सन्दर्भ: शहीद दिवस

दुर्गानन्द झालाई ‘शहीद’को सम्‍मान पाउन ५२ वर्ष लाग्‍यो

‘हुँदैन् विहान मिरमिरे तारा झरेर नगए
बन्दैन मूलुक दुई चार सपुत मरेर नगए’

वि.सं.२०६५ साल जेठ १५ गते बसेको संविधानसभाको पहिलो बैठकले नेपाललाई गणतन्त्र मुलुकको रुपमा घोषणा गर्‍यो। त्‍यसअघि कसैले पनि देशमा गणतन्त्र पनि आउँछ भन्‍ने देखेका थिएनन्। त्यो बेला दुर्गान्द जेल जीवन बिताइरहेका थिए। जेलमै भेट्न पुगेकी पत्‍नी काशीदेवी झालाई उनले भनेका थिए, ‘नरोऊ, गणतन्त्र अब आउँछ-आउँछ। तिमीहरू गाउँ जाऊ।’

यसअघि वि.सं.२०२० सालमा जनकपुरधाम आएका तत्काली राजा महेन्द्र शाहमाथि बम प्रहार गरेको आरोपमा पक्राउ उनी पक्राउ परेका थिए। उनलाई दिइने मृत्युदण्डको ठिक एक दिन अगाडि त्रिपुरेश्वरस्थित केन्द्रीय कारागारमा उनलाई भेट्न पत्‍नी काशीदेवी र आमा पुगेकी थिइन् २०२० माघ १४ गते।

त्यतिबेला पनि दुर्गानन्द झाले आमालाई साहास गरेका भनेका थिए,‘आमा नरोऊ, एक दिन यस्तो आउँछ, जब तपाईंलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्वका साथ चिन्‍नेछन्। उनले त्यतिबेलै श्रीमतीलाई पनि भने, ‘यो हाम्रो अन्तिम भेट हो।’

दुर्गानन्द झालाई फाँसी दिने समय तय भएपछि प्रहरीले उनको आमा र पत्‍नीलाई भेट गराउनकै लागि गाउँबाट बोलाएर ल्याएका थिए।जेलमा भेट्न गएको बेला उनीहरू रोए पनि दुर्गानन्द झाको अनुहारमा कुनै डर, त्रास थिएन। बिहे भएको दुई वर्ष नपुग्दै दुर्गानन्द झालाई फाँसीको सजाँय थियो।एक नवदुलही जसको श्रीमान्‌लाई मृत्युदण्डको सजाय सुनाइएको थियो। जेलमा पुग्दा पत्‍नी काशीदेवी भावविह्वल थिइन्।

काशीदेवीलाई शहीद दुर्गानन्द झाले आजभन्दा ५७ वर्ष पहिले ‘दो हंसो का जोडा विछड गयो रे, गजब भयो रामा जुलुम भयो रे’ विरहको गीत सुनाउने गर्थे।

धनुषा जिल्लाको नगराइन नगरपालिका जटही गाउँमा वि.सं. १९९९ वैशाख १४ गते देवनारायण झा र आमा सुकुमारीदेवी झाको गर्भबाट जन्मिएका दुर्गानन्द आमा बुवाका एकला सन्तान हुन।

उनले आफ्नो औपचारिक शिक्षा भने कक्षा १० सम्‍म मात्र पूरा गर्न पाए। त्यसपछि दुर्गानन्दको विवाह भयो वि.सं. २०१७ सालमा १४ वर्षिया काशीदेवी झासँग। कलिलै उमेरमा विवाहपछि उनलाई अर्को आपत्त आइलाग्‍यो। दुर्गानन्दले आफ्नो पितालाई गुमाउनु पर्‍यो।

बुबाको निधनपछि उनको रेखदेख सबै आमाले नै बुवाको साहारा दिएर गरिन्। उनी गाउँबाट पर करीब ५ किलोमिटरको दूरीमा भारतीय क्षेत्रको उमगाउस्थित दिनदयाल हाइ स्कुलमा पढ्न जान्थे। उनले त्यहीबाट कक्षा १० सम्‍मको पढाइ गरिरहेका थिए।

