हात्तीपाइले रोगविरुद्धको औषधी नखानेलाई पालिकाबाट सुविधा रोकिने

नेपालगञ्ज – बाँकेमा हात्तीपाइले रोगविरुद्धको औषधी नखाने व्यक्तिलाई स्थानीय तहबाट कुनै पनि सुविधा नदिने रणनीति बनाइएको छ ।
जिल्ला समन्वय समिति, बाँकेका संयोजक अजय श्रीवास्तवले हात्तीपाइले रोगविरुद्धको औषधी नखाने व्यक्तिलाई पालिकाबाट कुनै पनि सेवा सुविधा नदिने प्रस्तव गर्नु भएको हो ।

यो प्रस्तावलाई आगामी बैठकबाट पारित नै गर्ने संयोजक श्रीवास्तवले बताए । जिल्ला समन्वय समितिले हात्तीपाइलेका रोगीलाई एक प्रतिशत भन्दा तल झार्ने पालिकालाई २५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ ।

‘गतवर्ष पनि मैले यो घोषणा गरेको थिए । कुनै पनि पालिकाले एक प्रतिशत भन्दा तल झार्न सकेनन्, यो वर्ष पनि त्यसलाई निरन्तरता दिएको छु’, संयोजक श्रीवास्तवले भने, ‘रोगीको संख्या एक प्रतिशत भन्दा तल झार्नुस्, २५ लाख रुपैयाँ लैजानुस् ।’

बाँकेमा दशौं चरणमा अभियान आइपुग्दा औषधी नै नखाइदिएकाले आशातित सफलता मिल्न सकेको छैन । जति सम्झाएपनि औषधी नखाइदिएपछि दवाव नै दिएर औषधी खुवाउने रणनीति अघि सारिएको छ ।

हात्तीपाइले रोगीलेसमेत औषधी नखाइदिएको स्वास्थ्यकर्मीको भनाई रहदै आएको छ । ‘औषधी खाने व्यक्तिले खाइरहन्छन्, नखानेले खाइदिन्नन्’ जिल्ला स्वास्थ्य कार्यालय, बाँकेका हात्तीपाइले रोगविरुद्धको अभियानका फोकलपर्सन दुर्गा गौतमले भनिन्, खान नमान्ने व्यक्तिलाई बुझाउन चुनौती बनेको छ ।’

बाँकेमा हात्तीपाइले रोगविरुद्धको अभियानका क्रममा औषधी बोकेर महिला स्वयंसेविका घरमा पुग्दा ढोका बन्द गरिदिनेको संख्या उल्लेख्य रहेको छ । सन् २०११ मा अभियान सञ्चालन गर्दा भएका केही असावधानीका कारण दशौं चरणमा आइपुग्दासम्म जिल्लामा नराम्रो छाप परिरहेको छ । ‘हात्तीपाइले रोगविरुद्धको औषधी खादा मान्छे मर्छन्’ भन्ने भ्रमले गर्दा रोगीलेसमेत औषधी खाइदिएका छैनन् । जबकी यो औषधीले कुनै हानी गर्दैन ।

बाँकेमा अभियान चल्नु अघि २०.८ प्रतिशत रोगी थिए । दशौं चरणको संघारमा आइपुग्दा रोगीको संख्या १० प्रतिशत रहेको छ । सरकारले एक अभियानमा पौने दुई करोड रुपैया खर्च गर्दै आएको छ । सरकारले ठूलो खर्च गरेर अभियान चलाइरहदा रोगीसमेत औषधी नखाइदिंदा बाँके असफल जिल्लाको सूचीमा पर्दै आएको छ ।

जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख धीरजंग शाहले निशुल्क चल्ने अभियानलाई परीक्षणको रुपमा लिइदा पनि औषधी सेवन गर्नेको संख्या बढ्न नसकेको बताए ।

आगामी २५, २६ र २७ गते औषधी खुवाइदैछ । जिल्लामा ६ लाख १ हजार ८ सय ७६ जनालाई औषधी खुवाउने जनस्वास्थ्य अधिकृत अंगत शाहीले जानकारी दिए । त्यसका लागि ४ सय १६ जना स्वास्थ्यकर्मी र ७ सय ८९ जना महिला स्वयंसेविकालाई परिचालन गरिदैछ ।

माघ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्