आस्था राउतविरुद्ध काठमाडाैँ जिल्ला प्रशासनमा अभियोग पत्र दर्ता

तस्बिर: बर्षा शाह/देश सञ्चार।

काठमाडौँ– अभद्र व्यवहार गरेको अभियोगमा प्रहरी हिरासतमा रहेकी गायिका आस्था राउतविरुद्ध प्रहरीले जिल्ला प्रशासन कार्यालयमा अभियोग पत्र दर्ता गरेको छ।

प्रहरीले उक्त प्रकरणबारेको अनुसन्धानपछि रायसहितको प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो।

सोही प्रतिवेदनका आधारमा मंगलबार काठमाडौँ जिल्ला प्रशासन कार्यालयमा अभियोग पत्र दायर गरिएको जिल्ला सरकारी वकील कार्यालयले जानकारी दिएको छ।

अभियोग पत्र दर्ता भएसँगै प्रहरीले राउतलाई थुनछेक प्रयोजनका लागि काठमाडौँ जिल्ला प्रशासन कार्यालय पुर्‍याएको छ।

सरकारी वकिलमार्फत अभियोग पत्रसहित राउतलाई जिल्ला प्रशासन कार्यालय लगिएको हो। प्रमुख जिल्ला अधिकारीले थुनछेकको बहसपछि धरौटीमा छाड्ने आदेश गर्न सक्नेछन्। सामान्यतया अभद्र व्यवहारको थुनछेक आदेशमा धरौटीमा छाड्ने गरिन्छ।

प्रहरीमाथि दुर्व्यवहार गरेको अभियोगमा जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार राउतलाई चार दिन थुनामा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको थियो।

आस्था राउत सोमबार बिहान आफै प्रहरी परिसर काठमाडौँ पुगेकी थिइन्। त्यसपछि प्रहरीले अनुसन्धानका लागि थप समय माग गर्दै राउतलाई जिल्ला प्रशासन कार्यालय काठमाडौँमा प्रस्तुत गरेको थियो। परिवारका सदस्यसहित प्रहरी कार्यालयमा उपस्थित भएकी थिइन्।

गायिका राउत आइतबार बेलुका भारतबाट नेपाल आएकी हुन्। आस्थामाथि प्रहरीले बदला लिन खोजेको भन्दै सामाजिक सञ्जालमा चर्को आलोचना भएको छ।

माघ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्