त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्यप्रति हेलचेक्र्याइँ

‘कोरोना भाइरस’को चेकजाँचका लागि प्रभावकारी छैन विमानस्थलको ‘हेल्थ डेस्क’

‘कोरोना भाइरस’को चेकजाँचका लागि प्रभावकारी छैन विमानस्थलको ‘हेल्थ डेस्क’

सन् २००२ मा चीनमा सार्सको प्रकोप फैलियो। त्यही समयमा विभिन्न देशहरु सँगसँगै नेपाल सरकारले पनि स्वास्थ्यमा सावधानी अपनाउनका लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमास्थलमा हेल्थ डेस्क स्थापना गर्‍यो। चीनबाट नेपाल आएका यात्रुहरुकाे स्वास्थ्य जाँच गर्न सुरु गर्‍यो।

हेल्थ डेस्कले तीन चार महिना काम गर्‍यो। काम राम्रै गरे पनि विमानस्थलमा सुरु गरिएको हेल्थ डेस्क लामो समय टिक्न सकेन। चार महिनामै बन्द भयो।

हेल्थ डेस्क बन्द भएसँगै विमानस्थलमा कसैकाे पनि स्वास्थ्य परीक्षण भएन। यस्तै सन् २००९ मा मेक्सिकोमा ‘स्वाइन फ्लू’ देखा पर्‍यो। त्यही समयमा फेरि विमानस्थलमा बन्द भएको ‘हेल्थ डेस्क’ सञ्‍चालनमा ल्याइयो। तर यो पटक पनि विमानस्थलमा गरिने स्वास्थ्य परीक्षण लामो समय टिक्न सकेन। तीन महिनामै बन्द भयो।

बन्द भएको हेल्थ डेस्क केही विज्ञहरुले फेरि अर्को पटक ब्यूँताउने कोशिस गरे। सन् २०१४ मा अफ्रिकामा इबोलाको प्रकोप फैलिएसँगै बन्द भएको हेल्थ डेस्क सञ्‍चालनमा ल्याउन ८ जना कर्मचारी राखेर काम सुरु गरियो। बिहान, दिउँसो र राति गरी स्वास्थ्यकर्मी तीन सिफ्ट परिचालन गरिएको थियो।

उक्त समयमा अफ्रिकाबाट आएका यात्रुलाई विमानस्थलमा निगरानीमा राखेर चेकजाँचमा उच्च सर्तकता अपनाइएको थियो। अफ्रिकाबाट आएका प्रत्येक व्यक्तिको चेकजाँचसँगै उनीहरुको व्यक्तिगत विवरणहरु राख्न थालियो। जसले गर्दा उनीहरुको स्वास्थ्यमा कुनै पनि स्वास्थ्य समस्या देखा पर्ने वित्तिकै उद्धार गर्न सहज हुने अनुमान गरिएको थियो।

हेल्थ डेस्क अध्यागनभन्दा भित्र हुनुपर्ने इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासिनीले बताए। उनले भने,‘२०१४ मा सुरु गर्दा विमानस्थलले दुई वटा कोठासम्म हामीलाई उपलब्ध गराएको भए राम्रो हुन्थ्यो। तर त्यसो भएन। साँधुरो ठाउँ भएकाले पनि हेल्थ डेस्क त्यति प्रभाकारी हुन सकेको छैन।’

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्व निर्देशक डा. बाबुराम मरासिनी

हेल्थ डेस्क फेरि पुरानै अवस्थामा फर्किदै थियाे। विभिन्न देशबाट आउने यात्रुले विमानस्थलमा स्वास्थ्य परीक्षण बिना नै नेपाल भित्रिन सहज वातावरण बनिरहेको थियो। परीक्षणका लागि कुनै पनि समय उनीहरुले खर्चिनु पर्ने अवस्था थिएन। ‘सिस्टम’ खुकुलो भयो।

अन्ततः फेरि हेल्थ डेस्क निस्क्रिय भयो।

तर एक महिनाअघि चीनमा देखा परेको नोवेल कोरोना भाइरसको संक्रमण फैलिएसँगै सरकारले निस्क्रिय रहेको विमानस्थलको हेल्थ डेस्कलाई जगाएको छ।

चौथो पटक जागेको हेल्थ डेस्कको अवस्था दयनीय छ। जब कुनै पनि भाइरसको त्रास फैलिन्छ, तब मात्र नेपालमा स्वास्थ्य सम्बन्धी सावधानी अपनाउन सुरु गरिन्छ। उदाहरणका लागि केही वर्ष यता बन्द जस्तै रहेको हेल्थ डेस्क भर्खरै सञ्‍चालनमा आएको छ। जहाँ चीनबाट आएका यात्रुहरुमा कोरोना भाइरसको उच्च जोखिम हुने भन्दै ८ जना स्वास्थ्यकर्मीलाई विमानस्थलमा खटाइएको छ। जसलाई तीन सिफ्टमा परिचालन गरिएको छ।

अध्यागमनभन्दा बाहिर सानो आल्मोनियमले ‘पार्टेशन’ गरिएको ठाउँ, जहाँ लेखिएको छ ‘हेल्थ डेस्क’।

हेल्थ डेस्कको अगाडि केही ‘फ्लेक्स स्ट्याण्ड’ राखिएका छन्। विमानबाट ओर्लिएर भित्र पसेका जाेसुकैका पनि आँखा सोझै उक्त ‘फ्लेक्स स्ट्याण्ड’मा ठोकिन्छन्,‘तपाईंमा तल उल्लेखित लक्षणहरु देखा परेका छन् भने कृपया हाम्रो हेल्थ डेस्कमा भ्रमण गर्नु होला।’, लक्षणहरु अंग्रेजी र चिनियाँ गरी दुई भाषामा लेखिएको छ।

उच्च ज्वरो,

टाउको दुख्ने,

खोकी/घाँटी दुखेको,

मांसपेशी दुख्ने,

पखाला,

रक्तस्राव

यिनै लक्षणको मुनी उसैगरी फेरि रोकथामका केही उपायहरु पनि उल्लेख गरिएको छ।

उल्लेखित कुनै पनि लक्षण देखापरेका व्यक्ति सोझै हेल्थ डेस्कतर्फ जान्छन्। अन्यथा उनीहरु आ–आफ्नो बाटो लाग्छन्। विशेषगरी चीनबाट आएका यात्रुहरुमा स्वास्थ्य परीक्षण अनिवार्य हुनुपर्ने विज्ञहरुकाे भनाइ छ।

चीनबाट नेपाल भित्रिरहेका कतिपय यात्रुहरुले विमानस्थलमा आफूलाई कुनै पनि प्रकारको चेकजाँच नभएको बताएका छन्। मंगलबार मात्र चीनबाट कुनै ‘प्रोजेक्ट’काे लागि नेपाल आएका तीनजनाले  विमानस्थलमा आफ्नो कुनै पनि स्वास्थ्य चेकजाँच नभएको बताए।

‘चाइनाबाट आएका प्लेनमा विशेष निगरानी राख्नु पर्ने हो। तर हामीलाई कुनै पनि स्वास्थ्य परीक्षण गरिएन। संक्रमण बढिरहेका बेला हामी पहिला जस्तै गरेर बहिर निस्कियौँ’, ती मध्ये एक जनाले भने।

उसो त नेपालले पर्यटन वर्ष २०२० मनाइरहेको छ। पर्यटन वर्ष मनाइरहँदा विभिन्न देशहरुबाट पर्यटकहरु नेपाल भित्रिरहेका छन्। जसमध्ये  सबैभन्दा धेरै पर्यटक चीनबाट भित्रिने गरेका छन्।

चीनबाट नेपाल आएका एक जनामा संक्रमण भएको पुष्टि भइसकेको छ। तर उनी निको भएर घर गइसकेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता मेहेन्द्र श्रेष्ठले बताएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता मेहेन्द्र श्रेष्ठ

चीनमा अहिलेसम्म कोरोना भाइरसकै कारण १ सय ३२ जनाको मृत्यु भइसकेको छ भने ६ हजार भन्दा बढी संक्रमित रहेका छन्।

नेपालमा कोरोना भाइरसको संक्रमण फैलिएको खण्डमा यसलाई रोक्न गाह्रो हुने डा. मरासिनीले बताउँछन्। तर मन्त्रालयले भने स्वास्थ्य सुरक्षालाई उच्च सतर्कतामा राख्दै शुक्रबारदेखि विमानस्थलमा ज्वरो परीक्षणका लागि ‘थर्मल स्क्यानर’ जडान गरिएको बताएको छ।

चीन तथा कोरोना भाइरसको संक्रमण भेटिएका देशबाट नेपाल आउने यात्रुहरुसँगै भाइरस भित्रिन सक्ने खतरा बढेपछि विमानस्थलमा ‘थर्मल स्क्यानर’ सञ्‍चालनमा ल्याइएको इपिडिमियोलाजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेकलाल कर्णले बताए।

उनले भने,‘विश्व स्वास्थ्य संगठनको समन्वयमा ल्याइएको स्क्यानरले विमानमार्फत आएका यात्रुहरुको शरीरको तापक्रम ‘अटोमेटिक’ रुपमा नाप्छ।’

यही क्रममा ज्वरो देखिएका बिरामीलाई उपचारका लागि अस्पताल लैजाने व्यवस्था गरिएको प्रवक्ता श्रेष्ठले बताए।

स्क्यानर आउनु भन्दा अगाडि हेल्थ डेस्कले संक्रमित देशहरुबाट आएका यात्रुहरुलाई निगरानीमा राखेर उनीहरुको ज्वरो परीक्षण गरिरहेको थियो। तर स्क्यानरले तापक्रम नाप गर्न थालेपछि सबै यात्रुको अटोमेटिक ज्वरो परीक्षण भइरहेको मन्त्रालयले बताएको छ।

श्रेष्ठले भने,‘स्क्यानरले यात्रुको ज्वरो कम्प्युटरको मोनिटरमा देखाउँछ।’

तापक्रम १००.४ फरेनहाइट देखिएमा थप परिक्षणका लागि विमानस्थलबाट अस्पताल पुर्‍याइने व्यवस्था गरिएको छ। जसका लागि विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा राखिएको श्रेष्ठले बताए।

श्रेष्ठका अनुसार थर्मल स्क्यानरमा उच्च तापक्रम भएका व्यक्ति फेला पर्ने वित्तिकै विमानस्थलबाट सिधै अस्पताल पुर्‍याउनका लागि एम्बुलेन्स तयारी अवस्थामा राखिएको छ। उनले भने,‘मन्त्रालयले विमानस्थलमा एम्बुलेन्स तयारी अवस्थामा राख्न र ज्वरोका बिरामी फेला पर्ने वित्तिकै सम्बन्धित व्यक्तिलाई अस्पताल पुर्‍याउन निर्देशन दिइसकेको छ।’

उसो त लक्षण देखा परेका व्यक्तिलाई आइलोशनमा राखेर उपचार सुरु गरिने निर्देशक डा. कर्णले बताए।

इपिडिमियोलाजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. विवेकलाल कर्ण

ज्वरो मात्र नभएर रुघाखोकी, श्वासप्रश्वासमा समस्या देखिएका यात्रुलाई भने निगरानीमा राखिने छ।

बिरामीहरुका लागि शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, पाटन अस्पताल, वीर अस्पताल र केही निजी अस्पतालमा आइलाेशन उपचारको व्यवस्था मिलाइएको श्रेष्ठले बताए।

