कलिला ‘बटुक’

जाडो छल्न स्वर्गद्वारीका बटुक दाङ झरे

दिउँसोको १२ बजे।हातमा थाल कटौरा बोकेका कलिला बटुकहरु भित्र, बाहिर गरिरहेका छन्।उनीहरुको यो समय खाना खाने समय हो।विहान ४ बजेबाट नित्य कर्ममा खटिने उनीहरुको खानाको समय विश्रामको समय जस्तै हो।एउटा ठूलो कोठा। समूहमा बसेका बटुकहरु आवाज दिएर ‘श्‍लोक’ उच्चारण गरिरहेका छन्।

बटुकहरुले उच्चारण गरेको श्‍लोक ठीक छ की छैन् भनेर जाँच्न गुरुहरु अघिपछि गर्दै नजिक पुग्ने गर्छन्। हरेक दिन यही हलमा बटुकहरुको औपचारीक पढाई हुन्छ। यो हल बटुकहरुको कक्षा कोठा हो। आश्रम उनीहरुको विद्यालय।

जाडो बढ्दै जाँदा बेसी झर्ने र गर्मी बढ्दै जाँदा पहाड चढ्ने परम्परा अहिले पनि छ। स्वर्गद्धारी आश्रममा संस्कृत पढ्न आएका बटुकहरु हरेक बर्ष झैं यस बर्ष पनि देउखुरी झरेका छन्।

बनगाउँमा रहेको आश्रममा उनीहरुको पढाइ भइरहेको छ। जहाँ ८६ जना बटुकले संस्कृत पढिरहेका छन्। यहाँ आएका बटुकहरुको आ-आफ्नै लक्ष्य छन्। समूहमा पढ्छन्, समूहमा खाना खाने र समूहमा काम गर्ने उनीहरुको अभ्यास छ।

निधारमा चन्दनको टिका, काँधमा जनै। शरिरमा एक सरो कपडा। संस्कृत पढ्न गुरुकुलको अनुशासन।विहान चार बजे उठेर नित्य कर्ममा जोडिने १४ बर्षीय जितेन्द्र न्यौपानेको भविष्यमा प्रखर भागवत वाचक बन्‍ने अठोट छ।

कविन न्यौपान जाजरकोटबाट संस्कृत पढ्नकै लागि प्यूठानको स्वर्गद्धारी आए। अहिले जाँडो धेरै भएपछि देउखुरीस्थित बनगाउँ आश्रममा संस्कृत पढ्दै आएका छन्।‘विहान चार बजेनै उठ्नुपर्छ। स्नान पछि जप, ध्यान पछि वेदको अध्ययन गर्नुपर्छ’उनले भने–‘विहान साढे ८ बजे बाट हाम्रो स्कुल सुरु हुन्छ। दैनिक ८ कक्षा चल्छ।’

संस्कृत मात्रै होइन, अंग्रेजी, गणित, विज्ञान, सामाजिक सबै प्रकारका विषयको पढाइ हुने गर्दछ। उनको उमेर १० बर्ष भयो। उनले संस्कृत पढ्न थालेको एक बर्ष भएको छ।

उनको लक्ष्य भविस्यमा ‘गुरु’ बन्ने छ।स्वर्गद्धारी आश्रमले वाल तपस्वी वेद विद्यालय गुरुकुलम सञ्चालन गरेपछी पछिल्लो समय संस्कृत पढ्न रुचाउने विद्यार्थीको संख्या बढ्न थालेको छ।

कुनै समय संस्कृत पढ्न विद्यार्थी खोज्नु पर्ने अवस्था थियो। तर, अहिले भने विद्यार्थीको परिक्षा लिएर मात्रै कक्षामा प्रवेश गराउनुपर्ने अवस्था आएको आश्रमका व्यवस्थापक हरी अधिकारीले बताए।

अहिले ८६ जना विद्यार्थीले अध्ययन गरिरहेका छन्। ९ वर्षको उमेर देखिका माथिका बटुकहरु यहाँ पढ्ने गरेका छन्। ‘विद्यालयमा संस्कृत मात्रै नभएर अंग्रेजी, गणित, विज्ञानको पढाई थालेपछि विद्यार्थीको संख्या दिनप्रतिदिन थपिदै गएको छ’ अधिकारीले भने–‘यहाँ पढ्न शुल्क लाग्दैन्। आफ्ना सन्ततीलाई सतमार्गमा लगाउन चाहने अभिभावकहरुले यहाँ पढ्न पठाउनुहुन्छ।’

वटुकहरुलाई पढाउन ७ जना शिक्षक हुनुहुन्छ। कक्षा चारदेखि दश सम्मको पढाई हुने गरेको छ।बाँकी पढाई संस्कृत विश्व विद्यालयमा हुने गरेको छ।

वि.सं. २०५७-०५८ तिर विद्यार्थी पाउनै मुस्किल थियो। तत्कालीन समय परिस्थितिले गर्दा संस्कृत पढ्ने मानिसहरुको संख्या घट्दो थियो। तर, अहिले संस्कृत शिक्षाप्रति आकर्षण बढ्दै गएको छ।

माघ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्