सरकार संविधान संशाेधनमा संवेदनशील भएनः अशाेक राई

मोरङ– समाजवादी पार्टीका नेता अशाेक राईले सरकार संविधान संशोधन लगायतका मुद्दामा संवेदनशील नभएको आराेप लगाएका छन्।

दुई तिहाई बहुमतको आधार खडा गर्ने क्रममा हिजो समाजवादी पार्टीसँग गरिएको सम्झौतालाई समेत नजरअन्दाज गर्दै अघि बढेको सरकार संविधान संशोधनका लागि तयार नभएको उनले बताए।

नेता राईले सत्तारुढ दलका अध्यक्ष पुष्पकमल दाहालको भनाइलाई हल्का र फितलो नेताको बोलीको संज्ञा दिए। सत्ताको नेतृत्व गरिरहेको दलको अध्यक्षले आफ्नो बोलीलाई ठीक ढंगबाट सदुपयोग गर्न नसक्दा मुलुकमा संकट पैदा हुन सक्ने उनको भनाइ छ।

नेकपा अध्यक्ष दाहालले राई र डा. बाबुराम भट्टराईलाई पुरानै पार्टीमा फर्कन दिएको अभिव्यक्तिलाई भने आफ्ना कार्यकर्तालाई मनोबल बढाउन खेलिने रणनीतिका रुपमा लिएको उनी बताउँछन्।

२०६५ सालमै तत्कालिन एमालेको उपाध्यक्षमा निर्वाचित राईले पार्टी छाडेपछि यस्ता अभिव्यक्तिलाई आफूले ठूलो रुपमा नलिएको बताए। उनी भन्छन्,‘अबको दुनियाँको मुख्य ट्रेन्ड भनेको साम्यवाद भन्दा पनि समाजवादतर्फ उन्मुख हुँदैछ। त्यसैले उहाँहरुलाई हामी समाजवादी पार्टीमा स्वागत गर्न चाहान्छौँ।’

पार्टी सरकारबाट बाहिरिए पनि त्यसको असर प्रदेश दुई सरकारमा नदेखिने उनले बताए। विगतमा नेकपा अध्यक्ष दाहालले प्रदेश दुईकाे सरकारप्रति असन्तुष्टी जाहेर गरिरहँदा वरिष्ठ नेता राईले प्रदेश दुई सरकार पाँच वर्ष पूर्णरुपमा अघि बढ्ने दावी गरे।

अन्य प्रदेशसँगको कामकारबाहीलाई दाँजेर तुलनात्मक रुपमा हेर्दा प्रदेश दुई सरकारले विभिन्न प्रतिकूल अवस्थाको सामना गर्दै जनमुखी कार्यको थालनी गरेकाे उनकाे दावी छ।

संघीय सरकारबाटै खडा गरिएका समस्याहरुलाई चिर्दै अघि बढ्न प्रदेश सरकारलाई चुनौतिपूर्ण रहेको उनको भनाइ छ। साथै उनले राजपासँगको कार्यगत एकतामा कुनै कमी नआउने बताए।

राई पार्टी सुदृढीकरणका क्रममा यतिबेला प्रदेश एकमा कार्यकर्ता माझ सक्रिय रहेका छन्।

माघ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्