समाचार विश्लेषण

मनको बाघसँग तर्सिएका ओलीको सुरुवातमै स्पष्टीकरण

काठमाडौँ- नेकपा केन्द्रीय समितिको बैठकका लागि कार्यसूची अनुमोदन हुनुपूर्व नै अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले बैठकलाई सम्वोधन गरेर आफू केन्द्रीय कमिटीको निर्णय र निर्देशन भन्दा माथि रहेको सन्देश दिएका छन्।

बुधबार सुरु भएको केन्द्रीय समिति बैठकमा १ सय २५ मिनेट लामो सम्वोधन भाषण दिए लगत्तै कार्यसूची अनुमोदन हुनु भन्दा पहिले बैठकस्थलबाट ओली निस्किएपछि त्यसले अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको व्यग्यपूर्ण प्रतिक्रिया आकर्षित मात्रै गरेन, दर्जनौँ सदस्यहरु रुष्ट  बने ।

ओली निस्किएपछि प्रचण्डले ओलीलाई नै लक्षित गर्दै भने, ‘हाम्रो विधि उल्लंघन भयो जस्तो लाग्यो। तर त्यो हाम्रो बाध्यता हो। उहाँ (ओली)को कामले गर्दा पहिल्यै बोलेर जानु भयो। वास्तवमा कार्यसूची पहिले पारित गरेर उहाँले बोल्नु पर्ने हो।’

दाहालले त्यसपछि सदस्यहरुलाई थुमथुमाउँदै कार्यसूचीमा थप्नु पर्ने केही छन् भने तपाईहरुले पनि थप्न पाउनुहुन्छ भन्दै एकएक मिनेटको समय दिएका थिए र २१ जनाले आफ्ना सुझावहरु प्रस्तुत गरेका थिए।

बैठकमा सामेल एक केन्द्रीय सदस्यले ओलीले आफ्ना कुरा मात्रै भन्न चाहेको र अरु नेताहरुको कुरा सुन्न नचाहेको सन्देश दिएको टिप्पणी गर्दै ओलीको त्यस कार्यशैलीप्रति असन्तुष्टि जनाए।

उनले भने, ‘नेतृत्वले पहिले तल्लो तहको कुरा सुन्नुपर्छ अनि मात्रै जवाफ दिनु राम्रो हो। तर उहाँ आफ्ना कुरा मात्रै सुनाएर विदा हुनु भयो।’

वास्तवमा ओलीले सदस्यहरुबाट आउने संभावित प्रश्नको जवाफ पहिल्यै दिएर गएका थिए।

बैठकमा ओली र दाहालका तर्फबाट राजनीतिक प्रतिवेदन, महासचिव विष्णु पौडेलबाट सांगठनिक तथा राजनीतिक प्रतिवेदन प्रस्तुत भइसकेपछि विभाजन गरिने १६ समूहका टोली नेताले आफ्नो धारणा प्रस्तुत गरिसकेपछि मात्रै ओलीले त्यसको जवाफ दिने अपेक्षा गरिएको थियो।

तर सम्भवत यो बैठकमा उपस्थित नहुने गरी ओली सरकार तथा पार्टीको नेतृत्व र कमीकमजोरी, भ्रष्टाचार र एमसीसी लगायत विवादास्पद विषयहरुमा प्रारम्भमै स्पष्टीकरण दिएर विदा भएका छन्।

आईपीएसप्रति आक्रमक टिप्पणी, एमसीसीमा मौन

विवादास्पद एमसीसीबारे त्यसका प्रावधानमा प्रवेश नगरी त्यो विकासका लागि भएको सम्झौता भएको भन्दै त्यसको विरोध गर्नु विकास वा आधुनिकताको विरोध गर्नु भएको सन्देश उनले दिए।

ओलीले एमसीसीका विरोधी मानिएका पूर्व माओवादीका तर्फबाट परराष्ट्रमन्त्री हुँदा एमसीसीको समर्थन संसदबाट पारित गर्न कुनै व्यवधान नभएको एउटा नोटबाट उद्धृत गर्दै दाबी गरे, जुन अमेरिकी सरकारको प्रेस रिलिजको अंश थियो।

एमसीसीलाई लिएर नेकपामा ओली, दाहाल र माधव नेपाल पक्षले तीन अलगअलग धारणा बनाएका छन् ।

ओली समूह जसरी भएपनि एमसीसीको नेपाल कम्प्याक्ट पारित गर्नु पर्ने पक्षमा छन्। दाहाल पक्ष कम्प्याक्ट सम्बन्धी सम्झौता संशोधन गरेर मात्रै संसदबाट पारित गर्नु पर्नेमा छ । तर नेपाल समूह यो कुनै पनि हालतमा लागू नहुने पक्षमा उभिएको छ।

