डबल स्ट्याण्डर मन पर्दैन: सभामुख

काठमाडौँ– सभामुख अग्निप्रसाद सापकोटाले संसदलाई जीवन्त राख्न आफूले सक्दो पहल गर्ने प्रतिवद्धता जनाएका छन्।

बिहीबार आफ्नै कार्यकक्षमा पत्रकारहरुसँग कुराकानी गर्दै सापकोटाले जनप्रतिनिधिको सर्वोच्च थलो सदनलाई गतिशिल बनाउन आफ्नो ध्यान केन्द्रीत रहने उल्लेख गरेका हुन्।

संसदमा जनजीविकाका महत्वपूर्ण विषयमा छलफल हुन नसकेको भन्दै आलोचना भइहरेका बेला सभामुख सापकोटाले सदनलाई जीवन्त बनाउने बताएका हुन्। उनी आइतबार सभामुखमा निर्विरोध निर्वाचित भएका थिए।

उनले भने, ‘सदनलाई गतिशिल/जीवन्त बनाउन मेरो कोशिस हुनेछ। यसले जनता, सांसद, पत्रकार सबैलाई फाइदा गर्छ।’

सापकोटाले आफूलाई दोहोरो चरित्र मन नपर्ने उल्लेख गर्दै सदनका गतिविधिलाई निष्पक्ष ढंगले जनतासम्म पुर्‍याउन पत्रकारहरुलाई आग्रह गरे।

‘मलाई डबल स्ट्याण्डर मन पर्दैन। मेरो अध्यापन र लामो राजनीतिक जीवनमा प्रष्ट विचार बोकेर यहाँसम्म आइपुगेको हुँ।’

माघ १६, २०७६ मा प्रकाशित
प्रतिक्रिया दिनुहोस्