त्यही क्रममा नेपालमा लोकतन्त्रका लागि संघर्षको सुरुवात भएको थियो। नव युवक भएकाले दुर्गानन्दमा पनि जोश र जागर भरिएको थियो। उनी पनि उमगाउको विद्यालयमा लोकतन्त्रका लागि हुने आन्दोलनमा सरिक हुन थाले। उनको भेट त्यहाँका आन्दोलनकारी नेताहरुसँग दैनिक हुन थाल्‍यो।

उता, पत्नी गर्भवती थिइन्। उनको पेटमा दुर्गानन्दको नासो हुर्किरहेको थियो। तर दुर्गानन्द भने पत्नीलाई समेत वास्ता नगरी लोकतन्त्र ल्याउने संघर्षमा होमिए आगोसरी।

यता, २०१७ साल पुस १ गते राजा महेन्द्रले चालेको निरंकु कदमविरुद्धमा नेपाली कांग्रेसले देशव्यापी रुपमा आन्दोलनको विगुल फुकिसकेको थियो। राजा महेन्द्रको कुशासनविरुद्ध शहीद दुर्गानन्द झाको मस्तिष्कमा समेत यो निरंकुशता हटाइ छाड्ने चिन्तन चलिरहेको थियो।

त्यतिबेला भारतको जयनगरमा काँग्रेसका नेता सरोज कोइराला निर्वासित जीवन बिताइरहेका थिए।सोही बेला दुर्गानन्दको कोइरालासँग भयो। उनीहरुले त्यतिबेलै राजा महेन्द्रमाथि बम प्रहार गर्ने योजना बनाएका थिए। वि.स. २०१८ माघ १९ गते राजा महेन्द्र जनकपुरधामको भ्रमणमा सवारी थिए।

कडा सुरक्षाका बीच जानकी मन्दिर पुगेका तत्कालिन राजा महेन्द्रमाथि दुर्गानन्दले बम प्रहार गरे तर दुर्भाग्‍य पड्किन सकेन। राजा महेन्द्र चढेको गाडीको सिसामा बम लाग्यो। उनी बम फालेर कडा सुरक्षाका बिच भाग्न पनि सफल भए। भागेर जनकपुरधाममै एक मन्दिरमा बसे। त्यसको भोलिपल्ट फेरि उमगाउँ नै फर्किए।

यता, तत्कालिन महेन्द्र सरकारले बम कण्ड गराएको भन्दै जनकपुरमा व्यक्तिलाई पक्राउ गर्न सुरु गर्‍यो। त्यतिबेला पक्राउ परेकाहरुलाई चरम यातना दिइयो। यो सुनेपछि भारतमा बस्दै आएका शहीद दुर्गानन्द झालाई सह्य भएन।उनी जयनगरबाट रेल चढेर जनकपुरधाम हिडे महेन्द्रको कुशासनविरुद्ध बोल्‍न। तर जनकपुरधाम नपुग्दै दुर्गानन्द झा समातिए तत्कालीन एसपी मानबहादुर राईको नतेृत्वमा गएका टोलीमार्फत।

पक्राउ परेको भोलिपल्ट नै उनलाई हेलिकोप्टरबाट काठमाडौँको केन्द्रीय कारागारमा पठाइयो। गिरफ्तारी भएपछि उनीमाथि राजद्रोहको मुद्दा चलाइयो।
उनी त्यतिबेला नेपाली कांग्रेसबाट राजनीति गर्न शुरुवात गरिसकेका थिए। युवा भएकाले दुर्गानन्द झामा जोश जागर र बोली कडा स्वभावको थियो। उनी नेपालमा राजाको निरंकुशता चाँहिँदैन भनेर कांग्रेसबाट आन्दोलनमा सामेल भए गणतन्त्रका लागि। त्‍यतिमात्रै होइन उसले यही गणतन्त्रका लागि आफ्नो प्राण समेत आहूति दिए। तर त्यतिबेलाको कांग्रेसले दुर्गानन्दको प्राण आहूतिलाई शहीदको दर्जा दिन सकेन। कांग्रेसले दुर्गानन्द झालाई सत्तामा हुँदा पनि साइड लगाइ दियो शहीदको नामाङकनबाट।