एमसीसीको नेपाल कम्प्याक्ट लागू गर्दा नेपालको विकास के कस्तो गतिमा अघि बढ्छ भन्नेमा फेहरिस्त सुनाएका ओलीले त्यसको प्रावधानबारे भने एक शव्द खर्चिएनन्।

यसो त ओलीले एमसीसीबारे जतिसुकै स्पष्टीकरण दिने प्रयास गरेपनि कम्तीमा अष्टलक्ष्मी शाक्य, भीम रावल, शशी श्रेष्ठ, जयन्ती राई, लीलामणि पोखरेल, राजेन्द्र राई, गुरु बराल, विजय पौडेल, रामकुमार झाँक्री, ठाकुर गैरे, निरज आचार्य, कालीबहादुर मल्ल, जगन्नाथ खतिवडा, पर्शुराम रम्तेल, अञ्जना विशंखे, कमानसिंह लगायत नेताहरुले एमसीसी विवादास्पद भएको भन्दै यसलाई कार्यसूचीमा राखेर छलफल गर्न सुझाएका थिए।

ओली र दाहालद्धारा प्रस्तुत राजनीतिक प्रतिवेदनमा सिद्धान्तत : नेपाल कुनै पनि सैन्य रणनीतिमा संलग्न नरहने बताइएपनि ओली र दाहालले इन्डोप्यासिफिक स्ट्राटेजी (आइपिएस) र एमसीसीको अन्तरसम्बन्धबारे स्पष्ट अडान लिएका छैनन्।

आइपिएसमार्फत अमेरिकाले हिन्दमहासागर क्षेत्रका १७ वटा मुलुकमा आफ्नो प्रभुत्व जमाई चीनलाई घेरा हाल्ने र कमजोर पार्ने सैन्य रणनीतिका रुपमा आइपिएस अगाडि बढाइरहेको भने पनि आइपिएसको हिस्सा एमसीसी नभएको सन्देश ओली र दाहालले दिएका छन्।

एमसीसीको नाम नलिई प्रतिवेदनमा भनिएको छ,‘नेपालको राष्ट्रिय हितलाई सर्वोपरी राखी संयक्त राज्य अमेरिका लगायत संसारका सबै देशसँग पारस्परिक हितका आधारमा आर्थिक सहयोग र विकास कार्यमा साझेदारी गर्न नेपाल तत्पर रहेको छ।’

 

बुधबारदेखि सुरु भएको नेकपाको केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली। तस्बिरहरु : बर्षा शाह/देश सञ्चार

विवादस्पद यती समूहको बचाउ

ओली बरु विवादास्पद यती समूहको बचाउमा उत्रिए। नेपाल ट्रष्टको जग्गा कानुनसम्मत तरिकाले नै यती समूहलाई भाडामा दिएको भन्दै उनले त्यो समूहसँग कुनै मितेरी साइनो नभएको स्पष्ट पार्ने कोशिस गरे निकैबेर।

सत्ता र शक्तिको आडमा यती समूहले ट्रष्टको सम्पत्ति कौडीको भाउमा पाइरहेका बेला ओलीले स्वदेशमा व्यापारव्यवसाय गरेर खान चाहन्छु भन्नेलाई सरकारले प्रेरित गर्नु पर्ने सुनाए। तर ओलीको जबाफ उनकै दलका सदस्यहरु सन्तुष्ट भएनन्।

एक केन्द्रीय सदस्यले भने, ‘यो विषय पनि बैठकको कार्यसूची बनाउनु पर्छ। ट्रष्टको सम्पत्ती हिनामिना गर्न सरकारकै मन्त्रीहरुले भूमिका खेलिरहेको कुरा छिपाउन सहज छैन।’

सम्झौता अवधि पाँच वर्ष बाँकी छदै गोकर्ण रिसोर्ट यती होल्डिङ्सलाई थप २५ वर्ष ट्रष्टको जग्गा भाडामा दिनु कानुन विपरित छ ।

तर ओलीले ठूलो लगानी गरेर व्यवसाय गर्नेहरुलाई सुरक्षाको महसुस दिलाउनु सरकारको कर्तव्य भएकाले सम्झौता अवधि पाँच वर्ष बाँकी छँदै जग्गाा भाडाको सम्झौता गरेको स्पष्टीकरण दिए।

ओलीले पाथीभराको जग्गा पनि सित्तैमा नदिएको र त्यसमा अनावश्यक टिप्पणी गर्नुको कुनै तुक नभएको बताएर आफ्नो गल्ती ढाकछोप गर्ने प्रयासमा उत्रिए।

