चर्चित भारतीय ब्याडमिन्टन खेलाडी साइना नेहवाल भाजपा प्रवेश

एजेन्सी– चर्चित भारतीय ब्याडमिन्टन खेलाडी साइना नेहवाल भारतीय जनता पार्टी (भाजपा) प्रवेश गरेकी छन्। उनले बुधबार दिल्लीस्थित भाजपा मुख्यालयमा पार्टी सदस्यता लिएकी हुन्। साइनाका साथै उनकी बहिनी चन्द्राम्शुले पनि भाजपाको सदस्यता लिएकी छन्।

भाजपाको सदस्यता लिएपछि साइनाले भनिन्, ‘प्रधानमन्त्री दिनरात मेहनत गरिरहनु भएको छ। म पनि आफ्नो देशका लागि खेलिरहेको छु। अब पार्टीमा जोडिएपछि अगाडी पनि धेरै काम गर्न चाहन्छु। यो मेरा लागि गर्वको कुरा हो। म राजनीतिका साथै खेललाई पनि निरन्तरता दिनेछु।’

यस्तै उनकी आमाले पनि छोरी भाजपा प्रवेश गरेकोमा खुशी लागेको बताइन्। उनले भनिन्,‘म बहुत खुसी छु। साइनाले खेलमा धेरै राम्रो गरिन्। उनी राजनीतिमा समेत राम्रो काम गर्नेछिन्। साइना सधैँ कडा मेहनत गरिरहेकी छन् र राजनीतिमा पनि उनको यो मेहनत जारी रहनेछ।’

साइना ओलम्पिकमा पदक जित्ने पहिलो भारतीय ब्याडमिन्टन खेलाडी हुन्। उनले भारतका तर्फबाट तीनवटा ओलम्पिकमा सहभागिता जनाएकी छन्। उनले दोस्रो सहभागितामा सन् २०१२ को लण्डन ओलम्पिकमा कास्य पदक जितेकी थिइन्।

उनले सन् २०१५ को वल्र्ड च्याम्पियनशिपमा रजत र सन् २०१७ मा कास्य पदक जितेकी थिइन्। यस्तै कमनवेल्थ गेम्समा तीन स्वर्ण, एक रजत र दुई कास्य पदक जितेकी छन्। यस्तै एशियन गेम्समा दुई कास्य र एसियन च्याम्यिनसीपमा तीन कास्य पदक जितेकी छन्।

उनलाई सरकारले सन् २०१० मा पद्मश्री र सन् २०१६ मा पद्म भूषण पुरस्कारबाट सम्मानित गरिसकेको छ।

माघ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्