ब्लग

स्कुलमा सरस्वतीको पूजारी हुँदाका क्षणहरु…

जब जब प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन अर्थात सरस्वती पूजा आउँछ, मेरो मानसपटलमा स्कुलका ती दिनहरु ताजा भएर लहराउँछ।
ऋतुहरूको राजा वसन्तको आगमन हुने भएकाले पनि होला हृदयमा नेपाली गुरुले पढाउनु भएको कवि सिद्धचरण श्रेष्ठको कविता ‘वसन्त’को त्यो श्लोक याद भएर आउँछ।

समस्त माधुर्य लिएर साथमा
छरेर सौन्दर्य विशाल विश्वमा

वसन्त मेरो हितमा निमग्न भो
अहो! छ कस्तो रस-रागयुक्त यो !

कवितामा वसन्त ऋतुको सुन्दरता, प्रकृति प्रेमको चित्रण र प्रकृतिलाई सहयोगीको रुपमा वर्णन गरि झै जीवनमा थप उज्यालो ल्याइदिने गर्द सरस्वती पूजाले। किनकी यही महिना मैले अक्षारम्भ गर्नु र बाल्‍यकालको संझनालाई संगालेर राख्‍नु मेरो लागि अहोभाग्‍य साबित भएको छ।

स्कूलमा सरस्वतीको पूजारी हुँदाका क्षणहरु..


म करिब ५ वर्षको हुँदो हुँ।माघ महिनाको त्यो जाडो। आमाले बिहानै उठाउनुभयो र भन्‍नुभयो, ‘बेटा उठ ! आइके सरस्वती के पूजा चियै। लाहाइले परतौ।दैयासँङे पूजा करे स्कु ल जाइहये।(छोरा उठ,आज सरस्वती पूजा हो, नुहाउनु पर्छ। दिदीसँग पूजा गर्न स्कुल जानू।)

म हत्त न पत्त उठे र सरासर छिकेकी रामविलासको कल (ट्युबेल)मा नुहाउन गएँ।नुहाएर आउँदा दिदी र आमा पूजाको सामग्री तयार पार्दै हुनुहुन्थ्यो। जाडो महिना भएकाले आकाश धुम्म थियो।

चिसो शिरेटो चलिरहेको थियो।आमाले दिदीलाई भन्दै हुनुहुन्थ्यो, ‘झमझम लरु (लड्डु) बना दैया, पूजा करैले जाइले देर हेतौ।बौवा लेहाके चैल येलै। (छिटो छिटो लड्डु बनाऊ छोरी।पूजा गर्न जान ढिलो हुन्छ। भाई नुहाएर आइसक्यो।)

त्यनसपछि दिदीले पूजा थाली ‘मना'(कास र थाकलबाट बनाइएको एक प्रकारको थाली) मा चिनीको प्रसाद, पान, सुपारी, अक्षता, जल र सिक्काकको पैसा राख्नुभयो र भन्‍नुभयो, ‘आब चल बौवा पूजा करैले स्कुल।(अब हिँड जाऔ पूजा गर्न स्कुलतिर।)

कक्षा ८ मा को पूजारी हुँदा..


म एउटा स्कुलबाट अर्को स्कुलमा स्थानान्तरण हुँदा पनि सरस्वती पूजा आउँदा पूजारी हुनेक्रम भने रोकिएन। एवम् रीतले कक्षा ८मा सरस्वतीको पूजामा पुन: पूजारी हुने अवसर मलाई प्राप्त भयो। स्कुल व्‍यवस्थापनले पनि पूजारीको जिम्‍मा कक्षाको पहिलो विद्यार्थी हुने रीत लगाएको थियो। यसपलाली मेरै पालो थियो।

किनकी म कक्षा ८मा पहिलो विद्यार्थीको रुपमा थिएँ म। कक्षामा नेपाली पढाउने गुरु मधुसुधन काफ्ले पस्नु भयो नेपाली पढाउन। उहाँले आफ्नो कक्षामा पढाउने उही पाठ १७ मा कविता रहेछ, वसन्त।

करीब ४५ मिनेटको कक्षा लिइसकेपछि मलाई गुरुले तिमी मलाई यो घण्टीपछि अफिसमा भेट्न आउनू भनेर जानुभयो। मेरो मनमा केही शंका र डर लागेर आयो। मनमनै सोचे, ‘किन मलाई एक्कासी सरले बोलाउनु भयो। मैले नेपालीको त सबै गृहकार्य गरेर ल्याएको छु। फेरि आज कविता पढाएर जानुभयो। कतै कसैले गल्ती गरेर मलाई त केही भन्न लाग्नुभएन ?’

कक्षा सकेलगत्तै मैले विद्यालयको शिक्षकहरु बस्ने (अफिस)तिर लम्किए। बीचमै पालेदाईले मतिर हेर्दै भन्नुभयो,’भाइ तिमी यसपाली पनि पूजारी रे। गुरुहरु यही छलफल गर्दै हुनुहुन्छ। तिमी चाँडो जाऊ। कुरिरहनु भएको छ नेपाली सरले।’  पालेदाईको यो कुरा सुनेर मनमा उत्साह जाग्यो मेरो।  सरस्वतीको मूर्ति र मन्दिरमा रङरोगन गरिँदै थियो।  म एक नजर सरस्वतीको मूर्तितिर लगाएर मन्दिर फन्को मारेर अफिस पुगे।

कक्षा ८मा सरस्वतीको पूजारी हुँदाका बखत म। तस्बिर: अटो डायरीबाट

नेपाली गुरुले इसाराले आउने संकेत दिनुभयो। प्राधानाध्यापक लगायत सबै गुरुहरुले एकै स्वरमा भन्नुभयो,’ लौ हाम्रो पुजारी बाजे आउनुभयो। लौ  के छ त विचार। बन्‍ने हैन त पूजारी यसपालि पनि ?’ मनमा उत्साह भएपनि शान्त भावमा भने,’ हुन्छ सर। हजुरहरुले खटाएको जिम्‍मेवारी पूरा गर्छु।’

भोलिपल्ट श्री थानपोखरी मावि (तत्कालीन)मा ध्वजापतका टांगियो। मन्दिर चिटिक्क सिंगारियो रातो र कमेरो माटोबाट। कक्षाका सबै साथीहरुले आफूले पाएको जिम्‍मेवारी निभाउन थाले। कोहीले बुनियाँ बनाउने। कोहीले बेच्न कुर्सीहरु मिलाउने, कोहीले पूजा गर्न आउने विद्यार्थीहरुका लागि पालैपालो गरी लाइनमा आउन मिल्ने बार लगाउने र कोही स्वागत गेटका लागि गेट बनाउने कार्यमा सघाए।

श्री थान पोखरी माविमा स्कुल पढ्दाका साथीहरुसँग म (दायाँबाट पहिलो)

साँझसम्‍म स्कुलमा झिलिमिली ध्वजा पतका लहरियो। गेट सजियो। मन्दिरमा सरस्वतीको मूर्ति सिंगारिएर राखियो। सरस्वती पूजाको दिन बिहानै माइमा सरस्वती बन्दना गुञ्जियो।

‘त्वमेव माता च पिता त्वमेव, त्वमेव बन्धुश्च सखा त्वमेव।

त्वमेव विद्या च द्रविणम त्वमेव, त्वमेव सर्वमम देव देवः।।’

सरस्वती माया दृष्टा बीणा पुस्तक धारिनी

हंस बाहन संयुक्ता विद्या दानम करोतू मे ।।

मन्त्र उच्चारण गरिरहँदा म भने गुरुको छेउमा बसेर हात जोडेर  विधि पूर्वक पूजामा सरिक भएँ। गुरुले मन्त्र उच्चारण गर्दै भन्दै जानुभयो, ‘ पत्रम्, पुष्म, फलम समर्पयामी। ओम भूर्भुवः स्वः सरस्वती देव्यै इहागच्छ इह तिष्ठ।’ एवम् रीतले पूजा सकियो। त्यसपछि सुरु भयो विद्यालयमा पूजा गर्न आएका विद्यार्थीहरुको पालो।