सबै कमिटीमा एक तिहाइ महिला राख

नेकपा जन्मिएदेखिनै संविधान अनुसार महिला सहभागिता र नेतृत्वबारे गम्भीर छैन। त्यसलाई लिएर बैठकको सुरुकै दिन नेतृहरु गर्जिएका छन्।

खासगरी अष्टलक्ष्मी शाक्य, शशी श्रेष्ठ, जयन्ती राई र रामकुमारी झाँक्रीले पार्टीभित्रका हरेक कमिटीमा ३३ प्रतिशत महिला सहभागिता अनिवार्य गर्न आग्रह गरेका छन् ।

र त्यो बैठकको कार्यसूचीमा अटाउनु पर्ने माग समेत उनीहरुको छ। नेकपाको ९ सदस्यीय केन्द्रीय सचिवालयमा एक जना पनि महिला छैनन्।

४५ सदस्यीय स्थायी कमिटीमा २ जना अर्थात करिव ५ प्रतिशत मात्रै महिला छन् । ४४३ सदस्यीय केन्द्रीय कमिटीमा ७० जना अर्थात करिव १६ प्रतिशत मात्रै महिला छन्।

अध्यक्ष बिना बसेको बैठक

बैठकमा उठेका जवाफहरु दिनका लागि औपचारिकरुपमा कसैले अध्यक्षता गर्नु पर्ने हुन्छ।

तर बुधबारको नेकपा केन्द्रीय बैठक अनौठो देखियो। कसैले पनि औपचारिक अध्यक्षता नगरी यो बैठक अघि बढेको छ।

बैठकको सुरुवातमा कार्यक्रम समेत सञ्चालनको शैलीमा महासचिव विष्णु पौडेलले आफ्नो धारणा राख्दै अध्यक्ष ओलीलाई बोलाएका थिए। ओलीले उद्घाटन मन्तव्य दिएर बाहिरिएपछि थप कार्यसूचीबारे सुझाव लिइएको लिइयो र अध्यक्ष दाहालले राजनीतिक प्रतिवेदन प्रस्तुत गरे।

एक केन्द्रीय सदस्यले भने, ‘कुनै पनि बैठकमा कोही न कोही अध्यक्षताको जिम्मेवारीमा रहन्छ।’

तर आजको बैठकमा ओली या दाहाल दुवैलाई औपचारिक रुपमा अध्यक्ष घोषणा गरिएको छैन । गत मंसिर ४ गते ओलीले पार्टी सञ्चालनको कार्यकारी अधिकार दाहाललाई सुम्पिएका थिए।

स्वास्थ्यका कारण ओली अनुपस्थित भएपछि पछिल्लो स्थायी कमिटी बैठकको एकल अध्यक्षतामा दाहाल थिए। तर यो बैठकमा अध्यक्षको रुपमा ओली या दाहाल भनेर नाम किटान गरेर नबोलाइएको हो।

दुई अध्यक्षको फोटोले निम्त्यायो विवाद

नेकपाका बैठकमा कुनै न कुनै विषयमा विवाद उत्पन्न हुने गरेको छ। आजको बैठकमा कार्यक्रमको व्यानरमा मार्क्स, एङगेल्सको फोटो हटाएर दाँया ओली र बायाँ दाहालको ठूला फोटाहरु राखिएका थिए ।

माथि मदन भण्डारी र पुष्पलाल श्रेष्ठको फोटो राखेपनि तल ओली र दाहालका फोटा थिए। त्यसलाई लिएर सदस्यहरुले आपत्ति जनाएका छन्।

केन्द्रीय सदस्य जगन्नाथ खतिवडाले सबै बराबर भएको सन्देश दिनुको सट्टा ओली र दाहालले सामान्ती भएको देखाउन खोजेको टिप्पणी गरेका थिए।

उनले दाहाललाई लक्षित गर्दै प्रश्न गरेका थिए, ‘फोटो राखेर तपाईहरुलाई बडा रमाइलो लागिरहेको होला होइन?’

अर्का केन्द्रीय सदस्य राजेन्द्र राईले ओली र दाहालमा राजातन्त्रका शासको शैली देखा परेको भन्दै ती फोटाहरु हटाउन माग गरेका थिए।

त्यसोत नेकपाले कम्युनिष्ट नेता मनमोहन अधिकारलाई बिर्सिएको देखियो । व्यानरमा उनको फोटो नदेखिदा केही सदस्यहरुले आपत्ति जनाएका छन्।

माघ १५, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्