पर्यटक भित्रिने रुपन्देहीको नाकामा छैन कोरोना भाइरस परीक्षण गर्न हेल्थ डेस्क

बुटवल – कोरोना भाइरस फैलिन नदिन उच्च सतर्कता अपनाउनुपर्ने भए पनि स्थल मार्गबाट सबैभन्दा बढी पर्यटक भित्रिने नाका रुपन्देहीमा कुनै चासो छैन ।

रुपन्देहीको बेलहिया नाकाबाट स्थलमार्ग हुँदै सबैभन्दा पर्यटक भित्रिन्छन् । यो नाकाबाट श्रीलङ्का, थाईल्याण्ड, म्यानमार र भियतनामपछि चीनबाट धेरै पर्यटक आउने गरेको तथ्याङ्कले दखाएको छ।

तर, अत्याधिक पर्यटक भित्रिने नाका बेलहियामा कोरोना भाइरस परीक्षण गर्ने हेल्थ डेस्क स्थापना गरिएको छैन । चीनमा कोरोना भाइरसको संक्रमण अत्याधिक रुपमा बढे पनि सरकारले सीमा क्षेत्रमा अहिले सम्म पर्यटकको स्वास्थ्य जाँचका लागि हेल्थ डेस्क स्थापना गरेको छैन ।

जसले गर्दा नेपालमा पनि कोरोना भाईरसको जोखिम बढेको छ । चीनमा कोरोना भाइरसको संक्रमण फैलिएसँगै नेपाल–चीनको सिमानाका रसुवागढी नाका बन्द गरिए पनि अन्य नाकामा भने सामान्य सतर्कता समेत अपनाईएको छैन ।

बेलहिया नाका हुँदै सन २०१८ मा चीनबाट ५ हजार २५ जना पर्यटक आएका थिए भने सन २०१९ मा ६ हजार १ सय ८ जना पर्यटक आएका थिए । २०१८ को जनबरीमा ५ सय ८, २०१९ को जनवरीमा ६ सय ४८ आएका थिए भने २०२० को जनवरी २८ सम्ममा ५ सय ४७ जना आएको अध्यागमन कार्यालय बेलहियाका प्रमुख गिरिराज खनालले जानकारी दिए । उनले प्रत्येक दिनजसो चीनबाट पर्यटकहरु आउने गरेको बताए ।

सिमानाकामा पर्यटकको स्वास्थ्य परीक्षणका लागि हेल्थ डेस्कको स्थापना नहुँदा आफूहरुलाई समेत जोखिम बढेको उनले उल्लेख गरे ।

‘पर्यटकहरु नेपाल प्रवेश गरेपछि सबैभन्दा पहिले अध्यागमन कार्यालय आउँछन्, उनीहरुको पहिलो सम्पर्क अध्यागमनका कर्मचारीसँगै हुन्छ’, प्रमुख खनालले भने, ‘संक्रमित पर्यटक भए हामी पनि जोखिममा पर्छौ ।’ उनले स्वास्थ्य परीक्षण विना नै पर्यटकलाई नेपाल प्रवेश गराउँदा कोरोना भाइरसको जोखिम हुने हुँदा हेल्थ डेस्कको स्थापना गर्नु पर्नेमा जोड दिए ।

रुपन्देहीका निमित्त प्रमुख जिल्ला अधिकारी भरतकुमार शर्माले ४–५ दिन भित्रमा सीमा नाकामा हेल्थ डेस्क स्थापना गरिने बताएका छन् । उनले सीमा क्षेत्रमा हेल्थ डेस्क स्थापना गर्ने विषयमा छलफल चलिरहेको उल्लेख गर्दै केही दिन भित्रै डेस्क स्थापना गरिने बताए ।

चीनमा कोरोना भाइरसको संक्रमण फैलिएपछि भारतीय पक्षले भने सिमा नाका सुनौलीमा हेल्थ डेस्क स्थापना गरेको छ । भारतीय पक्षले चिनियाँ पर्यटकलाई स्वास्थ्य परीक्षण गरेर मात्र पठाउने गरेको बताएको छ ।

माघ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू