सिजनल फ्लु प्रभावित क्षेत्रमा उपचारका लागि चिकित्सकको टोली पुग्यो

सिमकोट – डेढ महिनादेखि सिजनल फ्लु प्रभावित हुम्ला चंखेली गाउँपालिकामा औषधिसहित चिकित्सको टोली पुगेर उपचार सुरु गरेको छ । पटक–पटकको हिमपात पछि चिसो अत्याधिक बढ्दा फैलिएको सिजनल फ्लु नियन्त्रणका बाहिर छ ।

मुगु र हुम्ला जिल्ला अस्पतालबाट औषधिसहित पुगेको चिकित्सकको टोली सिजनल फ्लु बढी प्रभावित चंखेली गाउँपालिकामा पुगेर उपचार सुरु गरेको जिल्ला अस्पतालका सिनियर अनमी सरिता बोहराले बताईन् ।

रोग प्रभावित क्षेत्रमा पुगेको टोलीले पहिलो दिन २१५ जना बिरामीलाई उपचार गरेको उनले बताईन् । रोग प्रभावित क्षेत्रमा पुगेको चिकित्सक टोलीले उपचारमा आउने सबै बिरामीको लक्षण हेर्दा सिजनल फ्लु भएको पाइएको बताएको छ ।

टोली पालिकाका सबै वडा र गाउँ बस्तीमा पुग्नेछ । उपचारका लागि टोलीमा हुम्ला जिल्ला अस्पतालबाट डाक्टर नविन रोकायासहित तीन जनाको टोली र मुगुबाट डाक्टर अमितराज गिरीसहित तीनजनाको टोली पुगेको हो ।

फ्लु फैलिएयता पाँच जनाको मृत्यु भइसकेको छ । जिल्ला अस्पतालमा पनि दैनिक ६० जना भन्दा बढी बिरामीहरु उपचारका लागि आउने गरेका छन् ।

माघ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू