ट्रम्पले नेतान्याहूको साथमा उभिएर सार्वजनिक गरे मध्य पूर्व सम्बन्धी योजना

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मध्य पूर्वमा शान्ति स्थापना गर्ने सम्बन्धी योजना प्रस्तुत गरेका छन्। उनको यो योजना लामो समयदेखि प्रतिक्षा गरिएको थियो ।
ट्रम्पले प्रस्तुत गरेको योजनामा जेरुसेलमलाई इजरायलको अविभाजित राजधानीका रुपमा पेश गरिएको छ।
ट्रम्पले स्वतन्त्र प्यालेस्टाइनी राज्यको प्रस्ताव गरेका छन् । यस्तै वेष्ट ब्यांकको विवादास्पद बस्तीलाई इजरायलको सार्वभौम क्षेत्रमा रुपमा मान्यता दिने ट्रम्पको योजनामा उल्लेख छ ।
राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको साथमा उभिएर ट्रम्पले आफ्नो योजना प्रस्तुत गरेका हुन् । उनले योजना प्रस्तुत गर्दै भने, ‘प्यालेस्टाइनका लागि यो अन्तिम अवसर हुन सक्छ ।’
प्यालेस्टाइनका राष्ट्रपति महमूद अब्बासले ट्रम्पको योजना खारेज गरेका छन् । उनले ट्रम्पको योजना षडयन्त्र रहेको बताएका छन् ।
उनले भनेका छन्, ‘म ट्रम्प र नेतान्याहूलाई भन्न चाहन्छु कि जेरुसेलम बिक्रीमा छैन, हाम्रा सबै अधिकारहरु बिक्रीमा छैनन् र मोलतोलका लागि पनि। र तिमीहरुले प्रस्तुत गरेको योजना षडयन्त्र हो, यो पारित हुने छैन ।’ उनले वेष्ट ब्यांकको रामल्लाहबाट गरेको सम्बोधन टेलिभिजनमा प्रत्यक्ष प्रशारण गरिएको थियो ।
ट्रम्पले प्रस्तुत गरेको योजना उनका ज्वाईँ जेराड कुश्नरको प्रत्यक्षण नेतृत्वमा तयार भएको हो । विश्वमा सबैभन्दा लामो समयदेखि जारी हिंसा अन्त्य गर्ने योजनाका रुपमा लिइएको भए पनि सुरुमै यसमाथि विवाद भएको छ ।
यसअघि मंगलबार हजारौँ प्यालेस्टाइनीले गाजापट्टीमा प्रदर्शन गरेका थिए । वेष्ट ब्यांकमा इजरायली सेनाले आफ्ना सैनिक खटाएको विरोधमा प्यालेस्टाइनीहरुले विरोध प्रदर्शन गरेका हुन् ।