मन्त्रालयले सरकारी अस्पताल सँगसँगै केही निजी अस्पताललाई समेत तयारी अवस्थामा रहन निर्देशन दिएको जनाएको छ।

तर विमानस्थलमा जडान गरिएको थर्मल स्क्यानरले मात्रै कुनै पनि यात्रुको तापक्रम मापन गर्न नसकिने डा. मरासिनीले बताए।

‘कुनै यात्रु टाउको निहुँराएर हिडिरहेका हुन्छ, कोही क्याप लगाएका हुन्छन्। त्यस्ता व्यक्तिहरुकाे स्क्यानरले ज्वरो मापन गर्न सक्दैन। स्क्यानरले निधारमा पोइट गर्नुपर्ने हुन्छ। सबैमा यो लागु नहुन सक्छ। क्याप लगाएको व्यक्तिलाई क्याप खोलेर हिड्नुस् त भन्न सकिँदैन’, उनले भने, ‘त्यसैले चीनबाट आएका प्रत्येक व्यक्तिको व्यक्तिगत विवरण समेत राख्न जरुरी छ।’

उनका अनुसार यो अवस्थामा स्क्यानर मात्र चेकजाँचका लागि उयुक्त साधन होइन।

उनले भने,‘विमानस्थलमा सुधार गर्नुपर्ने पक्ष धेरै छन्। जापानको विमानस्थलमा निरोगी व्यक्तिले भित्र छिर्नका लागि पहेँलो कार्ड अनिवार्य देखाउनु पर्ने नियम छ। तर जुन कुरा नेपालमा सम्भवै छैन। विमानबाट ओर्लेका कुनै व्यक्तिलाई चक्कर लागेमा आराम गर्ने ठाउँ समेत छैन।’

डा. मरासिनीका अनुसार संक्रमित व्यक्ति चढेको विमानलाई सफा गरेर मात्र यात्रुहरु राख्नु पर्ने हुन्छ, तर नेपालमा यो अभ्यास खासै देखिँदैन। उनले थपे,‘सीमा नाकामा समेत हेल्थ डेस्क संचालन गर्न आवश्यक हुन्छ। नाकामा एउटा मात्र नभएर अन्य संक्रमण भएका व्यक्तिसमेत फेला पर्ने सम्भावना धेरै हुन्छ।’

यद्यपि विमानस्थलमा हेल्थ डेस्क खडा गरेर मात्रै नहुने भन्दै ८ वटा सीमा नाकामा समेत हेल्थ डेस्क सुरु गर्ने डा. कर्णले बताए।

डा. कर्णले भने,‘नाकाबाट समेत रोग भित्रिने भएका कारण ८ वटा सीमा नाकामा हेल्थ डेस्क सुरु गर्न प्रदेशलाई निर्देशन दिइसकेका छौँ।’

यसैबीच कोरोना भाइरसले चीनमा महामारीको रुप लिन थालेपछि रसुवागढी नाकाबाट चिनियाँलाई नेपाल प्रवेशमा रोक लगाइएको छ।

बुधबारदेखि १५ दिनसम्म रसुवागढी नाकाबाट चिनियाँलाई नेपाल प्रवेशमा रोक लगाइएको गृहमन्त्रालयले जनाएको छ। गृहमन्त्रालयका अनुसार नेपालबाट चीनतर्फ जान पनि रोक लगाइएको छ।

गृहमन्त्रालयका प्रवक्ता केदारनाथ शर्माले देश सञ्चारसँग भने,’चीनकाे तिब्बतमा ल्हाेसार चलिरहेकाे, बाटाे पनि बिग्रेकाे र चीनमा काेराेना भाइरसकाे संक्रमण पनि बढिरहेकाे हुँदा रसुवागढी नाका बन्द गरिएकाे हाे। १५ दिनपछि नाका सुचारु हुनेछ।’

माघ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्

सम्बन्धित वर्गका समाचारहरू