा गन्न सकिने मात्र रहने बताइन्।

उनले आफ्नो समस्या परिवार र साथीलाई बताउने गरेको बताइन्। उनलाई परिवारले जस्तो परिस्थिति आए पनि परिवारले भन्छ, ‘तिमीले रोजेको बाटो यही हो, तिमी बलियो हुनुपर्छ।’

निकिता अहिले चलचित्र प्रमोसनमा छिन्। उनी अभिनित चलचित्र ‘साङ्लो’ माघ २४ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ।

अन्त्यमा उनले भनिन्, ‘हामी विभिन्न क्षेत्रमा छौँ तर हामी सबैमा भावना छ, एकले अर्काको भावनाको कदर गर्नुपर्छ। पत्थर दिल कोही हुँदैन। हामीले कसैलाई केही भन्दा ख्याल गर्नुपर्‍यो, मलाई यस्तो भन्दा कस्तो लाग्छ?’

विश्वमा मानसिक रोग, विशेषगरी डिप्रेशनको समस्या बढेर आएको छ, शायद तपाईँ त्यसमा सङ्ख्या थप्न प्रेरणा दिइराख्नुभएको छ। तपाईँलाई म मन पर्दैन, ठीक छ, कमेन्ट नगर्नुस्  सबैले सबैलाई माया गरौँ।

राम्रो लेख्न सक्नुहुन्न भने नराम्रो पनि नलेख्दिनुस्।

तस्बिरहरु : बर्षा शाह/देश सञ्चार