उता, माइकमा गीत बजिरहेको थियो…

हे जगजनी शारदे माता

विन्ती करो स्वीकार 

विद्या, बुद्धि देदो सुनले मेरे पुकार

तुमही पर भार हे मैया

करो चमत्कार हे मैया

विद्यार्थीहरु लाइन बाइ लाइन लागेर सरस्वतीको पूजा ११ बजेसम्‍म सकाए। तर सरस्वतीको दर्शन र पूजन भने  दिनभरी नै चलिरह्यो। पूजारी भएकोले मलाई मन्दिरमै बस्नु पर्‍यो दिनभर। सरस्वती पूजाको दिन स्कुल बाहिरको फिल्डमा प्रत्येक वर्ष मेला लाग्थ्यो। दर्शनार्थीहरु मन्दिरको दर्शन गरी प्रसाद लिएर मेला भर्न जान्थे। मेलामा प्राय: बालबालिकाको लागि नयाँ नयाँ पुस्तक हुन्थे भने खेलौनाका सामग्रीहरु हुन्थे।

यति मात्रै नभएर कसैले त घरबाटै मौलिक परिकारहरु पकाएर बेच्न समेत आउँथे सरस्वती पूजाको मेलामा। त्यसमध्ये बुनियाँको लड्डु, भुजाको लड्डू, जेरीलगायत मिष्ठान्नहरु बढी राखिन्थ्यो ।

फूलपाति सेलाउन नदी, बुनियाँ प्रसाद, काँधमा वर्षभरी दियो बाल्ने जिम्‍मेवारी


सरस्वती पूजाको भोलिपल्ट सबै विद्यार्थी,स्कुल व्‍यवस्थापन, शिक्षकहरु स्कुलमा भेला भइसकेपछि पुन: पूजा समापन विधिपूर्वक गरियो। त्यसपछि स्कुलको फल्डमा सबै विद्यार्थी र शिक्षक लामबद्ध लाइनमा लागेर सरस्वतीलाई चढाइएको फूलपाती सेलाउन तयार भयौ। सबैजनाले फुलपाती बोकेर त्रियुगा नदीको किनार तर्फ लाग्‍यौ जयजयकार गर्दै।

गुरुले बाटोभरी  मलाई सरस्वती माताकी जयको नारा लगाउन पहिले नै भन्नु भएको थियो। मैले बाटोभरी गुरुले भने बमोजिमको नारा लगाएँ, सरस्वती माताकी .. हंस वाहन की.. श्री थान पोखरी मावि की..लगायत..’

नदी किनारमा पुगिसकेपछि विधिपूर्वक पुन: पूजा गरी जल सेचन गराइ सरस्वतीको फूलपाति सेलायौ। सबैजना लाइनमा बसेर सातु,बुनियाँ प्रसाद खायौ र स्कुल तर्फ लाग्यौ।  त्यसअघि नै सबै विद्यार्थीलाई आफ्नो भागको बुनियाँ लिएर मात्र घर जान उर्दी जारी गरिएको थियो। हामी सबैजना फूलपाति सेलाएर स्कुल पुग्‍यौ। स्कुलमा पुग्दा स्कुल व्‍यवस्थापनले बुनियाँको प्रसाद बाड्न सबैलाई लाइनमा बस्न आग्रह गर्‍यो।

विद्यार्थीहरु हामी आ-आफ्नो कक्षा अनुसार लाइनमा बस्यौ र पालैपालो बुनियाँको प्रसाद लियौ। प्रसाद लिइसकेपछि सबैजना घरतिर लागे। तर मलाई पुन: अफिसमा बोलावट भयो नेपाली गुरुबाट।

म बुनियाँ लिएर अफिसमा पुग्दा गुरुले भन्नुभयो, ‘ सहदेव अब तिमी यो वर्षभरीको लागि मन्दिरको पूजारी भयौ। तिमीले प्रत्येक विहान र बेलुका सरस्वतीको मन्दिरमा दीप बाल्नु पर्ने हुन्छ। यो तिम्रो काँधमा जिम्‍मेवारी आयो है। पढाइ र दियोसँगै बाल्नु। जीवनमा कहिल्‍यै पनि हरेस खानु पर्दैन। जीवन अनुशासन र मेहनतको फल हो। यसलाई संघर्षले सफलताको शिखरमा पुर्‍याउँछ एक न एक दिन। ‘ मैले हुन्छको मुन्टो हल्लाए र गुलियो बुनियाँ  जस्तै गुलियो मन, उत्साह र जोश बोकेर घर फर्किएँ।

माघ १६, २०७६ मा प्रकाशित