चीनमा काेराेनाकाे प्रकाेपपछि नेपाल प्रवेश गर्ने नाका दुई सातालाई बन्द

रसुवागढी/फाइल तस्बिर।

काठमाडौँ– कोरोना भाइरसले चीनमा महामारीको रुप लिन थालेपछि रसुवागढी नाकाबाट चिनियाँलाई नेपाल प्रवेशमा रोक लगाइएको छ।

बुधबारदेखि १५ दिनसम्म रसुवागढी नाकाबाट चिनियाँलाई नेपाल प्रवेशमा रोक लगाइएको गृहमन्त्रालयले जनाएको छ। गृहमन्त्रालयका अनुसार नेपालबाट चीनतर्फ जान पनि रोक लगाइएको छ।

गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले देश सञ्चारसँग भने,’चीनकाे तिब्बतमा ल्हाेसार चलिरहेकाे, बाटाे पनि बिग्रेकाे र चीनमा काेराेना भाइरसकाे संक्रमण पनि बढिरहेकाे हुँदा रसुवागढी नाका बन्द गरिएकाे हाे। १५ दिनपछि नाका सुचारु हुनेछ।’

चीनमा कोरोना भाइरसका कारण ज्यान गुमाउनेको संख्या १३२ पुगिसकेको छ। यस्तै पाँच हजार ९७४ जना संक्रमण पुष्टि भएको चीनको राष्ट्रिय स्वास्थ्य संगठनले जनाएको छ। चीन बाहेक कम्तिमा १६ देशमा नोवेल कोरोना भाइरसको संक्रमण भेटिएकाे छ।

गएको डिसेम्बरमा चीनको हुबेइ प्रान्तको वुहानमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको थियो। हाल सो क्षेत्रमा सार्वजनिक यातायात बन्द गरिएको छ।

नेपालमा पनि कोरोना भाइरसका संक्रमण भेटिएको छ। स्वास्थ्य मन्त्रालयले गत माघ १० गते पत्रकार सम्मेलन गरेर नेपालमा एक जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएकाे जानकारी दिएकाे थियाे।

मन्त्रालयका अनुसार अन्य केही व्यक्तिलाई काेराेनाकाे संक्रमणकाे आशंकामा निगरानीमा राखिएकाे छ। साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्ककाे समेत स्थापना गरिएकाे छ।

माघ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्