आस्था प्रकरणमा प्रहरी जे देखाउन चाहन्थ्यो, सफल भयो

तस्बिर: बर्षा शाह/ देश सञ्चार।

काठमाडौँ– काठमाडौँ जिल्ला प्रशासन प्रमुखले चार हजार धरौटीमा छाड्ने आदेश दिएपछि बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयको भवनबाट बाहिर निस्कन लाग्दा गायिका आस्था राउतले पहिला चस्मा लगाइन्, अनि प्राङ्गणमा आएर सन्चारकर्मीसँग बोल्न सुरु गरिन्। उनका केही भुलसुधार र सुझावहरु अभिव्यक्त भए।

– प्रहरी मेरो साथी गलत भन्ने लागेको थियो तर म गलत रहेछु। एउटा व्यक्तिको व्यवहारलाई लिएर मैले प्रहरी संगठनलाई ‘जनरलाइज’ गर्नु  गलत रहेछ।

– यस घटनाबाट मैले सबक सिकेकी छु। सामाजिक सञ्जालमा बोल्दा, लेख्दा ख्याल गर्नुपर्ने रहेछ। यसबाट आस्था राउतले मात्र होइन हरेक नेपालीले सबक सिक्नुपर्छ। कानुनभन्दा माथी कोही पनि छैन। न कलाकार नत प्रशासन।

– अहिले यूट्युब च्यानल हेर्दा मलाई ज्वरो आउँछ। कृपया ब्यापार हुन्छ भनेर जेपनि नदेखाउनुस्, नलेख्दिनुस्। ‘बुम’ बोक्दैमा कोही पत्रकार हुँदैन। अध्ययन गर्नुस्।

खासमा, प्रहरी आस्थालाई मुद्धा चलाएर, एक रात हिरासतमा राखेर यही सन्देश दिन चाहन्थ्यो। प्रहरीले भने बमोजिम आस्था मान्न र स्वीकार्न तयार भइन्। सोमबार अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयबाट हिरासतमा राख्न चार दिनको म्याद पाएको प्रहरीले पहिलो दिनमै अनुसन्धानका सबै प्रकृया पूरा गरी सरकारी वकिललाई अनुसन्धान प्रतिवेदन बुझाएको थियो।

‘हामीले सोमबार नै प्रकृया पूरा गर्ने प्रयास गरेका थियौँ तर प्राविधिक समस्याले त्यो हुन सकेन’,  आस्थालाई चाँडो हिरासत मुक्त गर्न भएको प्रयासबारे काठमाडौँ प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदी भन्छन्।

अभद्र कसुरका अधिकांश मुद्दामा जिल्ला प्रशासन प्रमुखले धरौटीमा छाड्ने आदेश दिन्छन्, साधारण तारेखमा छाड्ने आदेश हतपत आउँदैन। अनुमान सहज थियो, प्रहरीले चाँडोभन्दा चाँडो अनुसन्धान प्रतिवेदन बुझाए आस्था त्यति नै चाँडो हिरासत मुक्त हुनेछिन्।  प्रहरीले चाहेको थियो भने २५ दिनसम्म हिरासतमा राख्न सक्थ्यो।

रिहा भएपछि, प्रहरीको काम कारबाही चाँडो भएको प्रति संकेत गर्दै आस्था भन्दै थिइन्, ‘प्रहरी मैले सोचेको भन्दा फरक रहेछन्। उनिहरुको व्यवहार लचिलो र उदार पाएँ।’

दुई साता अघि त्रिभुवन विमानस्थलमा सुरक्षा जाँचका क्रममा महिला प्रहरी जवानले दुर्व्यवहार गरेको भन्दै आस्थाले फेसबुक लाइभमार्फत ती महिला जवान र प्रहरी संगठनप्रति आक्रोश व्यक्त गरेपछि उक्त घटना’ आस्था राउत प्रकरण’ बनेको थियो।

प्रहरीले दुर्व्यवहार भएको भनिएको अवस्थाको सीसीटिभी फुटेज बाहिर ल्यायो। यसले सामाजिक सन्जाल तात्यो। आस्था र प्रहरी दुवैको पक्ष/विपक्षमा मत देखियो। तर आफ्नो संगठन र तल्लो दर्जाका कर्मचारीलाई सामाजिक सन्जालमार्फत गालीगलौज र बेइज्जत गरेको भन्दै प्रहरी नेतृत्व आस्थाविरुद्ध कानुनी कारबाहीको मनस्थितिमा पुग्यो।

विमानस्थलमा आस्थालाई सुरक्षा जाँच गर्ने प्रहरी जवान रमिता श्रेष्ठलाई अभद्र व्यवहारमा आस्थाविरुद्ध जाहेरी दिन लगाइयो र तत्कालै आस्थाविरुद्ध जिल्ला प्रशासन कार्यालयबाट पक्राउ पुर्जी लियो।

व्यावसायिक कामका लागि भारत पुगेकी आस्थाले सामाजिक सन्जालबाटै माफी मागिन्। तर जाहेरी दर्ता भएको र पक्राउ पुर्जी पनि जारी भएको भन्दै आस्थाविरुद्ध कानुनी कारबाही गर्ने अडानमा देखियो प्रहरी।

जाहेरी दर्ता र पक्राउ पुर्जी जारी भएका धेरै घटना अदालत वा जिल्ला प्रशासन कार्यालय नपुगी टुंगिएका पनि छन् तर त्यसरी टुंग्याउने पक्षमा देखिएन प्रहरी। सोमबार प्रहरी सम्पर्कमा आएकी आस्थालाई जिल्ला प्रशासन कार्यालय पुर्‍याइएर चार दिनको म्याद लिँदै प्रहरीले आफ्नो ‘बल’ देखायो। एक दिन हिरासतमा राख्यो र भोलिपल्टै हिरासत मुक्त हुने बाटो तय गरिदियो।

सामाजिक सन्जालमा आफूले बोलेको विषयलाई लिएर आस्थाले गल्ति स्वीकार त गरिन् तर सुरक्षा जाँचलगायतका काममा प्रहरीबाट आगामी दिनमा राम्रो व्यवहार हुन सक्नेबारे केही बोलिनन्। उसो त प्रहरीले विमानस्थलमा भएको उक्त घटनामा प्रहरीबाट भएको कमजोरीलाई सार्वजनिकरुपमा स्वीकार गरेको पनि छैन।

 

माघ १४, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्