सेवा प्रभावकारी बनाउन रिहारमा पशु सेवा केन्द्र स्थापना

उपचार नपाएरै मर्छन् पशु चौपाया

दाङ-लमही नगरपालिका वडा नं. ९ तेलीया निवासी रञ्जु चौधरीले पालेका मध्य चार ओटा बाख्रा हिड्नै नसक्नेगरी बिरामी भए।उपचार गर्न लमही लैजानु पर्ने बाध्यता।

गाउँ देखी झण्डै तीस किलोमिटर टाढा पशु सेवा केन्द्र छ। समयमा उपचार गर्न लग्न सकिएन। अर्को दिन घरमै पशु प्राविधिक आए।बाख्रालाई जाँच गरे । सुई लगाइ दिए। तर, निको भएन। विक्रि गर्न तयारी अवस्थामा रहेका बाख्रा मर्दा ४० हजार रुपैयाँ घाटा लाग्यो।

रिमा केसीको गोठभरी बाख्रा छन्। बाख्रालाई ज्वरो आउन थाल्यो भने केसीलाई बाख्राको ज्वरो कसरी निको पार्ने भन्ने चिन्ता मात्रै हुन्छ। एउटा बाख्रामा सल्कीएको रोग अर्को बाख्रामा चाँडै सर्ने भएकाले उनलाई अरु बाख्रा पनि रोगाउने हुन की भन्ने चिन्ताले सताउने गरेको हो।

गत बर्ष एउटा बोका उपचार नपाएर मर्‍यो। किसानले आय आर्जनको लागी बाख्रा, कुखुरा, बंगुर, गाई, भैंसी पाल्ने गरेका छन्। तर, समयमा पशु चौपायामा लाग्ने रोगको निदान हुन नसक्दा कतिपय किसानको गोठनै रित्तिने समस्या छ।

लमही नगरपालिका वडा नं. ८ र ९ का पशुपालक किसानले भोग्दै आएका यस्तै समस्या समाधान गर्न रिहारमा पशु सेवा केन्द्र स्थापना गरिएको छ।‘यहाँका किसानले पालेका पशुले समयमा उपचार नपाउने समस्याको अन्त्य अव हुन्छ’पशु सेवा उप–शाखा लमहीका प्रमुख शिवराज न्यौपानेले भने-‘लमहीबाट जे सेवा पाइन्छ। त्यही सेवा अव रिहारमा रहेको सेवा केन्द्रबाट पाइन्छ।’ वडा नं. ९ लाई नगरपालिकाले बाख्रा पकेट क्षेत्र समेत घोषणा गरेको छ।

औषधी उपचार, पशु प्रजनन्, घाँसको विउ विज वितरण, बाख्रा पकेट कार्यक्रम, नश्ल सुधार, घरदैलोमा प्राविधिक सहयोग, खोप लगायतका अन्य कार्यक्रम सेवा केन्द्रबाट गरिने छ। सेवा केन्द्रमा एकजना अधिकृत स्तरको प्राविधिक र अन्य कर्मचारी खटिने लमही नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत गेहेन्द्रबहादुर डाँगीले जानकारी दिए।

‘सेवा प्रदायक निकाय सेवा ग्राही नजिक पुग्ने अवधारणा अनुसार रिहारमा सेवा केन्द्र खोलिएको हो’उनले भने–‘किसानलाई घरदैलोमा सेवा पुर्‍याउने अवधारणा अनुसार कार्यपालिकाको बैठकबाट निर्णय भए अनुसार सेवा केन्द्र खोलिएको हो।’

सेवा केन्द्रको नगर प्रमुख कुलबहादुर केसीले उद्घाटन गरे।‘चुनावमा जे प्रतिवद्धता गर्‍यौं। त्यही अनुसार अघी बढेका छौं’उनले दावी गर्दै भने–‘आर्थिक समृद्धिको लागी व्यवसायिक पशु पालननै हुनुपर्छ। त्यसका लागी किसानलाई सेवा पुर्‍याउन सेवा केन्द्र खोलिएको हो।’

माघ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्