नेकपा केन्द्रीय कमिटि दोस्रो पूर्ण बैठकमा प्रधानमन्त्रीको ब्रिफिङ

‘नेकपा अझै संक्रमणकालीन अवस्थामा छ, तर सरकारले प्रगति गर्‍यो’

बुधबारदेखि सुरु भएको नेकपाको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली। तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

काठमाडौँ – प्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टी अझै पनि संक्रमणकालीन अवस्था रहेको तर सरकारले नेपालीको जीवनस्तर उकास्नेगरी धेरै काम गरेको दाबी गरेका छन्।

सोमबार नेकपाको दोस्रो पूर्ण बैठकलाई सम्बोेधन गर्दै उनले वैचारिक अस्पष्टताका कारण अझै पनि पार्टी संक्रमणकालीन अवस्थामा रहेको र आगामी दिनमा वैचारिक स्पष्टता अति आवश्यक भएको उनले बताए ।

उनले भने, ‘वैचारिक स्पष्टताका लागि अध्ययन गर्नु पर्छ सबै कमरेडहरुले । आँखा खोलेर अघि बढ्नु पर्छ । विगतसँग टाँसिएर होइन ।’

ओलीले भावनामा नभई यथार्थतमा आधारित भएर पार्टीलाई अघि बढाउनु पर्ने बताए।

उनले भने, ‘हामी अहिले पनि अन्तरघुलित हुन बाँकी नै छ । भावनामा होइन यथार्थतमा पुगेर अघि बढनु पर्छ । सबै सदस्यले त्यसमा विचार पुर्‍याउँ। कतिपय आकर्षक कुराहरु मात्रै होइन गन्तव्यमा कसरी पुग्ने त्यो हेर्नु पर्छ । कहिलेकाँही हामीलाई क्रान्तीकारी कुरा गर्न मन लाग्छ । त्यसरी अघि बढ्न सकिँदैन । भ्रमपूर्ण अभिव्यक्तिहरु दिन हुन्नँ।’

तर ओलीले सरकारले केही गरेन भन्ने हल्ला पार्टी पंक्तिहरुले चलाउनु राम्रो नभएको बताएका छन्।

सरकारको कामकारवाहीको मामलिामा कुनै पनि सूचिमा नेपाल नकारात्मक अवस्थामा नरहेकाले त्यसरी हल्ला गर्न नहुने उनको भनाई थियो।

यो वर्ष भ्रष्टचार नियन्त्रण, व्यापार व्यवसाय, मानवविकास सूचाङ्क, भोकमरी नियन्त्रण, शान्ति सुव्यवस्थाको स्थिति, विधिको शासन, लैगिक समानता, सुखीपना लगायतमा सुधार आएको उनले जानकारी गराएका थिए।

यस्ता सूचाङ्कहरु भविष्यमा झन बढाउन लागि पर्ने र बम पड्काउने र चन्दा असुल्नेहरुलाई पनि नियन्त्रण गर्ने उनले बताए।

यो सरकार गठनपछि लगातार लगानीका लागि प्रतिबद्धता बढेको र अन्तर्राष्ट्रिय व्यापार घाटामा समेत कमी आएको उनको भनाई छ। उत्पादन र उत्पादकत्वमा वृद्धि भएको लगायत अनेक सूचाङ्क प्रसतुत गरेका थिए। ओलीले विकासका लागि विरुवा रोप्ने काम भएको र त्यसलाई फुलाएर छोड्ने उनले बताए।

निर्वाचनपछिका २ वर्षमा असाधारण उपलब्धी हाँसिल गरेको दाबी उनको थियो ।

बुधबारदेखि सुरु भएको नेकपाको केन्द्रीय समिति बैठकमा नेकपा शीर्ष नेताहरु। तस्बिर : बर्षा शाह/देश सञ्चार

तर नेकपा सरकारबिरुद्ध प्रचार आक्रमण छेडिएकोले त्यसलाई हटाउनु पर्ने जिम्मेवारी पार्टी सदस्यहरुको पनि भएको उनले बताएका छन् ।

त्यसलाई युद्ध भन्न नमिल्ने र आफूले युद्ध गर्न समेत नचोहको तर पनि आफूहरुविरुद्ध भएका गतिविधि परास्त गरेर छोड्ने उनको भनाई थियो।

वैचारिक पूर्वाग्रहको कुरा भन्दा माथि उठेर २१ औँ शताब्दीमा संयुक्त राष्ट्रसंघको बडापत्र या अन्य अन्तर्राष्ट्रिय जगतले निकालेका अत्याधुनिक उच्चतम राजनीतिक प्रणालीको मापदण्डमा अघि बढ्न चाहेको बताए।

मानवअधिकार, स्वतन्त्रताको हकका प्रश्नहरुमा तात्कालिक भन्दा पनि आदर्शकारुपमा अंगिकार गरेको उनले बताए।

नेकपाको केन्द्रीय समिति बैठकमा सहभागी नेताहरु। तस्बिर : बर्षा शाह/देश सञ्चार

प्रेस स्वतन्त्रताबारे प्रश्न उठाउनु अर्थहिन भएको भन्दै उनले स्वतन्त्रताका लागि नै आफूहरुले वर्षौँदेखि लड्दै आएको उनले बताए।

नेपालको राजनीतिमा विभिन्न समूहले हतियार उठाएपनि पछि शान्तिपूर्ण राजनीतिको बाटो समातेको उनको भनाई थियो।

भोकमरीको विरोध गरिरहँदा हरेक नागरिक कोही पनि भोकमरीका कारण नमर्ने उनको भनाई छ।

उनले भने, ‘एक प्रकारले भोकमरी अन्त्य भएको घोषणा गरे हुन्छ अब।’

यस्तै सडकबालबालिकाको समस्या समेत अन्त्य भइसकेको दोहोराएका थिए।

आफूहरु भ्रष्टचार र कुशासन अन्त्य गर्ने बाटोहरु निर्माण गरिसकेको उनले बताए।

भ्रमण वर्ष २०२० मा कोरोना भाइरसले धक्का पु¥याउने देखिएको भन्दा पनि आलोचना भएको बताए।

एक जनालाई मात्रै त्यो भाइरसलाई देखिएको उनको दाबी थियो। र, यसबाट जोगिने उपायबारे जनचेतना जगाउन पार्टी कार्यकताहरुले पनि भूमिका खेल्नु पर्ने उनको आग्रह थियो।

ओलीले लामो समयको अन्तरालपछि केन्द्रीय कमिटिको दोस्रो बैठकमा सामेल भए पनि यो बैठक अस्वभाविकरुपले विलम्ब हुन गएको बताए।
पार्टी एकताकाका कारण आवश्यक गति दिन नसक्दा बैठक बिलम्व हुन गएको बताए । तर सरकार या प्रधानमन्त्रीले समय दिन नसकेर बैठक बिलम्व भएको भन्ने गलत नबुझ्न आग्रह गरेका छन्।

अब यस्तो परिस्थिति वा यस्तो बिलम्व नहुनेमा स्पष्ट पार्न चाहेको बताएका छन् ।

माघ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्