धादिङमा बाटो ढुकेर सामूहिक आक्रमण, गम्भीर घाइते युवकलाई हेलिकप्टरबाट काठमाडौँ ल्याइयो

काठमाडौँ: धादिङको त्रिपुरासुन्दरी-५ सुकौरामा सामूहिक आक्रमणपछि गम्भीर घाइते भएका युवकलाई उपचारका लागि हेलिकप्टरबाट काठमाडौँ ल्याइएको छ।

धादिङ प्रहरी प्रमुख एसपी रविन्द्र रेग्मीले आक्रमणबाट घाइते स्थानीय शम्भु थापालाई हेलिकप्टरबाट राजधानीको ग्राण्डी अस्पतालमा ल्याइएको र उनको स्वास्थ्य अवस्था खतरामुक्त रहेको जानकारी दिए।

प्रहरीका अनुसार स्थानीय दुई जना युवाको समूहले बाटो छेकेर थापालाई आक्रमण गरेका थिए। एसपी रेग्मीले पुरानो रिसइबीका कारण आक्रमण भएको हुन सक्ने बताए। थापालाई आक्रमण गर्ने स्थानीय केशव थापा र बलिराम खड्का फरार छन्। उनिहरुको खोजी भइरहेको जनाइएको छ।

आफू विवाह भोजबाट फर्किरहेको समयमा अचानक आक्रमण भएको घाइते थापाले बताएका छन्।

केही वर्षअघि शम्भु थापाले केशव थापालाई आक्रमण गर्ने क्रममा केशवकी आमालाई लागेर उनी घाइते भएकी थिइन्। केशवले त्यसैको रिसइवी साधेको हुनसक्ने आशंका गरिएको छ। उनीहरु दुवै नेकपाका स्थानीय कार्यकर्ता हुन्।

माघ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्