काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदी

‘आस्था राउतको दुर्व्यवहारलाई प्रहरीले कसरी सामान्य रुपमा लिन सक्छ?’

काठमाडौँ: गायिका आस्था राउत प्रकरणमा नेपाल प्रहरी यतिबेला विवादित छ। अभद्र व्यवहार कसुरमा राउत काठमाडौँ प्रहरी परिसरको हिरासतमा छिन्। प्रहरीले जिल्ला प्रशासन कार्यालयबाट बुधबार चार दिनको म्याद लिएर उनीमाथि अनुसन्धान सुरु गरेको छ।

त्रिभुवन विमानस्थलमा सुरक्षा जाँचमा खटिएकी महिला कर्मचारीले आफूमाथि दुर्व्यवहार गरेको भन्दै राउतले सामाजिक सञ्जाल फेसबुकमार्फत आक्रोश व्यक्त गरेकी थिइन्।

फेसबुक लाइभमा उनले प्रहरीका तल्लो दर्जाका कर्मचारीलाई राम्रो व्यवहार गर्न नआएको भन्दै संगठनप्रति नै आक्रोश व्यक्त गरेकी थिइन्। फेसबुक लाइभ भाइरल भएपछि प्रहरीले दुर्व्यवहार भएको भनिएको अवस्थाको सिसिटिभी फुटेज मात्र सार्वजनिक गरेन, राउतलाई दुर्व्यवहार गरेको भनिएकी प्रहरी जवान रमिता श्रेष्ठलाई जाहेरी पनि हाल्न लगायो राउतविरुद्ध।

त्यसपछि प्रहरीले काठमाडौँ जिल्ला प्रशासन कार्यालयबाट राउतविरुद्ध पक्राउ पुर्जी जारी गरेको थियो। आइतबार मात्र स्वदेश फर्किएकी राउत सोमबार बिहान आफैँ काठमाडौँ प्रहरी परिसरको सम्पर्कमा पुगेकी थिइन्।

घटनालाई लिएर राउतले  सामाजिक सञ्जालमार्फत माफी मागेपनि प्रहरीले मुद्दा चलाएरै छाड्यो। नेपाल प्रहरीले गत वर्ष प्रहरी-समुदाय साझेदारी कार्यक्रम सुरु गर्दा केन्द्रीय संयोजक रहेका एसएसपी उत्तम सुवेदी हाल काठमाडौं प्रहरी प्रवक्ता छन्।

समुदाय-प्रहरीको सम्बन्धलाई बलियो बनाउन सुरु गरिएको यो अभियानमा सुवेदी जिल्ला प्रमुख भएर आएपछि पनि सक्रिय छन्। तर राउत प्रकरणपछि प्रहरीले आफ्नो ‘इगो’ देखाएको भन्दै सुवेदीको समेत आलोचना भइरहेको छ। आस्था प्रकरणलाई लिएर देशसञ्चारले एसएसपी सुवेदीसँग कुराकानी गरेको छ।

१. प्रहरी संगठनविरुद्ध बोलेकै भरमा चर्चित गायिका आस्था राउतविरुद्ध मुद्दा चलाएर प्रहरीले आफ्नो ‘इगो’ देखायो भनिँदैछ नि? 

– हामीले पब्लिकले वा अरु कोहीले के भन्यो भनेर मुद्दा चलाउने वा नचलाउने भन्ने हुँदैन। एक जना प्रहरी जवानले आफूविरुद्ध दुर्व्यवहार भएको भनेर उजुरी दिएपछि हामीले अनुसन्धान सुरु गरेका हौँ। त्यसै अनुसार कारबाही अगाडि बढाइएको हो। मुख्य कुरा महिला कर्मचारीविरुद्ध दुर्व्यवहार भएको छ। दोस्रो कुरा बोलेको विषय पनि हो। बोल्ने भन्दैमा कहाँ कसरी बोल्ने भन्ने पनि ख्याल गर्नुपर्छ कि!

२. तपाईको मतलब संगठनले नै गम्भीरतापूर्वक लिएको भन्ने हो ? 

– पक्कै पनि। यो त संगठनको इस्यु हो। संगठनको एउटा कर्मचारीमाथि भएको दुर्व्यवहारको इस्यु हो। संंगठनले आफू र आफ्ना कर्मचारीविरुद्ध भएको दुर्व्यवहारलाई कसरी सामान्यरुपमा लिन सक्छ?

३. प्रहरीको यस्तो ‘एक्सन’ले समुदायसँगको दुरी घटाउने तपाईहरुको अभियानलाई असर गर्दैन? 

-मलाई त्यस्तो लाग्दैन।

४. कानुनले समेत मेलमिलापलाई प्राथमिकता दिएको छ। राउतले घटनालाई लिएर माफी मागिसकेकी थिइन् तर प्रहरीले मुद्दा चलाउनुको विकल्प देखेन नि? 

-गल्ती गरेर माफी माग्ने सबैलाई छुट दिन सकिन्न। जाहेरवालासँग माफी त मागिएको थिएन नि।  न त जाहेरवालाले नै माफी दिएकी थिइन्। जाहेरी दर्ता भएको र पक्राउ पुर्जीसमेत जारी भएकाले प्रक्रियामा अगाडि बढ्नुको विकल्प थिएन।

५. तर, पक्राउ पुर्जी जारी भएका कतिपय घटनामा अदालत वा जिल्ला प्रशासनमा मुद्दा नपुगी टुंगिएका उदाहरण छन्। तर बोलेको विषयलाई लिएर राउतलाई  प्रहरी मुद्दा चलाएर एक रात भए पनि हिरासतमा राख्ने मनस्थितिमा देखियो। 

– हामीले  जिल्ला प्रशासन कार्यालयबाट हिजैमात्र चार दिनको म्याद लिएपनि हिजै अनुसन्धान सकेर सरकारी वकिललाई प्रतिवेदन  बुझाएका थियौँ। तर सबै प्रक्रियासक्न हिजो सम्भव भएन।

माघ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू