बाँके र बर्दियालाई कर्णालीमा मिसाउने पक्षमा जनप्रतिनिधि

नेपालगञ्ज – बाँके र बर्दियलाई कर्णाली प्रदेशमा मिसाउन यी दुई जिल्लाका जनप्रतिनिधिले छलफल गरेका छन्।

५ नम्बर प्रदेशको पश्चिमी कुनामा रहेका बाँके र बर्दियाका जनप्रतिनिधिले कर्णाली प्रदेशमा मिसिँदा नै दुई जिल्लाले आर्थिक समृद्धि र विकासमा फड्को मार्ने निष्कर्ष निकालेका छन् । नेपालगञ्जबाट सुरु भएको बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउने अभियानलाई दुवै जिल्लाको गाउँगाउँमा पुर्‍याउन जनप्रतिनिधिहरु एकमत भएका छन् ।

नेपालगञ्जमा आयोजित छलफलमा बाँके र बर्दियाका जनप्रतिनिधि, राजनीतिज्ञहरुले बाँके र बर्दिया कर्णालीमा मिसिदा हरेक हिसावले फाइदा रहेकाले गाउँगाउँमा पुगेर जनतालाई जागरुक गराउनु पर्नेमा जोड दिए ।

बाँके र बर्दियाका सबै पालिकाबाट कर्णालीमा मिसिने प्रस्ताव पारित गरेर अघि बढ्दा अझ राम्रो हुने भन्दै त्यसको गृहकार्यमा थालिएको छ । अभियान्ताहरुले जनता जागरुक भइसकेपछि मात्रै आन्दोलनमा जाने रणनीति बनाएका छन् । अभियान चलाइरहदा राजनीतिक दलको एक्यबद्धतालाई जोड्दै जाने अभियान्ताहरुले बताए ।

कर्णाली प्रदेशमा जादा बाँके र बर्दियालाई हुने फाइदाका बुँदाहरु टिपेर पालिकाहरुमा टाँस्ने र त्यसलाई छलफलको विषय बनाइदैछ । ‘हामी किन कर्णाली प्रदेशमा जाने ?’ भन्ने बुँदाहरु सबै पालिकामा राख्दा जनताले थाहा पाउने र आफै जागरुक हुने बैठकमा छलफल गरिएको छ ।

प्रदेश सांसद मो. याकुव अन्सारीले ५ नम्बर प्रदेशको राजधानी कहाँ हुन्छ भन्ने सरोकार नराखेर बाँके र बर्दियाका जनता कर्णालीमा जान तयार हुनुपर्ने बताए । उनले बाँके र बर्दियाको कर्णालीसँग आर्थिकमात्रै होइन, भावनात्मक सम्बन्ध रहेको बताए ।

नेपालगञ्जका मेयर डा. धवलशमशेर राणाले अर्को बैठक बर्दियामा बसेर सबै तहलाई समेट्दै अघि बढ्नु पर्ने बताए । ‘यो राजनीतिक मुद्दा होइन, विकास र समृद्धिको मुद्दा हो, बाँके र बर्दियाको हितको कुरा हो’, मेयर राणाले भने, सबैलाई बुझाएर अघि बढ्नु पर्छ ।’

बर्दिया गुरुवा गाउँपालिकाका प्रमुख जमालसिंह केसीले गाउँपालिकाले बर्दियालाई कर्णालीमा मिसाउनु पर्छ भनेर निर्वाचित हुने बित्तिकै पारित गरेको बताए । ‘हामीले त बर्दियालाई कर्णालीमा मिसाउनु पर्छ भनेर प्रस्ताव नै पारित गरिसकेका छौँ’, अध्यक्ष केसीले भने, बाँके र बर्दिया सँगसँगै जानु पर्छ ।’

बर्दिया मधुवन नगरपालिकाका मेयर गणेश (कृष्ण) केसी, बाँकेको जानकी गाउँपालिकाका प्रमुख रामनिवास यादव, नेपालगञ्ज उपमहानगरपालिकाका उपमेयर उमा थापा, बर्दिया गुलरिया नगरपालिकाका उपमेयर सुशीला गिरी, गेरुवाका उपमेयर हिमाकुमारी थारु, खजुरा गाउँपालिकाका उपप्रमुख एकमाया विकले बाँके र बर्दियाको भविष्य कर्णालीमा जादा नै हुने बताए ।

नेपालगञ्जमा बाँके र बर्दियालाई कर्णाली मिसाउन एउटा समन्वय समिति बनेको छ । यसलाई बिस्तार गर्दै लैजाने नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता प्रमोद रिजालले बताए ।

अभियान्ताहरु रत्न खत्री, सुधांशु कोइराला, विनोद कर्ण, रविन्द्र कर्ण, ऋषि देवकोटा, वडाध्यक्ष सफिक बेहना, निरञ्जन सिजापतिलगयतको उपस्थिति रहेको सर्वपक्षीय भेलामा दुई महिनासम्म निरन्तर छलफल र अन्तरक्रिया गर्दै राजनीतिक दललाई सहमति ल्याएर आन्दोलन गर्ने रणनीति बनाइएको छ ।

छिट्टै पेशागत संघ संगठन र सामाजिक संघ संस्थाका प्रतिनिधिसँग छलफल गर्ने निर्णय भएको छ । आन्दोलन गर्नुअघि हस्ताक्षर गरेर प्रधानमन्त्रीलाई बुझाउने रणनीति बनाइएको छ ।

माघ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्