मृत्युदण्ड दिन मुलुकी ऐन संशोधन


यता, राजा महेन्द्रको गाडीमा बम प्रहार गरेका सम्बन्धमा तत्कालीन सरकारले अध्ययन गर्नको लागि विशेष अदालतका न्यायाधीश पशुपतिप्रसाद उपाध्यायको अध्यक्षतामा झपटसिंह रावल र गुणनाथ उपाध्याय सदस्य रहने गरी उच्च स्तरीय छानविन आयोग गठन गरेको थियो।

त्यो आयोगले वि.सं.२०१९ भदौ १९ गते आफ्नो प्रतिवेदन बुझायो। त्यो प्रतिवेदनले शहीद दुर्गानन्द, अरविन्द ठाकुर, दलसिंह थापालाई मृत्युदण्ड दिनुपर्ने सुझाव दियो। तर ब्राह्मणलाई मृत्युदण्ड दिनुहुँदैन भन्ने कुरा त्यति बेलाको कानुनमा उल्लेख थियो।

कानुनमा त्यस्तो कुरा उल्लेख भएको थाहा पाएर परिवारका सदस्यहरूले आयोगविरुद्ध सर्वोच्च अदालतमा उजुरी दिएका थिए। सर्वोच्चका न्यायाधीश रत्नबहादुर विष्ट र मीनबहादुर थापाले २०१९ पुस ५ मा उजुरीकर्तालाई झिकाउन आदेश दिए। सोही वर्ष फागुन २० मा न्यायाधीशहरू दुर्गादत्त उपाध्याय र भैरवप्रसाद उपाध्यायले विशेष अदालतकै निर्णय सदर गरे।

२०२० भदौ १ मा मुलुकी ऐन संशोधन गरी सबैलाई समान सजाय दिने व्यवस्था कानुनमा उल्लेख भयो। शहीद दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख भनिएको थियो तर उनले मृत्युदण्डलाई नै शिरोधार्य गरे।

उनलाई फाँसी दिएपछि श्रीमती काशीदेवी र उनको आमालाई जानकारी दिएको थियो। दुर्गानन्दकी आमाले लास मागे पनि लास दिइएन। पछि परिवारले कुशको लास बनाएर भारतको गयामा अन्तिम संस्कार गरेको थियो।माघ १५ गतेका दिन शहीद दुर्गानन्द झालाई फाँसीको सजाय दिइएको थियो।

शहीदको सम्‍मान पाउन ५२ वर्ष


त्‍यसपश्‍चात फेरि २०६२/६३को आन्दोलन तराई-मधेशबाटै चर्को रुपमा उठ्यो। निमुखा जनताहरु सडक संघर्षमा आए। तराई-मधेशका सडकमा आगो बल्‍न थाल्‍यो। दलहरु पनि सडकमा उत्रिए। आन्दोलन गरे र संघर्षकै बलमा गणतन्त्रको घोषणा पनि भयो। तराई मधेशमा आन्दोलन र संघर्षमा मारिएका थुप्रै युवाहरु शहीद हुन पुगे।

अन्ततः तत्कालीन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएपछि २०७२ फागुन १९ गते उनलाई सहिद घोषणा गरियो। गणतन्त्रका लागि हाँसी खुसी फाँसीमा चढेका दुर्गानन्द झाले शहीदको सम्मान पाउनका लागि ५२ वर्ष लामो प्रतिक्षा गर्नु पर्‍यो।

माघ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्